बारका चार पूर्वअध्यक्षले भनेः प्रधानमन्त्रीले माफी माग्नुपर्छ

KP Sharma Oli-33
  • 291
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीका ज्येष्ठ सदस्य कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिलाई नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षले भर्त्सना गरेका छन्। उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन्।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं।’ संसद पुनस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भनेका थिए।

‘वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जीवित इतिहास हुन्। पञ्चायतकालमा बिपी कोइराला, रामराजाप्रसाद सिंह र प्रधानमन्त्रीलाई झापा आन्दोलनको कममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्टसाध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहकार र उन्माद भएको हाम्रो ठहर रहेको छ।’

उनीहरूले उक्त अभिव्यक्तिका विरूद्ध उभिन नेपाल बार एसोसिएसन र देशभरका कानून व्यवसायीहरूलाई अनुरोध गरेका छन्। विज्ञप्तिमा भनिएको छ,‘साथै सविधान सभाद्वारा जारी भएको साविधानको रक्षा गरेर मुलुकलाई संवैधानिक मार्गमा पुन अवतरण गराउने कार्यमा लागि पर्नसमेत आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं।’