अधिवक्ताहरुलाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिसंग बारको आपत्ती

  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोसियसनले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएको छ। बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतवार विज्ञप्ति जारी गर्दै अधिवक्ताहरुलाई अपमानित गर्नेगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको र तत्काल माफी माग्न माग गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रवार आयोजित पार्टीको कार्यक्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्नु भनेका थिए। ओलीले नेपालकै जेष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई समेत व्यंग्य गरेका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति र खेद व्यक्त गर्दै बारले तत्काल सार्वजनिक रुपमा माफी माग्न माग गरेको हो।

यस्ता अभिव्यक्ति नदोहोर्‍याउन र दोहोर्‍याएमा बार एशोसिएसनले सशक्त विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ। प्रमको अभिव्यक्ति संविधान, कानून र पदीय मर्यादा, आचरण अनुकूल नभएको बारको टिप्पणी छ।

‘हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानून व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानीरअवहेलनाजन्य कार्यसमेत हो,’ विज्ञप्तिमा भनिएको छ।

कानून व्यवसायी अदालतकै अभिन्न अधिकृत भएकाले अधिवक्ताको अपमान अदालतकै अपमान भएको बारको ठहर छ।आजै बार एशोसियसनमा पूर्वअध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर प्रमको अभिव्यक्तिमा आपत्ति जनाएको थियो। यसको विरोध गर्न सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरेको छ। साथै प्रमलाई क्षमायाचना गराउन र जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।