आफुलाई टेलिकमको कर्मचारी हो भन्दै टावर लुटपाट गर्ने पक्राउ

लोकपाटी न्यूज

सप्तरी। नेपाल टेलिकमको बीटीएस साइट (टावर) मा लाखौँ रुपैयाँ बराबरको सामान लगेर बेच्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सामान लगेर बेच्ने कार्यमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो।

सिरहाको लहान नगरपालिका १३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, त्यही नगरपालिका ३ ढगराहाका ३५ वर्षीय सूर्यनारायण महतो, ३५ वर्षीय पवन जैसवाल र गोलबजार नगरपालिका ४ का ४१ वर्षीय दीपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गएको पुस २३ गते बिहान सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियामा रहेको नेपाल टेलिकमको जीएसएम टावरमा प्रयोग भएको झण्डै १० लाख मूल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केबल २५ मिटर लगेका थिए । अन्य तीन जना भने उनलाई ती सामान निकाल्नेदेखि खरिद-बिक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो।

घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सीसीटिभी, स्थानीयको बयान र टेलिकमको सहयोगमा गएको मङ्गलबार उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुट्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्रबको मिनी ट्रक, सात वटा ब्याट्री बरामद गरिएको र अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले बताउनुभयो ।

पक्राउ परेकाहरूमाथि डाँकासम्बन्धी मुद्दामा १० दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्