रुपन्देहीमा ओली पक्षकाे ४९९ सदस्यीय आयाेजक समिति

butwal nekapa
  • 16
    Shares
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल, १२ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूह रुपन्देहीले ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ। नेकपा जिल्ला कमिटी रुपन्देहीको आइतबार पुष्पलाल स्मृती भवन बुटवलमा बसेको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो।

बैठकले माघ महिनाभरिमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका कमिटी गठन पुनर्गठन विस्तार गर्ने तथा फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभाहरु गर्ने निर्णय गरेको छ। बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीहरुलाई ध्यान पुर्याउन आग्रह गरेको छ।

बैठकलाई सम्वोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज लिला गिरीले पार्टीमा देखिएको बिग्रह र तटस्थतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गरे। उनले देशलाई बिखण्डनबाट बचाउन, विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ताजा जनमतको लागि निर्वाचनमा जाने निर्णय गर्नु बाध्यात्मक कदम भएको बताए।

अर्का केन्द्रीय सदस्य एवं सहइन्चार्ज दधिराम न्यौपानेले बैठकले गरेका निर्णयहरु दृद्धतापुर्वक कार्यान्वयनका लागि लाग्न निर्देशन दिंदै गाली गलौजमा होइन, आदरभावका साथ सैद्धान्तिक रुपमा जुध्ने कामको नेतृत्व गर्न आह्वान गरे।

पार्टी जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य एकराज विश्वकर्मा, पुर्व केन्द्रीय सल्लाहकार नेत्र पन्थी, जिल्ला कमिटीका प्रेम गुरुङ्ग लगायतले बोलेका थिए।