काठमाडौं। काठमाडौं महानगरपालिकाले दस महिनापछि मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ। कोरोना महामारीका कारण चैत ७ देखि बन्द रहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो।
कामपाको आइतबार बसेको शिक्षा समिति बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो। समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका- २०७७’ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए।
गत मंसिर पहिलो सातादेखि कामपाका केही संस्थागत विद्यालय पूर्णरूपमा सञ्चालनमा आए पनि सामुदायिक विद्यालय भने भने आंशिक रूपमा मात्र सञ्चालन भएका थिए। बैठकले बह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इन्जिनियरिङ र वडा नं ११ को विश्व निकेतन माविलाई इलेक्ट्रिकल इन्जिनियरिङ प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ। यो कक्षा ९ देखि १२ को कार्यक्रम हो।
अनुमति दिइएका विद्यालयलाई कामपाले ५० लाख रुपैयाँ अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ। बैठकले नेपालभाषाका पाठ्यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी वडा नं २६ सामाखुसीमा रहेको हार्मोनी मन्टेस्सोरी इलिमेन्ट्री स्कुललाई वडा नं ६ मा स्थानान्तरणको अनुमति दिने, वडा नं १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेसन फाउन्डेसन प्रालिको नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कुल कायम गर्ने निर्णय पनि गरेको छ। हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय छन्।