भारतसंगको विद्युत व्यापारमा नेपाललाई झड्का

Electricity-authority-nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालले भारतसँगको विद्युत व्यापारको अवसर गुमाएको छ । योसँगै नेपालले गरेको पहिलो तर असफल प्रयासले भारतमा विद्युत व्यापारको ढोका नै बन्द भएको त होइन भन्नेबारे बहस सुरु भएको छ। विद्युत व्यापारका लागि भारत र बंगलादेशमा नेपालले ठाउँ खोजिरहेको बेला भारतसँगको विद्युत व्यापारमा नेपाललाई झट्का लागेको छ। वर्षायाममा खेर जाने बिजुली बेच्न तम्सिए पनि भारतमा विद्युत व्यापारको अवसर तत्कालका लागि नेपालले गुमाएको हो।

भारतीय बजारमा उपलब्ध मूल्यको तुलनामा नेपालले प्रस्ताव गरेको विद्युत बिक्री मूल्य महँगो भएको भन्दै भारतले नेपाललाई प्रतिस्पर्धाबाट बाहिर निकालेको हो। प्रतिस्पर्धाबाट बाहिरिएसँगै भारतसँगको विद्युत व्यापारको अवसर नेपालले गुमाएको छ।

प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन (डिएम लाइन बाट प्रति युनिट भारु ४.१८ ९६.६८८ रुपैयाँ) मा बिजुली किनिरहेको छ। सोही दरमा बेच्न बोल कबोलमा नेपालले प्रस्ताव पेश गरेको थियो। तर, नेपालले भन्दा अन्यले पेश गरेको विद्युत दर सस्तो भएपछि नेपाल प्रतिस्पर्धाबाट बाहिरिन पुग्यो।

दिल्लीस्थित डिआरपिएल नामको विद्युत व्यापार कम्पनीले २५ मेगावाटदेखि ७०० मेगावाटसम्म बिजुली बेच्न इच्छुक कम्पनीबाट प्रस्ताव माग्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। यही बोलपत्रका आधारमा एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडमार्फत २५ मेगावाट बेच्न प्राधिकरणले प्रतिस्पर्धामा भाग लिएको थियो।

भारतमा सोलार बिजुलीको मूल्य प्रतियुनिट भारु झण्डै २ रुपैयाँ नजिक छ। जलविद्युत २४ सै घण्टा उपलब्ध हुने र सोलार ८ घण्टामात्र उपलब्ध हुने भएकाले सोलारभन्दा हाइड्रोको बिजुली मूल्य केही बढी हुनु स्वाभाविक भएको व्यवसायी शैलेन्द्र गुरागाई बताउँछन्।

हाल बिजुली धेरै खपत हुने समयमा नेपालमा विद्युत अपुग हुने गर्छ। त्यसलाई पूर्ति गर्न भारतबाट विद्युत आयात भइरहेको छ। तर, राति १२ बजेदेखि बिहान ४ बजेसम्मको बिजुली खपत कम हुने अर्थात् ५० प्रतिशत विद्युत खेर गइरहेको विज्ञ तथा व्यवसायीहरुको भनाइ छ।

यता नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत व्यापारको बाटो बन्द नभइ आगामी दिनमा ब्यापारमा सहभागी हुने ‘आइडिया’ सिकेको जनाएको छ। प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना भारतले मागेको टेण्डरमा नेपाल नपरेको भए पनि व्यापारको बाटो पूर्ण रुपमा बन्द नभएको बताउँछन्। अब यस्तै खालको प्रतिस्पर्धामा भाग लिने आइडिया सिकेको उनको तर्क छ।

उनले भने, ‘हाम्रो पहिलो प्रयास थियो। उताबाट अझै घटाउन सकिन्छ कि भनेर सोधेको रहेछ, तर हाम्रो बोर्ड बैठक पनि नबसेको कारण तत्काल जवाफ फर्काउन सकिएन। अब अरु डेण्डरमा प्रतिस्पर्धा होला।’

भारतसँग नयाँ मोडालिटीमा व्यापारबारे छलफल हुने प्रवक्ता तिमल्सिनाको भनाइ छ। प्राधिकरण सञ्चालक समितिको बैठक चाँडै नै बसेर भारतसँगको व्यापारमा कसरी अघि बढ्ने भन्ने टुङ्गो लाग्ने प्राधिकरणले जनाएको छ।

नेपाल र भारतबीचको विद्युत व्यापारको लागि इनर्जी बैंकिङको सम्झौता गत वर्ष भएको थियो। यसबाट व्यापार सहजीकरण हुने विश्वास पनि छ।

नेपालले विद्युत व्यापारको ‘ब्रेक थ्रु’ का लागि कम मूल्यमै भएपनि विद्युत बेच्नुपर्ने व्यवसायीको धारणा छ। स्वतन्त्र ऊर्जा उत्पादक संघका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई भारतसँग कम मूल्यमा भए पनि व्यापारको सुरुवात गर्नुपर्नेमा त्यसो नभएको बताउँछन्।

यद्यपि, सरकारको केही सीमाका कारण र किनेको मूल्यभन्दा तल गएर किन बिक्री गरेको भन्ने प्रश्न आउने डरले कम मूल्य प्रस्ताव गर्न नसकेको उनको भनाइ छ।

उनी भन्छन्, ‘सबैभन्दा कम मूल्यको अनुमान सबैलाई थाहा थियो। २५ मेगावाट भनेको थोरै हो, यसबाट ब्रेक थ्रु गर्नुपर्थ्यो।’ नेपालमा सोलारको बिजुलीसँग दाँजेर जलविद्युतको मूल्यलाई महँगो भन्ने गलत बुझाइ फैलिएको भन्दै उनले जलविद्युतको न्युनतम रेट भनेको ३ रुपैयाँ भारु अर्थात् नेपाली ४.८० रुपैयाँ रहेको बताए। भारतमा २० रुपैयाँसम्म विद्युत महसुल रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्