सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको खुद मूल्यमा वृद्धि

  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पुस मसान्त सम्ममा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत दुवै योजनको प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको छ। सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको हो। सिद्धार्थ इक्विटी फण्डको पुस मसान्तसम्म प्रतिइकाई खुद मूल्य १४ दशमलव ७४ पुगेको छ । यो मूल्य मंसिर मसान्तमा रू १३ दशमलव ६८ थियो। त्यस्तै सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को प्रतिइकाई खुद मूल्य मंसिर मसान्तसम्म रू १३ दशमलव ६६ रहेकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू १४ दशमलव ९० पुगेको हो।

दुवै योजनको प्रतिइकाइ खुद मूल्य सँगै नाफामा पनि वृद्धि भएको छ। सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले मंसिर मसान्तसम्ममा ३७ करोड १६ हजार नाफा कमाएकोमा पुस मसान्तसम्ममा वृद्धि भएर ५१ करोड ८५ लाख ६० हजार रुपैयाँ पुगेको हो । त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले पुस मसान्तसम्ममा ६६ करोड ८७ लाख २२ हजार नाफा कमाएको छ । फण्डले मंसिर मसान्तसम्ममा ५० करोड ९५ लाख ४१ हजार नाफा कमाएको थियो। पुस महीनामा दुवै योजनाले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै नाफा र एनएभीमा वृद्धि भएको हो।

सिद्धार्थ इक्विटी फण्डले पुस मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य १ अर्ब ३८ करोड ९२ लाख ४६ हजार रहेकोमा यसको बजार मूल्य १ अर्ब ९० करोड ७५ लाख १६ हजार पुगेको हो। त्यस्तै सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले पुस मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको लागत मूल्य १ अर्ब १७ करोड ११ लाख ८९ हजार रहेकोमा यसको बजार मूल्य १ अर्ब ६२ करोड ९५ लाख ८९ हजार पुगेको हो । दुवै योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ।