ओलीले मान्छे खरिद गरेर पञ्चभेला गर्न लागेका छन् : प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहले गर्ने सभा पञ्चहरूको सभाजस्तै रहेको बताएका छन्। सोमबार पेरिस डाँडामा आयोजित प्रदेश २ को कार्यकर्ता भेलामा प्रचण्डले आफूहरूको यही माघ ९ गते काठमाडौंमा गरेको विरोध सभाको काउन्टरमा ओली समूहले सभा गर्न लागेको बताए।

उनले ओली समूहले जत्रो सुकै सभा गरे पनि त्यो ‘पञ्चर्‍याली’ भन्दा फरक नहुने बताए। पञ्चहरूले पनि आफ्नो शासन ढल्ने ढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरू गर्ने गरेको भन्दै प्रचण्डले अघि भने, ‘केपीहरूले गर्ने (सभा) ठूलो भए पनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके।’

प्रचण्ड-नेपाल पक्षले माघ ९ गते काठमाडौँमा गरेको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सानो गल्लीमा गरेको र्‍याली र वास्तविक र्‍याली कस्तो हुन्छ आफूहरू गरेर देखाउने बताएका थिए। सोही टिप्पणीको जवाफमा प्रचण्डले जतिसुकै ठूलो वा सानो र्‍याली गरे पनि त्यो पञ्चर्‍यालीभन्दा फरक नहुने बताए।

प्रचण्डले संसद् विघटनविरुद्धको अबको प्रदर्शन निर्णायक हुने गरी गर्ने पनि बताए। उनले माघ ९ गतेको प्रदर्शनले ठुलो तरङ्ग ल्याएको र अब हुने प्रदर्शनलाई निर्णायक बनाइने बताए। उनले अबको प्रदर्शनले समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने समेत दाबी गरे। सोमबार प्रचण्ड-नेपाल पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्