मजदूरहरुले १० हजार वर्षमा कमाउने सम्पत्ति अम्बानीले १ घण्टामा कमाउँछन्

Mukesh Ambani
  • 102
    Shares
लोकपाटी न्यूज

कोरोना महामारीले धनी तथा गरिब बीचको खाडल अझै गहिरिएको छ। कोरोना महामारीका बीच पनि धनीहरुको सम्पत्तिमा आश्चर्यजनक वृद्धि देखिएको छ भने गरिबहरुको पेट भर्नै संकटको अवस्था आएको छ। यस्तोमा भारतमा अक्सफामले एक प्रतिवेदन सार्वजनिक गरेको छ, जहाँ महामारीका कारण भारतीय अर्बपतिहरुको सम्पत्तिमा ३५ प्रतिशत वृद्धि भएको देखिएको छ। जबकी यसै समयमा करोडौं मानिसको जीविकाको संकट नै पैदा भएको छ।

अक्सफामले सार्वजनिक गरेको प्रतिवेदन ‘इनइक्वालिटी भाइरसुमा लेखिएको छ,’ मार्च २०२० पछि भारतमा १ सय अर्बपतिहरुको सम्पत्तिमा १२,९७,८२२ करोड भारतीय रुपैयाँ वृद्धि भएको छ। यति रकम यदि भारतका १३.८ करोड सबैभन्दा गरिब मानिसहरुलाई वितरण गर्ने हो भने यसबाट प्रत्येकलाई ९४ हजार ४५ भारु दिन सकिन्छ।’

प्रतिवेदनमा आयको असमानताबारे उल्लेख गर्दै महामारीको अवस्थामा मुकेश अम्बानीले एक घण्टामा जति आम्दानी गरेका छन्, त्यति नै कमाइ गर्न एक अदक्ष मजदुरलाई १० हजार वर्ष लाग्ने भनिएको छ। यस्तै एक सेकेन्डमा अम्बानीले जति कमाउँछन्, त्यति नै कमाउन एक अदक्ष मजदुरलाई तीन वर्ष लाग्ने भनिएको छ। प्रतिवेदन अनुसार कोरोना भाइरस सय वर्ष यताकै सबैभन्दा ठूलो स्वास्थ्य संकट हो। यसका कारण सन् १९३० को महामन्दीपछि सबैभन्दा बढी आर्थिक संकट पैदा भएको छ।

अक्सफाम भारतका मुख्य कार्यकारी अधिकृत अमिताभ बेहरले भने- ‘यो प्रतिवेदनले के देखाउँछ भने अन्यायपूर्ण आर्थिक व्यवस्थामा कसरी सबैभन्दा ठूलो आर्थिक संकटको समयमा पनि सबैभन्दा धनी मानिसले असाध्यै धेरै आर्जन गरे, जबकी करोडौं मानिसले असाध्यै कष्टकर समय बिताउनु परिरहेको छ।’ महामारीले सबैलाई समान किसिमले प्रभावित गर्ने अनुमान गरिए पनि लकडाउनपछि समाजमा व्याप्त असमानता खुलेर बाहिर आएको बेहरले बताए।प्रतिवेदनमा ७९ वटा देशका २ सय ९५ अर्थशास्त्रीहरुले आफ्नो मत प्रकट गरेका छन्। यसमा सबैजसो अर्थशास्त्रीले हरेक देशमा कोरोनाका कारण आय असमानतामा वृद्धि भएको बताएका छन्।

भारतमा सन् २०२० को अप्रिलमा प्रति घण्टा १ लाख ७० हजार मानिस बेरोजगार भएको तथ्यांक पनि अक्सफामले प्रस्तुत गरेको छ। मार्च २०२० पछि जारी लकडाउनमा पनि भारतका अर्बपतिहरु मुकेश अम्बानी, गौतम अडानी, शिव नादर, साइरस पुनावाला, उदय कोटक, अजीम प्रेमजी, सुनिल मित्तल, राधाकृष्ण दमानी, कुमार मंगलम बिरला तथा लक्ष्मी मित्तल जस्ता अर्बपतिहरुको सम्पतिमा भने तीव्र वृद्धि भएको पाइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘भारतीय अर्बपतिहरुको सम्पत्ति लकडाउनका क्रममा ३५ प्रतिशत बढेको छ। भारतका ११ जना प्रमुख अर्बपतिहरुको आय महामारीको समयमा जति बढ्यो, त्यसबाट भारतको स्वास्थ्य मन्त्रालय तथा मनरेगा कार्यक्रमको लागि छुट्याएको बजेट लगातार १० वर्षसम्म प्राप्त हुन सक्छ।’ प्रतिवेदनले कोरोना महामारीका कारण अनौपचारिक क्षेत्रका मजदुरहरुमा सबैभन्दा बढी असर परेको देखाएको छ। यस समयमा १२ करोड २० लाख मानिसको रोजगारी गुमेको छ, जसमध्ये ९ करोड २० लाख मानिस अनौपचारिक क्षेत्रका थिए। सन् २०२० को अप्रिलमा मात्रै १ करोड ७० लाख महिला बेरोजगार भएको तथ्य प्रस्तुत गर्दै अक्सफामले विद्यालय बाहिर भएका बालबालिकाको संख्या पनि पहिलेभन्दा दोब्बर भएको अनुमान गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्