प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन् ।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् । आचार्य गत आइतबार र न्यौपाने सोमबार सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै यसअघि दर्ता गरेको थिएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्