चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामूखविरुद्ध अदालतको अवहेलना मुद्दा

High Court
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सर्वोच्च अदालतमा ४ जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ताको निवेदन पेश भएको छ। अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको हो। कुमार शर्माले अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका हुन्।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा दर्ताको प्रक्रियामा रहेको र आजै दर्ता हुने लोकान्तरलाई जानकारी दिए। न्यायिक आचरणविपरीत पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेको भन्दै चर्को आलोचना भएको थियो। पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ताको लागि निवेदन पेश भएको छ।

ढुंगानाले संविधानको भावनाविपरीत फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए। सर्वोच्चमा मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लगेर तमासा गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दर्ता गरेका हुन्।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा चलाउन माग भएपनि जबराले पूर्व प्रधामनन्त्रीहरूले पनि बोलिरहेकाले कति जनालाई तान्ने भनेर प्रश्न गरेका थिए।