काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन्। तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाहरुमाथि अहिले (संवैधानिक इजलास) मा सुनुवाई जारी छ। बहस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भनेर दाबी गरिरहेका छन्।
यता, प्रधानमन्त्री ओली भने आफू पक्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना नहुने भन्दै चुनावको तयारीमा जुट्न आग्रह गरिराखेका छन्। उनले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने दाबी गरिरहँदा नेकपाको दाहाल-नेपाल पक्षले भने सडकबाटै संसद पूनःस्थापना गरिछाड्ने उद्घोषसहित चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। यसअघि यो पक्षले दुई चरणका आन्दोलन गरिसकेको छ। ओली पक्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उतार्ने घोषणा गरेको छ।
प्रधानमन्त्री ओली हिजो विहान एक्कासी ‘पशुपतिनाथ मन्दिर’ को दर्शनमा गए। उनको पशुपति मन्दिरको दर्शन र संकल्प पूजाले देशको राजनीति नै तरंगित बनेको छ। कतिपयले ओलीले एकाएक आफूलाई हिन्दूराष्ट्र पक्षधरको लाईनको नेतृत्वको कित्तामा उभ्याएको भनेर चित्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य एजेण्डा नै-हिन्दूराष्ट्र पूनःस्थापना भनेर दाबी गरेका छन्। त्यस्तै, ओलीको चुनावी अर्को एजेण्डा भनेको संघीयता खारेजी हो। संघीयताप्रति नेपाली जनता बेखुश देखिएका छन्। बारम्बार संघीयता खारेजीको माग उठिरहेको अवस्थामा ओलीले पनि अबको चुनावी एजेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ।