वामदेवको ‘एकता अभियान’ घोषणा कार्यक्रममा को-को भए उपस्थित ?

Bamdev_Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’सुरु गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा एक कार्यक्रम गरेर गौतमले एकता अभियानको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। उद्घाटन कार्यक्रममा गौतमको समूहले पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेका थिए। तर, उनीहरू कार्यक्रममा आएका छैनन्।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमी प्रदेशका प्रदेशसभा सदस्य विदोन खड्का सहभागी छन्। त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा. हीराबहादुर महर्जन र डीबी कार्कीसम्म सहभागी रहेका छन्।

कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिती १ सय ७५ सदस्यीय छ। उनको अवधारणापत्रमा पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न समन्वय समिति रहने जनाइएको छ। ६ सय ५१ सदस्यीय सो समितिमा एक सय ५१ जनाको कार्यसम्पादन समिति रहनेछ। साथै दैनिक कामका लागि आवश्यक सचिवालय समेत निर्माण हुने अवधारणापत्रमा जनाइएको छ।

प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने पनि अवधारणापत्रमा जनाइएको छ। उपाध्यक्ष गौतमले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै नेकपालाई फेरि एकजुट बनाउनका लागि पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेको बताउँदै आएका छन्।

आफू पार्टी एकीकरण गराउनेमध्येको नेता रहेको उल्लेख गर्दै उनले अहिले पनि एकताको पक्षमा आफू उभिएको बताए। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म पार्टी एकीकरण गराउन आफू लागिपर्ने गौतमले बताए। पार्टीभित्र देखिएको आन्तरिक कलह र फुटको स्थितिले बाहिर सकारात्मक सन्देश नजाने भन्दै गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्।