केपी ओलीलाई प्रचण्डमा विलय गराउँछु : गौतम

Bamdev_Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकैतिर फर्काइदिने बताएका छन्। बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन्।

‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन। प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो। म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने।

आफ्नो अभियानमा प्रचण्ड र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए। यदि पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए। उनले नेकपा विभाजनले विश्वभरका कम्युनिष्‍टहरुलाई रुवाएको टिप्पणी पनि गरे। नेकपा एकताले अमेरिकामा समेत प्रभाव पार्न लागेका बेला विभाजनले सबैलाई रुवाएको उनले बताए।

गौतमले भने, ‘आज चीनको कम्युनिष्‍ट पार्टी रोएको छ, भियतनामको कम्युनिष्‍ट पार्टी रोएको छ। हाम्रो एकताले अमेरिका जस्तो कम्युनिष्‍टलाई घृणा गर्ने ठाउँमा पनि पार्टी उठ्न लागेको थियो। तर उहाँहरुले सारा मान्छेलाई रुवाएर आफू हाँसिरहनुभएको छ।’