संसद विघटनविरुद्धको मुद्दा : प्रधानन्यायाधीशले तोके बहस गर्ने अवधि

CholendraSamsher_jabara_Rana
  • 18
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न समय तोकेका छन्। नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि निरन्तर बहस जारी छ।

कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ। बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानून व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका छन्। बुधबारको इजलासको अन्तिममा जबराले १०/१५ मिनेट भन्दा बढता समय दिननसकिने बताएका हुन्।

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद बिघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन्। उनले भने, ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ। उहाँहरुलाई पनि समय दिनैपर्‍यो। यसलाई प्रिय नै मानिदिनुहोला।’

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन्।संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ।