अन्ततः जनताको बहुदलीय जनवादमै फर्किए वामदेव गौतम

Bamdev gautam
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधवार ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरे। संसद् विघटनसँगै नेकपा अघोषित रूपमा विभाजन भएको बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्। उनले पार्टी एकता अभियानको अवधारणा पत्र पनि सार्वजनिक गरेका छन्।

उक्त अवधारणा पत्रमा भनिएको छ, ‘एकता अभियानको मूल उद्देश्य विभाजित हाम्रा दुवै समूहलाई पुनः एकतामा ल्याउनु हो। यसका साथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वाम-प्रगतिशील समूह एवं व्यक्तिहरूलाई पनि यो अभियानमार्फत एकताबद्ध गर्ने उद्देश्य राखिएको छ।’

गौतमले कानुनी रूपमा पार्टी विभाजन नभएकोले एकता राष्ट्रिय अभियानको नाममा विभाजनलाई रोक्न राष्ट्रव्यापी दबाब सिर्जना गरिने बताएका छन्। उनले विभाजन रोक्न तत्काल अभियान सञ्चालन गरिने पनि बताएका छन्। व्यक्तिगत रूपमा एकता जोगाउन सम्भव नहुने भएकोले सङ्गठित रूपमा एकता अभियान सञ्चालन गर्न लागिएको गौतमको भनाई छ।

उनले भनेका छन्, ‘व्यक्तिगत रूपमा भन्दा सङ्गठित रूपमा अभियान सञ्चालन गर्दा बढी प्रभावकारी हुने देखेर तदनुरूप हामी अगाडि बढिरहेका छौँ। हामीलाई विश्वास छ, दुईतिर बाँडिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले पार्टी पुनः एकीकरण गर्ने हाम्रो आह्वानलाई सम्मान गर्दै साथ दिनुहुनेछ।’ गौतमले नेकपामा आएको विभाजनले पार्टी सदस्यहरू, कार्यकर्ता र नेताहरू अत्यन्त दुखी भएको पनि बताएका छन्।

उनले नेकपा विभाजन नहोस् भन्नेमा आम भावना रहेको उल्लेख गरेका छन्। आम भावना अनुसार आफूहरू एकताको अभियानमा सुरु गरेको गौतमको भनाई छ। उनले भनेका छन्, ‘आज देश र विदेशमा रहेका हाम्रा मित्रहरूका बिच प्रश्न उठ्ने गरेको छ, विभाजनको सिकार हुन गइरहेको हाम्रो पार्टीलाई के हामी पुनः एकीकृत गर्न सकौँला ? हामी भन्छौँ, तपाईंहरुले साथ दिनु मात्र पर्छ, यो धेरै सम्भव छ।’

गौतमले दुई चरणमा पार्टी पुन एकीकरणको योजना अघि सारेका छन्। सर्वोच्च अदालतको निर्णय अनुसार एकीकरणको कामलाई दुई चरणमा विभाजन गरिएको उनी बताउँछन्। अवधारणा पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा पुनर्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न-भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने छ।’

सङ्गठन र सिद्धान्त

पार्टी एकता राष्ट्रिय अभियानको सङ्गठनात्मक संरचना निर्माण गरिने पनि गौतमले भनेका छन्। उनले केन्द्र देखि स्थानीय तहसम्मको संरचना निर्माण गरिने बताएका छन्। सङ्गठन सञ्चालन सम्बन्धी नियमहरू पनि बनाइएका छन्। नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति अभियानको सर्वोच्च संस्था हुने अवधारणा पत्रमा उल्लेख गरिएको छ।

अभियानको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुने उल्लेख गरिएको छ। अभियानको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने भनिएको छ। जसबारेमा अहिले चर्चा सुरु भएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको छ। लामो समय फरक फरक धारको नेतृत्व गरिरहेका दुई पार्टीबीच पार्टी एकता हुनेभएपछि मार्गदर्शक सिद्धान्तका रूपमा जनताको जनवादलाई अघि सारिएको थियो। तत्कालीन नेकपा एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१ औँ शताब्दीको जनवादलाई परिष्कृत र विकशित गरेर ‘जनताको जनवाद’ पार्टीको मार्गदर्शक सिद्धान्त हुने सहमति बनेको थियो।

उक्त सहमतिमा टेकेर पार्टी एकता भएको थियो। तर पछि पार्टीमा विधि र सिद्धान्त विवाद सुरु भयो। उक्त विवादले पार्टी विभाजनको अवस्था पुर्‍याएको थियो। नेकपा उपाध्यक्ष गौतमले विभाजित अवस्था पुगेपछि पुन एकीकरणका लागि अभियान थालेका हुन्। तर उनले अभियानको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुने उल्लेख गरेपछि अभियानको औचित्यमाथि प्रश्न उठाएका छन्।

ओली समूहले पूर्व एमाले व्यूताउने उद्घोष सहित गतिविधि बढाएपछि पार्टी विभाजनको अवस्थामा पुगेको नेकपाका एक नेताले बताए। तर गौतमले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएपछि पार्टी एकताको मनसाय नभएको ती नेताको भनाई छ। ‘जुन विवादले पार्टीलाई विभाजनको अवस्था पुर्‍यायो, त्यही विवादलाई मार्गदर्शक बनाएपछि पुन एकीकरणको सम्भावना छैन,’ उनले भने, ‘एकता राष्ट्रिय अभियानको मनसाय एकता भन्दा पनि अरू केही हो की भन्ने प्रश्न उठाएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्