तेस्राे पक्षबाट पाइपलाइनमा क्षति : संरक्षणमा सहयोग गर्न केयुकेएलको अपील

melamchi
फाइल तस्वीर
  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा खानेपानी आयोजना सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको जनाएको छ। केयुकेएलले समग्र खानेपानी तथा आपूर्ति प्रणालीमा सुधार, सेवा प्रवाहमा सुधार र काठमाडौंबासीको जीवनमा सकारात्मक प्रभाव बिस्तारको कामलाई उच्च प्राथमिकतामा राखेको आयोजनाको दावी छ।

काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजनाले उपत्यकामा खानेपानी आपूर्ति सेवाहरूमा सुधार गर्ने नेपाल सरकारका प्रयासहरूमा योगदान पुर्‍याउँदै आएको छ। आयोजनाले खानेपानीको थोक वितरण तथा वितरण सञ्जाल सुधारका कार्यहरूमा लगानी गरिरहेको छ। आयोजना सम्पन्न भइसकेपछि मुख्यतः तीनवटा प्रतिफल प्राप्त हुने आयोजनाको अपेक्षा छ।

आयोजनाले अपेक्षा गरेका प्रमुख तीन प्रतिफलहरुमा समग्र खानेपानी तथा आपूर्ति प्रणालीमा सुधार, सेवा प्रवाहमा बृहत्तर सुधार र उपत्यकामा बसोबास गर्ने जनसंख्याको स्वास्थ्य तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव बिस्तार गर्ने रहेको केयुकेएल आयोजना कार्यान्वयन निर्देशक कमल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार यस सुधार आयोजनाको कार्यान्वयनकर्ता सरकारी निकायको रूपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको शुुद्ध, पूर्ण प्रशोधित खानेपानी आपूर्ति तथा वितरण गर्नका लागि आवश्यक संरचनाहरूको निर्माण तथा सञ्चालन योग्यताको परीक्षण गरिरहेको छ। मेलम्ची आयोजना सम्पन्न भएलगत्तै आम उपभोक्तालाई शुद्ध खानेपानी आपूर्तिमा बिलम्व नहोस् भन्ने हेतुले आपूर्तिका लागि आवश्यक संरचना निर्माणको कामलाई आयोजनाले उच्च प्राथमिकतामा राखेको छ।

निर्देशनालयले उपत्यकाका ९ स्थानमा कूल ७४,५०० घन मिटर क्षमताका १० पानीट्यांकीहरू निर्माण गर्नुपर्नेमा ९ वटाको निर्माण सम्पन्न गरी शतप्रतिशत लक्ष्य हासिल गरिएको बताएको छ। निर्माण सम्पन्न भएका पानीट्यांकीहरूमा, कीर्तिपुर, बालाजु, महाराजगञ्ज (पानीपोखरी), बाँसबारी, महाँकाल, आरूबारी, टिगनी र खुमलटार रहेका छन्। त्यसैगरि कटुञ्चेमा १० औं ट्यांकी निर्माणको काम पनि तीव्रताका साथ अघि बढिरहेको आयोजनाले जनाएको छ।

पाइप बिछ्याउने काममा पनि आयोजनाले उल्लेख्य प्रगति हासिल गरेको छ। थोक वितरण प्रणालीअन्तर्गत प्राइमरी लाइनसहित कूल ७७ कि.मि पाइप बिछ्याउनुपर्नेमा करिब ७६ कि.मि बिछ्याइसकेको र वितरण सञ्जाल सुधारअन्तर्गत कूल करिब ११३२ कि.मि पाइप बिछ्याउनुपर्नेमा १०९५ कि.मि बिछ्याइसकेको आयोजनाले जनाएको छ।

मेलम्चीको प्रशोधित पानी उपत्यकामा आइसकेपछि घरघरमा सुरक्षित तवरले आपूर्ति गर्नका लागि खानेपानीका पाइपहरू र अन्य संरचनाहरू पूर्णतया सञ्चालनयोग्य अवस्थामा रहेको सुनिश्चित गर्नुपर्ने हुन्छ। त्यही जिम्मेवारीलाई आयोजनाले आफ्नो प्राथमिकतामा राखेको हो।

निर्देशनालयले वितरण सञ्जाल सुधारअन्तर्गतका ३ प्याकेजहरूअन्तर्गत कूल ९६८ कि.मिको सफाइ तथा परीक्षण गर्नुपर्नेमा करिब १८१ कि.मिको सफाइ तथा सञ्चालनयोग्यताको परीक्षणका कार्यहरू सम्पन्न गरिसकेको छ। आयोजनाको कामको रफ्तार हेर्दा उपत्यकामा खानेपानी व्यवस्थापनका लागि आयोजना पूर्णतः सक्षम रहेको देखिएको छ।

KUKL pipe
तेस्रो पक्षद्वारा तिनकुने, वानेश्वरमा निर्माण कार्य गर्ने क्रममा क्षतिग्रस्त खानेपानीको पाइप। २०७७।०९।२१

तर, यसरी परीक्षण सम्पन्न गरिसकिएका पाइपहरू क्षतिग्रस्त भएका छन्। हालसम्म थोक वितरण प्रणाली र वितरण सञ्जाल सुधारका गरी कूल करिब ४४ कि.मि पाइपलाइन तथा करिब ३,३०० घरधारामा क्षति पुग्न गएको देखिन्छ। यसरी क्षतिग्रस्त भएका संरचनाहरूको पुनस्र्थापन गर्न करिब १९ करोड रूपियाँ लाग्ने देखिन्छ।

Kukl pipe-2
तेस्रो पक्षद्वारा ललितपुर महानगरपालिका वडा नं.–९ मा ढलको पाइप बिछ्याउने क्रममा क्षतिग्रस्त खानेपानीको पाइप। २०७७।०७।२५

आयोजनाका अनुसार मेलम्चीको पाइप बिछ्याइएका स्थानहरूमा तेस्रो पक्षले निर्माण कार्य गर्दा अन्तर्निकाय समन्वय नगरिदिँदा, मेलम्चीको पाइप बिछ्याइएका स्थानहरूमा निर्माण कार्य गर्दा आवश्यक सावधानी नअपनाइदिँदा पाइपहरुमा क्षति पुगेको हो। पाइपलाइनमा पुगेको क्षतिप्रति आयोजना कार्यान्वयन निर्देशनालयले दुख प्रकट गरेको छ।

राष्ट्रिय गौरवको मेलम्ची आयोजना हामी सबैको साझा सम्पत्ति हो। आयोजनाका पाइप लगायतका संरचनाहरू क्षतिग्रस्त हुनु भनेको हाम्रो आफ्नै सम्पति नोक्सान हुनु हो। यसरी संरचनाहरू क्षतिग्रस्त हुँदा मेलम्चीको प्रशोधित खानेपानी उपत्यकामा आइपुग्नेबित्तिकै चरणबद्ध तथा योजनाबद्ध ढंगले उपभोक्ताका घरघरमा खानेपानी आपूर्र्ति गर्ने कार्यतालिका प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ, पूर्वाधार संरक्षणका निम्ति स्थानीय उपभोक्ताको सक्रियता बढ्नुपर्ने आयोजनाको तर्क छ।

आयोजनाले उपत्यकामा निर्मित मेलम्ची आयोजनाका संरचनाहरू क्षतिग्रस्त भएको वा जोखिममा परेको देखेमा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। आयोजनाले निर्देशनालयको फोन नं. ११३९ मा सम्पर्क गरी जानकारी गराउन पनि सर्वसाधारणलाई अपील गरेको छ। साथै आयोजनाका संरचनाहरूको क्षति न्यूनीकरण गर्न सम्बद्ध सर्वोच्च सरकारी निकायबाट बाध्यकारी निर्देशन जारी हुनु अत्यावश्यक रहेको पनि आयोजनाले जनाएको छ।

निर्देशनालयले खानेपानी आपूर्तिका लागि बिच्छयाइएका पाइपहरु र भौतिक संरचनाको संरक्षणमा सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ। साथै त्यससम्बन्धी कुनै जानकारी भएमा अनामनगरस्थित कार्यालयको फोन नंः ०१–५७०५७७१÷५७०५९१६÷५७०५१४८ मा सम्पर्क गरिदिन पनि अपील गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्