संसद विघटनको बहसको लागी अधिवक्ताले अब १५ मिनेट मात्रै समय पाउने

Cholendra_Rana
  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस बुधबारका लागि सकिएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने अधिवक्ताहरुले अब जम्मा १५ मिनेट समय पाउनेछन्। बुधबारको बहसको अन्तिममा प्रधानन्यायाधीशले भने, ‘समयको कुरा तपाईंहरु आफैले बुझ्नुपर्ने कुरा हो। भोलिबाट १०/१५ मिनेट भन्दा बढी दिन्‍नौँ। विध्वान, वरिष्ठ सबै मित्रहरूलाई।‍’

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ। बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका हुन।

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन्। ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ। उहाँहरुलाई पनि समय दिनैपर्‍यो। यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने।

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् यसअघि यो रिटमा बहस गर्नेले २ घण्टासम्म समय पनि लिएका थिए । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ। कुल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाई भएको छ।