ओली आजीवन निर्वाचन चाहँदैनन्

KP-Sharma-Oli
  • 257
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पुस ५ मा हठात् प्रतिनिधि सभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति निर्वाचनमा आफ्नो समूहले दुईतिहाइ बहुमत ल्याउने दाबीतर्फ केन्द्रित छन्। पार्टी बिभाजनयता उनले हरेकजसो कार्यक्रममा वैशाखमा हुने निर्वाचनमा आफूहरुले दुईतिहाइ ल्याउने दाबीसहित प्रचण्ड–नेपालप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन्। वैशाख १७ र २७ मा मध्यावधि निर्वाचनको घोषणा गरिएकाले दुईतिहाइ ल्याउने गरी तयारी गर्न उनले आफ्ना कार्यकर्तालाई निर्देशन दिन थालेका छन्।

तर, बाहिर निर्वाचनको कुरा गरे पनि ओलीको आन्तरिक तयारी त्यसको ठीक विपरित देखिन्छ। उनका अभिव्यक्ति र व्यवहारलाई तुलना गरिहेर्ने जो–कसैले ओली निर्वाचनका पक्षमा छैनन् भन्ने कुराको निष्कर्ष निकाल्न कठिन छैन। तर, निर्वाचनको कुरा गरेर मात्र निर्वाचन टार्न सकिन्छ भन्ने ‘सकुनी विद्या’मा माहिर ओली निरन्तर निर्वाचनको कुरा गरिरहेका छन्।

गत पुस ५ मा प्रतिनिधि सभा बिघटन गरेका ओलीले वैशाख १७ र २७ का लागि निर्वाचनको मिति तोकेका छन्। कथंकदाचित तोकिएको मितिमा निर्वाचन भएमा ओलीले सत्ताबाट हात धुनुपर्ने हुन्छ। चार महिनापछि सत्ताबाट हात धुनुपर्ने ‘गणित’ बुझेका ओलीले के हचुवामै प्रतिनिधि सभा बिघटन गरे होलान् ? तथ्यहरुले त्यसो भन्दैनन्। तथ्यहरुको अध्ययनबाट उनी अनन्तकालसम्म चुनाव नगर्ने र सत्तामा बसिराख्ने दाउमा रहेको देखिन्छ।

प्रतिनिधि सभा बिघटन आफैमा कलंकको टीका हो। चार महिना प्रधानमन्त्रीको कुर्सीमा बसिरहनकै लागि ओलीले यति ठूलो कलंकको टीका लगाएका होलान् ? यो यथार्थ होइन। चुनाव भएमा वैशाखमा छोड्नुपर्ने बुझेका ओलीले चार महिनाका लागि यति ठूलो जोखिम उठाएका छैनन्, कलंकको टीका लगाएका छैनन्। यसभित्र निर्वाचन नै नगर्ने र अनन्तकालसम्म प्रधानमन्त्री भइरहने भयंकर ठूलो नियत लुकेको छ। यसका लागि केही तथ्यहरु नै काफी छन्।

पहिलो, नेकपाभित्रको अन्तरसंघर्षमा ओलीलाई पार्टी अध्यक्ष छोडेर पाँच वर्षकै प्रधानमन्त्री खाने बिकल्प सुरक्षित थियो। तर, उनले पार्टी अध्यक्ष छोडेर भए पनि प्रधानमन्त्री सुरक्षित गरेनन्। किनकि, उनको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्ने चाहना थिएन। त्यसका लागि उनले फुटेको पार्टीको अध्यक्ष हुने र चुनाव नगरी प्रधानमन्त्रीमा रहिरहने बिकल्प रोजेको देखिन्छ। यदि वैशाखमा चुनाव गर्ने असल मनसाय भएको भए ओलीले चार महिनापछि यी दुवै पदबाट हात धुनुपर्ने मूर्खता पक्कै गर्दैनथे।

दोस्रो, ओलीले चुनाव गर्दैनन् भन्ने कुराको अर्को प्रमाण हो आफूपक्षीय नेताहरुलाई उनले दिएको आश्वासन। प्रतिनिधि सभा बिघटनपछि ओलीले आफूतिर उभिएका पूर्वमाओवादी पृष्ठभूमिका सबै नेताहरुलाई मन्त्रीमा नियुक्त गरे। त्यतिबेला पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुले चार महिना मन्त्री खानका लागि आफूहरुले जोखिम नमोल्ने बताएका थिए। तर, प्रधानमन्त्री ओलीले थोरैमा २ वर्ष चुनाव नहुने र ‘तपाईहरु कम्तिमा २ वर्षका लागि मन्त्री हो’ भनेर आश्वस्त पारेपछि उनीहरु सपथ खान तयार भएका थिए। यसले पनि ओली वैशाखमा चुनाव गर्ने पक्षमा छैनन् भन्ने नै पुष्टि गर्दछ।

निर्वाचनको कुरा गरेर मात्र निर्वाचन टार्न सकिन्छ भन्ने ‘सकुनी विद्या’मा माहिर ओली निरन्तर निर्वाचनको कुरा गरिरहेका छन्, जसरी ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नाराभित्र भ्रष्टाचारीहरुको संरक्षण गरिरहेका छन्।

तेस्रो, प्रतिनिधि सभा बिघटनपछि नेकपा कानूनी रुपमा एक भए पनि राजनीतिक रुपमा बिभाजित भइसकेको छ। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दल छैन। पार्टीभित्रको आन्तरिक समीकरणमा पार्टी कमिटीको २६ प्रतिशत हिस्सा उनको पक्षमा देखिएको छ, जुन हिस्सा अलग्गै पार्टीको अस्तित्वको दाबीका लागि पनि अपर्याप्त देखिन्छ। यस्तो अवस्थामा ओलीले चुनाव गर्लान् भन्ठान्नु ठूलो भ्रम पालेर बाँच्नु हुन जान्छ।

चौंथो, कथंकदाचित निर्वाचन भइहालेमा नेकपाका दुवै समूहलाई गम्भीर धक्का लाग्नेछ। अहिलेकै परिस्थितिमा निर्वाचन भएमा नेपाली कांग्रेस पहिलो दलको रुपमा अगाडि आउने, दोस्रो दलका रुपमा प्रचण्ड–नेपाल समूह, तेस्रो दलका रुपमा जनता समाजवादी पार्टी आउने देखिन्छ। तर, प्रधानमन्त्री ओलीको दलले चौंथो शक्तिका लागिसमेत राप्रपा र विवेकशील साझा लगायतका दलहरुसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यस्तो जोखिमपूर्ण परिस्थितिमा ओलीले चुनाव गर्छन् भन्ने सोच्नु राजनीतिको सामान्यज्ञान नबुझ्नु हो।

पाँचौं, प्रधानमन्त्री ओलीमा संविधान च्यातेको, प्रतिनिधि सभा बिघटन गरेको, गणतन्त्रका खम्बा कमजोर पारेको, संघीयता खारेज गर्न खोजेको, लोकतन्त्रमाथि आक्रमण गरेको, पार्टी फुटाएको, राज्यको साधन र स्रोतले गुटको संरक्षण गरेको, भ्रष्टाचारलाई संस्थागत गरेको, दलाल पुँजीवादको मतियार बनेकोजस्ता गम्भीर आरोप लागेको छ। यी अभियोगहरु प्रतिस्पर्धी दलका निम्ति चुनावी मसला हुन्, जसको तथ्यपूर्ण प्रतिवाद गर्न ओलीका लागि असम्भव देखिन्छ। तसर्थ, यी सबै कुराको प्रत्यक्ष प्रभाव निर्वाचन परिणाममा देखिने छ। यही कारण पनि ओलीले कुनै पनि हालतमा वैशाखमा चुनाव गर्दैनन्।

छैटौं, गृहमन्त्री रामबहादुर थापाले वैशाखमा चुनाव हुन नसक्ने स्पष्ट पारिसकेका छन्। कालिकोटको सार्वजनिक कार्यक्रममै उनले वैशाखमा चुनाव गर्न नसकिने तर्क गरेपछि सरकारको नियत प्रष्टिएको छ। ओलीले चुनावका लागि होइन, चुनाव छल्नकै लागि चुनावको कुरा गरिरहेका छन् भन्ने कुरा सरकारका मन्त्री र ओलीनिकट नेताहरुले क्रमशः उद्घाटित गर्दैछन्। त्यसैगरि सुरक्षा निकायले पनि प्रधानमन्त्री ओलीलाई वैशाखमा चुनावको तयारी गर्न नसकिने ‘बिफ्रिङ’ गरेको स्रोतहरुको दावी छ।

सातौं, नेकपाको आधिकारिकता र चुनाव चिन्हबारे दुवै समूहले दावी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म ठोस निर्णय दिन सकेको छैन। यता नेकपा फुटिसकेको छ, उता आयोग नेकपा फुट्न नमिल्ने निर्णय सुनाइरहेको छ। आयोगको आइतबारको निर्णयपछि नेकपाका दुवै पक्ष नयाँ रणनीतिका साथ अघि बढ्ने तयारी गरिरहेका छन्। तसर्थ, निर्वाचन आयोगले दलको वैधानिकताका लागि अझै केही समय लिने भएकाले त्यसको प्रत्यक्ष असर निर्वाचनमा पर्नेछ।

आठौं, आर्थिक सूचकहरु निरन्तर ऋणात्मक दिशातिर झरेका छन्। अर्थमन्त्री विष्णु पौडेल स्वयंले देशको अर्थतन्त्र जटिल मोडमा उभिएको टिप्पणी गरेका छन्। कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको ‘डिप्रेसन’का असरहरु सतहमा देखिन थालेका छन्। चुनावका लागि ठूलो धनराशि चाहिने तर सरकारका लागि सामान्य खर्चको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको परिस्थितिमा निर्वाचनका लागि स्रोत व्यवस्थापन कठिन देखिएको छ। यसले पनि निर्वाचन प्रभावित गर्नेछ।

नवौं, निर्वाचनका लागि सबैभन्दा मुख्य चुनौती प्रधानमन्त्री केपी शर्मा ओलीको नियत नै हो। उनको सोंच, चरित्र र कार्यशैलीमा देखिएको चरम अलोकतान्त्रिक चरित्रका कारण उनको शक्तिले भ्याएसम्म देशमा निर्वाचन हुँदैन। ओलीको शक्तिले भ्याए उनी कहिल्यै पनि निर्वाचन चाहँदैनन्। उनी परिस्थिति भड्काएर, संविधानलाई कोमामा पुर्‍याएर बाँचुञ्जेल प्रधानमन्त्रीको कुर्सीमा बसिरहने सोंचमा देखिन्छन्। त्यसकारण उनले घोषणा गरेको निर्वाचन गर्नका लागि होइन, निर्वाचनको कुरा गरेर निर्वाचन रोक्नका निम्ति हो, जसरी उनले ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नाराभित्र भ्रष्टाचारीहरुको संरक्षण गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्