बहुचर्चित चुनवाङ बैठकको ऐतिहासिक दस्तावेज (पूर्णपाठ)

Communist_Party_of_Nepal_Maoist
  • 138
    Shares
लाेकपाटी न्यूज

लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं। राजनीतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाइमा उठाउँ।।

(क) सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गको सत्तासँग नेपाली जनताको अन्तरविरोधलाई नयाँ जनवादी क्रान्तिको न्युनतम कार्यक्रम र रणनीतिद्वारा हल गर्न पार्टीको नेतृत्वमा पहल गरिएको जनयुद्धले दश वर्षको अवधिमा राष्ट्रिय राजनीतिको वर्गीय शक्ति सन्तुलनमा व्यापक हेरफर ल्याइदिएको छ। देशको सम्पूर्ण ग्रामीण इलाकाबाट पुरानो सत्ता बढारिएको छ भने आफ्ना विकासको प्रारम्भिक चरणमै भएपनि ती स्थानमा जनताका जातीय, क्षेत्रीय स्वायत्त गणतान्त्रिक र स्थानीय सत्ताहरुको जन्म भएको छ। जनताका यी सत्ताहरु क्रमशः नेपाली विशेषता अनुसारको संघीय जनगणतन्त्रको केन्द्रीय सरकार बन्ने दिशातिर अग्रसर छन्। जनमुक्ति सेनाले दुश्मनको सैन्य शक्तिका विरुद्ध रणनीतिक रक्षा र सन्तुलनको चरण पार गरी प्रत्याक्रमणको चरणमा प्रवेश गरेर त्यसको पहिलो योजना कार्यान्वयन पनि गरिसकेको छ। आज घरेलु परिस्थितिको यो नै प्रमुख विशेषता बनिरहेको छ।

(ख) पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा गरिएको विचार संश्लेषण र त्यसले अगाडि ल्याएको राजनीतिक र फौजी कार्यनीतिले जब जनयुद्धको विकास प्रक्रियालाई अझ तिव्रता र गुणात्मकता प्रदान गर्‍यो, तब पुरानो सत्ताका उदारवादी र कट्टरपन्थी हिस्साका बीचको अन्तरविरोध पनि तीव्र बनेर गयो। त्यो अन्तरविरोधको पहिलो विष्फोट भयानक नारायणहिटी हत्याकाण्डका रुपमा हुन पुग्यो। सो हत्याकाण्ड आफ्नो सारतत्वमा पुरानो सत्तामा विद्यमान उदारवादी गुट र हिस्साका विरुद्ध परम्परागत कट्टर सामन्ती तत्वको नेतृत्वमा सत्ताकै कट्टरपन्थी हिस्साले गरेको षड्यन्त्र, विद्रोह र विजयको परिणाम थियो। मुख्य रुपमा जनयुद्ध र साथसाथै ०४६ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिका विरुद्धसमेत त्यो हत्याकाण्ड परिलक्षित थियो भन्ने कुरा अब दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ।

हाम्रो पार्टीले तत्काल त्यो षड्यन्त्रमूलक हत्याकाण्डका पछाडि नक्कली राजा ज्ञानेन्द्र शाही र उसको निरङ्कुश सामन्ती गिरोहलाई विदेशी प्रतिक्रियावादी शक्ति मुख्यतः अमेरिकी साम्राज्यवादको आड रहेको राजनीतिक विश्लेषण गरेको थियो। आज ज्ञानेन्द्र शाहीले खुलेआम ‘कू’ गरेर देशमा निरङ्कुश सामन्ती राजतन्त्रात्मक फौजी अधिनायकवाद थोपर्दा समेत आफूलाई विश्वभरिकै लोकतन्त्रको ठेकेदार सम्झिने अमेरिकी साम्राज्यवादले संसदवादी राजनीतिक दलहरुलाई त्यही निरङ्कुश राजतन्त्रका अगाडि आत्मसमर्पण गर्न दिइरहेको दवावले हाम्रो त्यति बेलाको विश्लेषण वस्तुवादी रहेको तथ्यलाई नै अझ राम्रोसँग पुष्टि गरेको छ। पुरानो सत्तामा सहभागी रहेका संसदवादी राजनीतिक दलहरुका विरुद्धसमेत सो हत्याकाण्ड लक्षित रहेको वास्तविकतालाई गम्भिरतापूर्वक बोध गरेर नै हाम्रो पार्टीले तत्कालै सामन्ती निरङ्कुशतन्त्रका विरुद्ध सहकार्य र मोर्चाका लागि संसदवादी दलहरु र नागरिक समाजसँग अपील र पहल गरेको थियो। तर, प्रमुख संसदवादी दलका नेताहरुको वर्गचरित्र, अदूरदर्शिता र क्षणिक सत्तास्वार्थका कारण त्यो अपील र पहलले तत्काल कुनै मूर्त रुप लिन सकेन। आज करीब चार वर्षपछि मुख्यतः गत माघ १९ गतेको शाही ‘कू’पछि परिस्थितिको जबर्जस्त दवावसँगै त्यस प्रकारको सहकार्य अगाडि बढ्ने भौतिक वातावरण र सम्भावना निकै बढेर गएको छ र पार्टीले त्यो दिशामा सक्दो पहल गरिरहेको छ।

(ग) राजनीतिक र फौजी हस्तक्षेपको समुचित तालमेल तथा दुश्मनका विभिन्न गुटहरुका बीचको अन्तरविरोधलाई सही ढ¨ले उपयोग गर्नु हाम्रो पार्टी कार्यनीतिको अभिन्न अ‌ंग रहँदै आएको छ। जनयुद्धका पाँच वर्षका अनुभव तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय वर्गशक्ति सन्तुलनको वस्तुवादी लेखाजोखा गर्दै पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले आफ्नो राजनीतिक कार्यनीतिका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधान सभाको निर्वाचनलाई निश्चित गर्‍यो। जनसमुदायमा परेको यसको सकारात्मक प्रभाव उत्कर्षमा पुग्न नपाउँदै नारायणहिटी हत्याकाण्डको मञ्चन भयो र देशको राजनीतिक परिस्थितिमा ठूलो हेरफेर आयो। पार्टी केन्द्रले नयाँ स्थितिमा आफ्नो राजनीतिक कार्यनीतिलाई विकास गर्दै अन्तरिम सरकार, संविधान सभाको निर्वाचन र गणतन्त्रको संस्थागत विकासको आवश्यकतामा जोड दियो। ठीक त्यही सन्दर्भमा संविधान सभा र गणतन्त्रका पक्षमा एकजुट भएर आन्दोलन अगाडि बढाउन जोड दिँदै पार्टीले विभिन्न संसदवादी दलहरुस“ग केन्द्रीय स्तरमा छलफल अगाडि बढाएको थियो। स्मरणयोग्य छ कि त्यतिबेला अघि सारिएको गणतन्त्रको नारा न नयाँ जनवादी गणतन्त्रको नारा थियो, न वुर्जुवा संसदीय गणतन्त्रको नारा नै थियो।

वस्तुतः र सारतः त्यो नारा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई सम्वोधन गर्ने गरी संविधान सभामार्फत् राज्य संरचनामा व्यापक परिवर्तन गर्ने बहुदलीय गणतन्त्रको नारा नै थियो। पार्टीले संविधान सभामार्फत् राज्य संरचनामा कस्तो परिवर्तन खोजेको हो भन्ने कुराको सारसंक्षेप पुरानो सत्तासँग भएको दोस्रो वार्ताकालमा पार्टीका तर्फबाट वार्ता टोलीले प्रस्तुत गरेको प्रस्तावमा स्पष्ट गरिएको छ। त्यही गणतन्त्रको नारालाई पछि लोकप्रिय शब्द ‘लोकतान्त्रिक’ जोडेर लोकतान्त्रिक गणतन्त्र भनिएको कुरा स्पष्टै छ।

(घ) अहिले पार्टीले सुत्रबद्ध गरेको अन्तरिम सरकार, संविधान सभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको नारा अन्तर्राष्ट्रिय र घरेलु शक्ति सन्तुलनलाई विचार गरी अघि सारिएको अग्रगामी राजनीतिक निकासको कार्यनीतिक नारा हो। कार्यनीतिले रणनीतिको सेवा गर्ने उद्देश्यमा स्पष्ट रहँदै पार्टीले लोकतान्त्रिक गणतन्त्रलाई न वुर्जुवा संसदीय गणतन्त्रका रुपमा लिएको छ, न सोझै नयाँ जनवादी गणतन्त्रका रुपमा। देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई समाधान गर्ने ढंगले राज्यसत्तामा व्यापक पुनर्संरचनासहितको यो गणतन्त्रले संक्रमणकालीन बहुदलीय गणतन्त्रको भूमिका खेल्नेछ। निश्चय नै त्यस प्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरुले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारा वर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ।

संक्रमणकालको त्यो अवधि कति लामो वा छोटो हुनेछ भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिने कुरा होइन। स्पष्ट छ कि त्यो कुरा त्यति बेलाकै अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको स्थितिमा भर पर्नेछ। अहिले नै भने संसदवादी र क्रान्तिकारी दुवैको साझा दुश्मनका रुपमा पुरानो सत्तामा निरङ्कुश राजतन्त्र हावी भएकाले त्यसका विरुद्ध सबै शक्तिलाई गोलबन्द गरी संयुक्त प्रहार गर्न यो नाराले महत्वपूर्ण भूमिका खेलेको छ र खेल्नेछ। संविधान सभा र लोकतान्त्रिक गणतन्त्रको नारालाई लागू हुनै नसक्ने विशुद्ध राजनीतिक वा कुटनीतिक चालका रुपमा बुझ्नु वा यसलाई लागू भइछाड्ने वा हरहालतमा बदल्न नसकिने रणनीतिक नाराका रुपमा बुझ्नु दुवै गलत हुन्छ।

अहिलेको ठोस स्थितिमा सामन्ती निरङ्कुश राजतन्त्रका विशुद्ध सबै गणतान्त्रिक शक्तिहरुलाई एकजुट गरेर सङ्घर्षको बलमा अन्तरिम सरकारको गठन गर्ने, संविधान सभाको निर्वाचन गर्ने तथा राज्यसत्तामा व्यापक पुनर्संरचनासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा पार्टी पुरै दृढता, सक्रियता र जिम्मेवारीका साथ अगाडि बढेर मात्र आन्दोलनमा आफ्नो नेतृत्व कायम गर्न सक्दछ। पुरानो सत्तामा हावी हुन पुगेको राजतन्त्रको अन्त्यपछि गृहयुद्धको शान्तिपूर्ण समाधानका लागि यो नाराले अग्रगामी राजनीतिक निकासको भूमिका खेल्न सक्दछ। गृहयुद्धको शान्तिपूर्ण समाधानको ढोका खोल्न सक्ने भएकाले यो नाराले जनसमुदायको परिवर्तन र शान्तिको आकाङ्क्षालाई ठीक ढ¨ले सम्वोधन गर्दछ र प्रकारान्तरले आम विद्रोहको तयारीमा समेत सकारात्मक भूमिका खेल्न सक्दछ। अतः पार्टीले आज एक ढिक्का भएर यो प्रक्रियालाई तार्किक निष्कर्षसम्म पुर्‍याउन सक्रिय पहल लिनुपर्दछ।

(ङ) केन्द्रका तर्फबाट हालै गरिएको तीन महिने युद्धविरामको एक पक्षीय घोषणाले लोकतान्त्रिक राजनीतिक निकास र जनसमुदायको शान्तिको आकाङ्क्षाप्रति पार्टीको प्रतिवद्धता, जिम्मेवारीबोध र सम्वेदनशीलतालाई धेरै उचाइबाट स्थापित गरेको छ। देशमा अग्रगामी राजनीतिक निकाससहितको शान्तिको चाहना राख्ने देशभित्र र बाहिरका राजनीतिक शक्ति, नागरिक समाज, बौद्धिक समुदाय एवं सबै तह र तप्काका जनसमुदायबाट भएको हार्दिक स्वागत र सकारात्मक प्रतिक्रियाले पार्टीलाई अझ जिम्मेवारीपूर्ण ढङ्घले अगाडि बढ्न प्रेरित गरेको छ। सर्वाधिक महत्वपूर्ण कुरा युद्धविरामको घोषणाले ज्ञानेन्द्र शाहीको शान्तिको मुकुण्डोलाई च्यातेर त्यसभित्र रहेको युद्ध पिपाशु, अपराधिक र निरङ्कुश अनुहारलाई आम जनताका साथै विश्व जनसमुदायका अगाडि उदाङ्गो र नाङ्गेझार पारिदिएको छ। संयुक्त राष्ट्र संघको महासभामा आफ्नो त्यो आपराधिक अनुहार देखाउन नसक्ने अवस्थामा पुगेको ज्ञानेन्द्र शाही अहिले कठोर सुरक्षा घेरामा ठाउँ कू–ठाउँ पैदल हिडेर नौटङ्की प्रदर्शन गरी आसपासका जनतालाई मनोरञ्जन गराउने र आफ्ना भाट कारिन्दाहरुलाई “देशमा विदेशीको पैसाले केही नचाहिँदो कुरा गरिएको छ” भन्ने जस्ता बहुलठ्ठीपूर्ण कुरा गर्दै हिंडेको छ।

देशका तमाम प्रवुद्ध वर्ग र आम जनसमुदायबाट तथा संयुक्त राष्ट्र संघदेखि विश्व समुदायसम्मले शान्ति र राजनीतिक निकासको पक्षमा काम गर्न आग्रह गरिरह“दासम्म पनि ज्ञानेन्द्र शाही र उसको निरङ्कुश सामन्ती गिरोह हाम्रो ‘युद्धविरामलाई विश्वास गर्न नसकिने’ भन्नेजस्तो कायरतापूर्ण पाखण्डी प्रचार गर्दै, शाही सेनालाई देशभरि यहीबेला माओवादी कार्यकर्ता र जनताको हत्या गर्ने, गिरफ्तार गर्ने र यातना दिने काममा सक्रिय हुन निर्देशित गरेको छ। त्यसको उद्देश्य हामीलाई तुरुन्तै युद्धविराम भंग गराएर यो सबै षड्यन्त्र थियो भन्ने हल्ला गरी आफ्नो निरङ्कुश र रक्तपिपाशु अनुहारमा पर्दा हाल्ने मुर्खतापूर्ण दुस्साहस लुकेको छ भन्ने कुरा पनि अब आम नेपाली जनता र विश्वका अगाडि उदाङ्गो भइसकेको छ। हाम्रो पार्टी भने दुश्मनको उत्तेजनामा नआइकन अग्रगामी राजनीतिक निकास र शान्तिको जनचाहनाप्रति आफ्नो जिम्मेवारी पुरा गर्न कटिवद्ध रहेको छ।

अहिले राष्ट्रघाती र जनघाती ज्ञानेन्द्र शाहीको सामन्ती गिरोह विदेशी हस्तक्षेप र राष्ट्रवादको मुकुण्डोभित्र लुकेर नेपालको बहुदलीय असली राष्ट्रवाद र लोकतान्त्रिक आन्दोलनका विरुद्ध भयानक नरसंहार मच्चाउने दिशातिर अगाडि बढिरहेको छ। परिस्थिति यति सङ्गीन बन्दैछ कि निकट भविष्यमा राजधानी र शहर बजारमा ठूलो आँधीबेहरीको खतरा दृष्टिगोचर भइसकेको छ। इतिहासले ठूलो करवट लिने समयको घण्टी बजिरहेको छ।

यो स्थितिमा सर्वहारा वर्गको हाम्रो पार्टीले दृढता र लचकताको परकाष्ठासम्म पुगेर आफ्ना कार्यनीतिहरु निश्चित गरी इतिहासमा आफ्नो भूमिका पूरा गर्न सक्नुपर्दछ। यदि साँचो अर्थमा सर्वहारा वर्गले यो आँधीबेहरीमा छिनछिनमा बदलिने परिस्थितिमा जस्तोसुकै जोखिमपूर्ण निर्णय लिन सक्ने हेडक्वार्टर र हेडक्वार्टरको जुनसुकै निर्णयलाई बिना शर्त र दृढतापूर्वक कार्यान्वयन गर्ने पार्टी पङ्क्ति र फौज तयार गर्न सकिएन भने सन्निकट आँधीबेहरीले सबै कुरा चौपट गरी दिन पनि सक्छ। कुनै पनि प्रकारको जडता र आग्रहलाई त्यो आँधीबेहरीले वास्ता गर्ने छैन। वस्तुगत घटनाक्रमको तीव्रतम् विकाससँग आफ्ना चालहरुलाई तुरुन्तातुरुन्तै बदलेर घटनाक्रममाथि आफनो नियन्त्रण कायम गर्न सकिएन भने इतिहासमा पार्टीले आफ्नो औचित्य गुमाउने खतरा उत्पन्न हुन्छ। यतिबेला देशका सबै राजनीतिक शक्ति इतिहासको ठूलो अग्निपरीक्षामा प्रवेश गर्दैछन्। त्यो अग्निपरीक्षामा को खरानी बन्ने हो र को सकुशल पास हुने हो भन्ने कुराको फैसला निकै निर्मम ढङ्घले हुनेछ। अतः यो सङ्गीन घडीमा पार्टीले आफूलाई पुरै तम्तयार राख्न एकअर्कामा दह्रो हातेमालो आवश्यक छ।

(च) साम्राज्यवाद र सर्वहारा क्रान्तिको एक प्रमुख विशेषता सामन्तवाद र साम्राज्यवादका बीचको अपवित्र गठबन्धन हो भन्ने ऐतिहासिक सच्चाइलाई पार्टीले कदापि ओझेलमा पर्न दिन हुन्न र दिने पनि छैन। नारायणहिटी हत्याकाण्डदेखि नै अमेरिकी साम्राज्यवाददेखि भारतीय विस्तारवादसम्मका शासक वर्गले सामन्ती दरबारप्रति बफादार शाही सेनालाई जनताको लोकतान्त्रिक आन्दोलन दबाउन दिएको आर्थिक, राजनीतिक र सामरिक सहयोगले त्यो ऐतिहासिक सच्चाइलाई नेपाली सन्दर्भमा समेत सशक्त ढङ्घले पुष्टि गरेको छ। माघ १९ पछि समेत विशुद्ध शाही सैनिक आतङ्कको भरमा टिकेको निरङ्कुश सामन्ती राजतन्त्रसँग सम्झौताका लागि अमेरिकी साम्राज्यवादले राजनीतिक दलहरुलाई दिइरहेको दवावले त्यो साँठगाँठको गहिराइलाई नै स्पष्ट गर्दछ।

आज संविधान सभाको निर्वाचनका पक्षमा आम जनमत तयार भइसक्दासमेत ७ राजनीतिक दलले संसद पुनस्र्थापनाको सम्झौतावादी नारा परित्याग गर्न नसक्नुका पछाडि विदेशी शक्ति केन्द्रहरुको दवावले काम गरिरहेको कुरा स्पष्ट छ। नेपालको वर्तमान स्थितिमा संसद पुर्नस्थापनाको नाराले राजासँग सम्झौता गर्ने चोर दुलोको मात्र होइन, अन्तिम अवस्थामा आफूलाई बचाउने राजाको हतियारको काम मात्र गर्न सक्दछ। यस प्रकारको स्थिति बनाई राख्नुका पछाडि सिधै संविधान सभा र लोकतान्त्रिक गणतन्त्रमा जा“दा माओवादी क्रान्तिकारीहरुको हातमा नेतृत्व जाने भय साम्राज्यवादी शक्ति र धेरै हदसम्म प्रमुख संसदवादी दलका नेताहरुमा पनि रहेको देखिन्छ। यहाँ उनीहरुले हाम्रो पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेना र हतियारलाई प्रमुख समस्याका रुपमा प्रस्तुत गर्ने गरेका छन्। सामन्तवाद र साम्राज्यवादका नाइकेहरुले जनयुद्ध परित्याग गरी शान्तिपूर्ण राजनीतिमा नआएसम्म अर्को भाषामा हामीले आत्मसमर्पण नगरेसम्म हाम्रो पार्टीलाई विश्वास गर्न नसकिने कुरा गर्नुका पछाडिको रहस्य सजिलै बुझ्न सकिन्छ। तर, पूर्ण प्रजातन्त्र वा गणतन्त्रसम्मको कुरा गर्ने प्रमुख संसदवादी दलका नेताहरुले पनि त्यस्तै कुरा गर्नुलाई विडम्वना मात्र भन्न सकिन्छ।

सामान्यतः २५० वर्षदेखि र विशेषतः विगत ६ दशकदेखि जनताको लोकतान्त्रिक आन्दोलन र उपलब्धिमाथि फाशिवादी बुट बजारेर निरङ्कुश सामन्ती राजतन्त्रलाई रक्षा गर्ने शाही सेनालाई विघटन गर्ने र निशस्त्र पार्ने ऐतिहासिक आवश्यकताप्रति आ“खा चिम्लिनुको अर्थ सामन्तवाद र साम्राज्यवादकै परिक्रमा गरिरहनु मात्र हुन्छ। इतिहासमा कुनै पनि गणतन्त्र राजतन्त्रप्रति बफादार सेनालाई विघटन र परास्त नगरी कहीँ पनि कायम भएको छैन र नेपाल त्यसको अपवाद हुन सक्तैन। हाम्रो पार्टीले देश, जनता र लोकतन्त्रप्रति गहिरो जिम्मेवारीबोधका साथ संयुक्त राष्ट्र संघ वा त्यस्तै भरपर्दो अन्तर्राष्ट्रिय पर्यवेक्षणमा संविधान सभाको निर्वाचन (शान्तिपूर्ण ढङ्घले) भएर आउने परिणामअनुसार सेनाको पूर्नसङ्गठन गर्न तयार रहेको घोषणा गरिरहेका सन्दर्भमा जनमुक्ति सेना शान्ति र लोकतन्त्रको बाधक होइन, साधक हो भन्ने कुरा स्पष्ट छ। पछिल्लो युद्धविरामसम्म आउ“दा जनताको शान्ति र राजनीतिक निकासप्रति पार्टीको सम्वेदनशीलता झन् स्पष्ट भएको छ।

यति हुँदा हुँदै पनि निरङ्कुश राजतन्त्र र संसदवादी दलहरुलाई मिलाउने साम्राज्यवादी कसरत, शाही सेनाकै बलमा सबैलाई मिचेर जाने ज्ञानेन्द्र शाहीको क्रुर सामन्ती हठ तथा प्रमुख संसदवादी नेताहरुको अस्पष्ट, राजनीतिक इच्छा शक्तिविहीन र सम्झौतावादी रवैयाका पृष्ठभूमिमा भुलभुलमै र सजिलै राजतन्त्रको अन्त भएर संविधान सभामार्फत् गणतन्त्र आइहाल्छ भन्ने मनोगतवादी भ्रममा पार्टी कदापि फस्न हुँदैन र फस्ने छैन। जनयुद्धलाई अर्को उचाइमा उठाएर शाही सेनाको ढाड नभाँचेसम्म पार्टीले आफ्नै विचार, नीति, योजना, कार्यक्रम र कमाण्डलाई विकास गरेर सुदृढ एकता हासिल नगरेसम्म र जनदिशाका आधारमा जनसत्ता र जनसम्बन्धलाई सुदृढ नगरेसम्म अरुको आशमा परिवर्तनको अपेक्षा गलत हुन्छ। पार्टी आफ्नो तर्फबाट राजनीतिक निकासका लागि मिलाउन सकिने जति सबै शक्तिलाई मिलाउने कार्यनीतिमा पछि पर्ने छैन।

तर, त्यसो गर्दा आफ्नो स्वतन्त्र क्रान्तिकारी पहललाई अझ दृढतापूर्वक अगाडि बढाउनुपर्ने आफ्नो कर्तव्यबाट भने कहिल्यै विचलित हुने छैन। जनयुद्धको विकासले नै आज अग्रगामी राजनीतिक निकासको सम्भावनालाई प्रवल तुल्याएको यथार्थलाई गम्भिरतापूर्वक आत्मसात गर्दै सिंगाे पार्टी, जनमुक्ति सँना र जनसत्ताहरु आफैलाई सुदृढ गर्दै जनयुद्धलाई अर्को उचाइमा उठाउन केन्द्रित हुनेछन्।

(२०६२ असोजमा रुकुमको चुनवाङमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट पारित प्रस्ताव।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्