१) केही महत्वपूर्ण स्वीकारोक्तिहरु – एकता महाधिवेशनका लागि प्रस्तुत र केन्द्रीय तदर्थ समितिद्वारा पारित यसपटकको ‘राजनीतिक प्रतिवेदन’को एउटा महत्वपूर्ण पक्ष के रहेको छ भने यसले वर्तमान र विगत कम्युनिष्ट पार्टीको चरित्र स्थिति र मुख्य दोषहरुका सम्बन्धमा केही उल्लेखनीय स्वीकारोक्तिहरु पेश गरेको छ। यी स्वीकारोक्तिहरु अत्यन्त महत्वपूर्ण छन्, किनकि यी स्वीकारोक्तिहरु जिम्मेवारीपूर्वक, गम्भीरतापूर्वक र इमान्दारितापूर्वक पेश भएका हुन् भने यही बिन्दुबाट नेपालमा वास्तविक र सही कम्युनिष्ट पार्टीको निर्माणका निम्ति ठीक थालनी हुन सक्छ। ‘राजनीतिक प्रतिवेदन’मा विगत र वर्तमानका कम्युनिष्ट पार्टी, जसमध्ये नेकपा एकता केन्द्र पनि पर्दछ, को चरित्र, स्थिति र मूलभूत दोषहरुबारे जे–जे कुरा स्वीकार गरिएका छन्, ती साँच्चै नै बोध गरिएका हुन् भने र इमान्दारीतापूर्वक भनिएका हुन् भने यहीबाट पार्टीको कायापलट गर्ने पहिलो सही कदम सुरु हुन सम्भव छ।
यी स्वीकारोक्तिहरु दस्तावेजमा विभिन्न सन्दर्भमा विभिन्न ठाउँमा छरिएर रहेका छन्। मैले यहाँ साथीहरुले आफैले दस्तावेजमा दिइएका स्वीकारोक्तिहरुबाट स्वतन्त्र रुपमा निष्कर्ष निकाल्न सजिलो होस् भनेर ती छरपष्ट रुपमा छरिएर रहेका स्वीकारोक्तिहरुलाई एकै ठाउँमा जम्मा गर्ने प्रयत्न गरेको छु। दस्तावेजबाट लामालामा उदाहरणहरु दिनु परेको छ, जुन पढ्नका निम्ति त्यति चाखलाग्दो हुँदैन। यसका निम्ति पहिले नै क्षमा माग्न चाहन्छु।
क) पार्टीको वर्गचरित्रबारे – के पार्टी एकता गरी सकिएपछिको यो एकीकृत पार्टी वास्तवमा सर्वहारा वर्गको अगुवादस्ता हो ? के यो क्रान्तिको नेतृत्व गर्न सक्षम छ ? यसको नेतृत्व र कार्यकर्ताको वैचारिक र नैतिक साँस्कृतिक स्तर कस्तो छ ? यी सवालहरुका बारेमा ‘राजनीतिक प्रतिवेदन’ले स्पष्ट भाषामा यसरी स्वीकारेको छ :
“पार्टी एकता गरेर हामी पक्कै नै बलियो भएका छौं, यो राम्रो कुरा हो। परन्तु, वास्तविकता यो हो कि क्रान्ति गर्न योग्य नेपाली सर्वहारा वर्गको सच्चा राजनीतिक अग्रदलको निर्माण अझै हुन सकिरहेको छैन। कार्यकर्ता र नेताहरुको वैचारिक धरातल, चेतना र संस्कार आवश्यकताभन्दा धेरै तल छ। उनीहरुको मनोगत सिद्धान्तनिष्टा एवं आत्मोत्सर्गको भावना सर्वहारावर्गीय नैतिक आदर्शले अनुप्राणित बन्न अझ धेरै नै बाँकी छ। वर्तमान युग एवं क्रान्तिका गहनतम् कार्यभार सम्हाल्नका लागि पार्टी अझै असक्षम छ।” (हेर्नुहोस्, राजनीतिक प्रतिवेदनको तात्कालिक नीति र राजनीतिक कार्यदिशा” शीर्षक अंशको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण भन्ने बुँदा।)
यो निकै महत्वपूर्ण स्वीकारोक्ति हो। पार्टीको वर्ग चरित्रबारेमा यसमा स्पष्ट रुपमा के स्वीकार गरिएको छ भने पार्टी एकता गरेर यसो बलमा मात्र बृद्धि भएको छ। तर, गुणमा यो सर्वहारावर्गको सच्चा अग्रदल बनिसकेको छैन। अर्थात् यो वास्तविक कम्युनिष्ट पार्टी बन्न सकेको छैन। कम्युनिष्ट पार्टीको मुख्य विशेषता हो सर्वहारावर्गको सबैभन्दा वर्ग सचेत प्रतिनिधिका रुपमा उनीहरुका सम्पूर्ण वर्गसंघर्ष र क्रान्तिको नेतृत्व गर्नु। तर, यो पार्टी न क्रान्तिको नेतृत्व गर्न सक्षम छ, न युग र क्रान्तिका गहनतम् कार्यभार सम्हाल्न। यसको कारण के हो भने यसका नेता र कार्यकर्ताको वैचारिक धरातल, चेतना र नैतिक–सांस्कृतिक स्तर नै सर्वहारा वर्गीय छैन। त्यस्तो बन्न अझै धेरै नै बाँकी छ। यसको मतलव यो पार्टी एकता गरेपछि पनि सर्वहारावर्गको आन्दोलनको नेतृत्व गर्न सक्ने अगुवा होइन, आन्दोलनको पुच्छरकै स्तरमा छ।
ख) पार्टीको नेतृत्वबारे – यो पार्टीको नेतृत्व कस्तो छ ? भन्ने सम्बन्धमा राजनीतिक प्रतिवेदनमा यस्तो स्वीकारोक्ति पेश भएको छ। “क्रान्तिका लागि सुयोग्य एवं चातुर्यिक ढंगले सोच्न सक्ने नेतृत्वको आवश्यकता पर्दछ। क्रान्तिको रथ हाँक्नका लागि क्रान्तिकारी दृष्टिकोणले समृद्ध विवेकी, साहसी र कर्मवीर नेताहरुको खाँचो पर्दछ। आज हाम्रो पार्टीभित्र यस्ता नेताहरुको अभाव छ।” (हेर्नुहोस्, उही दस्तावेजको उही शीर्षक अन्तर्गत संगठनात्मक कामहरु भन्ने बुँदाको नेतृत्व सम्बन्धी प्रश्न भन्ने उपबुँदा।)
राजनीतिक प्रतिवेदनले यसमा के प्रष्टतापूर्वक स्वीकारेको छ भने हामीले क्रान्ति गर्न भनेर पार्टी त बनाएका छौं। तर क्रान्तिको रथ हाँक्नका लागि सुयोग्य र सक्षम नेतृत्व हामीसित छैन। अर्थात् हामीसित औसत औपचारिक नेतृत्वमात्र छ। यो सुयोग्य र सक्षम किन छैन भने योसित कम्युनिष्ट पार्टीको नेतृत्वमा हुनुपर्ने क्रान्तिकारी दृष्टिकोण, मार्क्सवादी विश्व दृष्टिकोण नै छैन। न योसित विवेक, साहस र कर्मवीरताको संयोजन नै छ।
हाम्रो पार्टी लगायत पुरै कम्युनिष्ट आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण, नैतिकता र वर्गचरित्र कस्तो छ ? यस सवालका बारेमा राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति पेश गरेको छ।
“हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्त र बुर्जुवाहरुको भन्दा खासै फरक पाइँदैन। अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ बुर्जुवा मानवतावादीको भन्दा पनि तल रहने गरेको छ। बोलीको ठेगान नहुने, निम्न स्तरको झुटो बोल्ने, अर्थ हिनामिना गर्ने, भ्रष्ट यौन आचरण गर्ने, आफ्ना लागि विशेष सुविधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा र सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने भित्र लुकीछिपी जस्तोसुकै भ्रष्ट काम गर्न पनि पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखा पर्ने गरेका छन्। जबसम्म आन्दोलनको नेतृत्व यस्ता किसिमका घात र व्यक्तिवादी प्रवृत्तिहरुबाट मुक्त हुँदैन, तबसम्म जनतको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने र कुरा ढाँट कुरा र “दिन काट्ने र काल पर्खने” कामसिवाय केही हुँदैन।” हेर्नुहोस्, उही दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु शीर्षकको अंश।)
यस स्वीकारोक्तिमा राजनीतिक प्रतिवेदनले के स्पष्टतापूर्वक स्वीकारेको छ भने एकताकेन्द्र लगायत पुरै नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको जीवनशैली, दैनिक, आचरण, नैतिकता र वर्ग–चरित्र सामन्त र वुर्जुवा नेतृत्वको भन्दा आधारभूत रुपले फरक छैन। कम्युनिष्ट पार्टीहरुमा मानिसहरु नेतृत्वमा त पुगेका छन्। तर, साँस्कृतिक रुपान्तरण विना नै, वर्ग चरित्रको रुपान्तरण विना नै। त्यसैले पार्टीको परिचय–पत्र साथमा नहुने हो भने उनीहरुको जीवनशैली, दैनिक आचरण र वर्ग–चरित्र मात्र हेरेर उनीहरुलाई कम्युनिष्ट भन्ने कुनै आधार भेटिन्नँ। उनीहरु आधारभूत रुपमा सामन्त र वुर्जुवा वर्गका प्रतिनिधिझै नै लाग्छन्। यस्तो नेतृत्वबाट जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाज बदल्ने कुरा असम्भव छ। त्यसैले नेतृत्व यस्तो प्रवृत्ति र वर्ग–चरित्रबाट मुक्त हुनु पर्दछ। यो निकै महत्वपूर्ण स्वीकारोक्ति हो।
ग) पार्टीको विश्वदृष्टिकोण, चिन्तन पद्धति र संगठन सञ्चालनको सिद्धान्तबारेः– के पार्टीको विश्व दृष्टिकोण र चिन्तन पद्धतिका रुपमा मार्क्सवाद–लेनिनवादको व्यवहारमा अभ्यास भइरहेको छ ? के जनवादी–केन्द्रीयताको लेनिनवादी सिद्धान्तका आधारमा पार्टी सञ्चालन भइरहेको छ ? यस सम्बन्धमा दस्तावेजले यस्तो लेखेको छ, “हामीले सिद्धान्ततः मार्क्वाद–लेनिनवाद–माओविचार मानेर पनि, जनयुद्धद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कुरामा राजी भएर पनि, जनवादी केन्द्रीयतालाई बुझ्ने र लागू गर्नेबारे नयाँ ढंगले जानुपर्ने कुरामा सहमत भएर पनि व्यवहारमा त्यस्तो गर्न सकिरहेका छैनौं।” (हेर्नुहोस्, दस्तावेजको तात्कालिन नीति र राजनीतिक कार्यदिशा शीर्षकअन्तर्गत संगठनात्मक कामहरु भन्ने बुँदाको पार्टीको सुदृढीकरणको सवाल भन्ने उपबुँदा।)
यो महत्वपूर्ण स्वीकारोक्तिमा के प्रष्ट रुपमा स्वीकारिएको छ भने पार्टीको विश्व दृष्टिकोण र चिन्तन पद्धतिका रुपमा “मार्क्सवाद–लेनिनवाद–माओविचारलाई सिद्धान्ततः मान्छौं भन्ने कार्य मात्र भएको छ। तर, दैनिक व्यवहारमा त्यो दृष्टिकोण र चिन्तन पद्धतिको आधारमा समस्याको विश्लेषण, समाधान, निर्णयको कार्यान्वयन गर्ने काम भइरहेको छैन। अर्थात् मार्क्सवाद हाम्रो जीवनपद्धति हरेक कामको मार्गदर्शक सिद्धान्त बनेको छैन। व्यवहारमा हाम्रो अरु नै गैरमार्क्सवादी दर्शन अभ्यास भइरहेको छ। त्यस्तै गरी जनवादी केन्द्रीयताको लेनिनवादी संगठन सञ्चालनको सिद्धान्त पनि हामीले व्यवहारमा प्रयोग गर्न सकिरहेका छैनौं। यद्यपि त्यसलाई नयाँ र सही ढंगले बुझ्नुपर्छ भनेर भनिरहेका छौं। अर्थात् हामीले जुन केन्द्रीयता अभ्यास गरिरहेका छौं, त्यो जनवादी छैन र जुन जनवाद अभ्यास गरिरहेछौं, त्यो केन्द्रीयताउन्मुख छैन। हामी यान्त्रिक वा औपचारिक जनवाद र केन्द्रीयताको अभ्यास गरिरहेछौं।
घ) पार्टीको अनुशासनको स्थितिबारेः– पार्टीमा जनवादी केन्द्रीयता अभ्यास भइरहेको छैन भने अनुशासनको पालना कसरी भइरहेछ त ? कस्तो अनुशासन पार्टीमा लागू भइरहेछ ? यसबारे राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति लेखेको छ, “हामी गुटगत स्वार्थबाट माथि उठ्न सकेका छैनौं र हामीले पार्टी अनुशासन होइन, गुटगत अनुशासनको पालना गरिरहेछौं। हामी संस्कारको वृहत कुरा गर्छौं। तर, कम्युनिष्ट संस्कार के हो, अनुशासन के हो त्यसप्रति हाम्रो ध्यान जान्नँ। यदि स्थिति यही नै रह्यो भने समाज बदल्ने कुरा त परै जाओस्, पार्टी एकतालाई नै कसरी धान्ने भन्ने प्रश्न हाम्रा अगाडि गम्भीर प्रश्न बन्न जाने छ र हाम्रो स्थिति देखेर विरोधीहरु हाँस्न थाल्नेछन्।” (हेर्नुहोस्, दस्तावेजको उपरोक्त बुँदा।)
यस स्वीकारोक्तिले के प्रस्ट्याएको छ भने पार्टीमा कम्युनिष्ट पार्टीमा हुनुपर्ने अनुशासन कायमै छैन। पार्टीभित्र गुटहरु छन् र पार्टीमा गुटको अनुशासन हावी भइरहेको छ। अर्थात् पार्टीमा थुप्रै समानान्तर केन्द्रहरु छन्, प्रत्येक गुटहरुले पार्टी अनुशासन होइन, आ–आफ्नो गुटगत केन्द्रको अनुशासन पालना गरिरहेका छन्। यसले गर्दा पार्टी एकता नै कसरी जोगाउने भन्ने गम्भीर समस्या खडा भइरहनेछ। यो स्वीकारोक्तिले अहिलेको एकीकृत पार्टीको अनुशासनको हालत छर्लङ्ग पारेको छ।
ङ) नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबारे– के नेपाल कम्युनिष्ट पार्टीले विगत ४० वर्षको इतिहासमा सर्वहारावर्गको अगुवाको रुपमा नेतृत्वदायी भूमिका खेल्न सकेको छ ? यस सवालका बारेमा राजनीतिक प्रतिवेदनले यस्तो स्वीकारोक्ति पेश गरेको छ, “नेपाली कम्युनिष्ट आन्दोलनको संगठित इतिहास चार दशकभन्दा बढी लामो भइसकेको छ। यो अवस्था निश्चय नै आन्दोलनका थुप्रै सकारात्मक र नकारात्मक अनुभवहरुले भरिएको छ। यहाँ एउटा क्रान्तिकारी कम्युनिष्टका हैसियतले हामीले निर्भिकतापूर्वक सुरुमै के कुरा स्वीकार गर्नैपर्दछ भने यति लामो इतिहास भएर पनि कम्युनिष्ट आन्दोलनले नेपालमा सामान्य राजनीतिक आन्दोलनमा गुणात्मक महत्वको नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको छैन। जनतामा व्यापक रुपले बढ्दै गएको कम्युनिष्ट र क्रान्तिप्रतिको आकर्षणलाई समेटेर एउटा स्वतन्त्र एवं सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न गत कालमा पार्टी सैद्धान्तिक, राजनीतिक, भौतिक एवं नैतिक रुपले असक्षम रहँदै आएको छ।” (हेर्नुहोस्, दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनको आधारभूत समस्याहरु शीर्षकको अंश।)
यो स्वीकारोक्तिले के कुरा प्रष्टतापूर्वक स्वीकारेको छ भने विगत ४० वर्षको इतिहासमा कम्युनिष्ट आन्दोलनले स्वतस्फूर्त राजनीतिक आन्दोलनमा अगुवाको भूमिका खेल्न सैद्धान्तिक, राजनीतिक र नैतिक सबै हिसाबले असक्षम रहेको छ। यसको मतलव के हो भने कम्युनिष्ट पार्टी विगतमा पनि स्वस्फूर्त आन्दोलनको पुच्छर रहँदै आएको छ। यो वास्तविक कम्युनिष्ट पार्टी हुन सकेको छैन।
यद्यपि यो स्वीकारोक्तिमा केही अन्तरविरोधी कुराहरु छन्, जस्तो कम्युनिष्ट आन्दोलनले विगतमा सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न सकेन भनेर पनि भनिएको छ, जनतामा कम्युनिष्टप्रति व्यापक रुपले आकर्षण बढ्दै गएको पनि भनिएको छ। सशक्त आन्दोलन नै सृष्टि नगरेको भए कम्युनिष्टप्रति जनतामा आकर्षण किन बढ्यो ? भन्ने प्रश्न सजिलै उठ्न सक्छ। तथापि विगतमा नेपाली कम्युनिष्ट आन्दोलनले राजनीतिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्न सकेन भन्ने स्वीकारोक्ति निकै महत्वपूर्ण छ। त्यसमा सर्वहारा वर्गको अग्रगामी दस्ताको हैसियतले भन्ने वाक्यांश भने राख्नेका निम्ति छुटेको महशुस हुन्छ।
विगतमा कम्युनिष्ट आन्दोलनको नेतृत्वको वर्गचरित्र, पद्धति र कार्यशैली कस्तो थियो ? यस सम्बन्धमा पनि राजनीतिक प्रतिवेदनले एउटा महत्वपूर्ण स्वीकारोक्ति पेश गरेको छ, “आन्दोलनभित्र सामान्यतः सामन्ती मनोवृत्ति, व्यक्तिवाद, ढुलमुलपन, अराजकतावाद, संकीर्णतावाद, उदारवाद जस्ता नितान्त गैरसर्वहारावादी प्रवृत्तिहरु हावी रहने गरेका छन्।” र, अर्को ठाउँमा “कम्युनिष्ट आन्दोलनभित्र सामन्ती र बुर्जुवा चिन्तन पद्धति र कार्यशैलीको प्रभुत्व रहने गरेको छ।” (हेर्नुहोस्, दस्तावेजको उही अंश।)
यसमा के स्वीकार गरिएको छ भने विगतदेखि हालसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलनमा र त्यसको नेतृत्वमा सर्वहारा वर्ग चरित्र होइन, गैरसर्वहारावादी वर्ग चरित्र वा प्रवृत्तिहरुकै प्रभुत्व रहने गरेको छ। चिन्तन पद्धति र कार्यशैली पनि सर्वहारा वर्गको होइन, अर्थात् मार्क्सवादी–लेनिनवादी चिन्तन पद्धति र कार्यशैली होइन, सामन्त र वुर्जुवावर्गको रहने गरेको छ, गैरमार्क्सवादी रहने गरेको छ। यसको मतलव के भयो भने पार्टी नेतृत्वलाई आफूलाई विचारधारात्मक र सांस्कृतिक रुपले कम्युनिष्टका रुपमा रुपान्तरण गरी सकेका छैन। तर, भन्नलाई चाहिँ आफूलाई कम्युनिष्ट भन्ने गरेको छ।
च) स्वीकारोक्तिले पैदा गरेको निष्कर्षहरुः– यसरी एकता महाधिवेशनका निम्ति प्रस्तुत राजनीतिक प्रतिवेदनले एकसाथ थुप्रै महत्वपूर्ण स्वीकारोक्तिहरु सामुन्ने ल्याएको छ। पार्टी वर्गचरित्र, पार्टीको विश्वदृष्टिकोण, चिन्तन पद्धति र पार्टी सञ्चालनको सिद्धान्त, पार्टीको नेतृत्व पार्टीमा अनुशासनको स्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको विगत इतिहासबारेको राजनीतिक प्रतिवेदनको मूल्याङ्कन नेपालमा वास्तविक कम्युनिष्ट पार्टीको निर्माणको सही थालनीका निम्ति निकै महत्वपूर्ण छन्। यी सबै स्वीकारोक्तिले एकसाथ के निष्कर्ष निकालेका छन् भने नेपालमा अहिलेसम्म पनि सर्वहारा वर्गको वास्तविक अग्रगामी दस्ता अर्थात् कम्युनिष्ट पार्टी निर्माण हुन सकेको छैन। पार्टीको वर्ग चरित्र गैरसर्वहारा वर्गीय छ, अर्थात् यो निम्न पूँजीवादी वा पूँजीवादी छ। किनकि यसले व्यवहारमा अपनाइरहेको विश्व दृष्टिकोण र चिन्तन पद्धति सर्वहारावर्गीय छैन, अर्थात् मार्क्सवादी–लेनिनवादी छैन। यसको संगठन संचालनको सिद्धान्त सर्वहारा वर्गीय छैन, अर्थात् जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तमा आधारित छैन।
पार्टी नेतृत्वको र कार्यकर्ताको वर्गचरित्र, वैचारिक धरातल, नैतिक सास्कृतिक स्तर सर्वहारा वर्गीय छैन। यो सामन्त र पूँजीवादी वर्गको भन्दा आधारभूत रुपले भिन्न छैन। पार्टीमा सर्वहारावर्गीय पार्टीको अनुशासन छैन, यसमा गुटगत अनुशासन छ, जुन निम्न पूँजीवादी र पूँजीवादी पार्टीको मात्र विशेषता हो। पार्टीको विगत ४२ वर्षको इतिहासमा पनि यो सर्वहारा वर्गको अग्रगामी दस्ताको भूमिका निभाउन असमर्थ रहेको छ। यो स्वस्फूर्त आन्दोलनको पुच्छर रहेको छ। राजनीतिक प्रतिवेदनले पेश गरेको स्वीकारोक्तिहरुको मूख्य सार नै हो। प्रतिवेदनले थुप्रै स्वीकारोक्तिहरु प्रस्तुत गरेको छ। तीमध्ये कुनै एउटा स्वीकारोक्ति मात्र पनि नेपालमा वास्तविक सर्वहारावर्गको अग्रगामी दल अर्थात् कम्युनिष्ट पार्टी निर्माण भइसकेको छैन भन्ने निष्कर्ष पैदा गर्न काफी छ।
तर, राजनीतिक प्रतिवेदनको कुन स्वीकारोक्तिसँग म सहमत छैन भने विगतमा कम्युनिष्ट आन्दोलनले कुनै स्वतन्त्र र सशक्त क्रान्तिकारी आन्दोलन सृष्टि गर्न सकेन। यो भनाइ यथार्थमा आधारित छैन। विगतमा पार्टीले पूर्वी तराईदेखि लिएर पश्चिम तराईसम्म, पूर्वी पहाडदेखि लिएर पश्चिमी पहाडसम्म र काठमाडौं उपत्यकामा पनि थुप्रै स्वतन्त्र र सशक्त क्रान्तिकारी वर्गसंघर्ष सृष्टि गरेको हो। राष्ट्रिय स्वाधीनता र जनवादका निम्ति क्रान्तिकारी आन्दोलन पनि सिर्जना गरेको हो। नत्र क्रन्ति र कम्युनिष्टप्रति जनतामा व्यापक आकर्षण बढ्नुको वस्तुगत कारण के त ? जस्तो कि दस्तावेजले पनि स्वीकारेको छ। तात्कालिन पार्टीले गर्न नसकेको त के मात्रै हो भने आफैले सृष्टि गरेका वर्गसंघर्षलाई झनझन उचाइमा र पूर्णतातिर कसरी लैजाने ? एक ठाउँको वर्गसंघर्षलाई अरु ठाउँसित कसरी संयोजन गर्ने ? एउटा प्रकारको वर्गसंघर्षलाई अर्कोसित कसरी संयोजित गर्ने ?सर्वहारा वर्गको अगुवाको हैसियतले गर्नुपर्ने यो काम तात्कालिक पार्टीले गर्न सकेन। अर्थात् मजदुर र किसानहरुको वर्गसंघर्षसित मार्क्सवादको प्रयोेग संयोेजन गराउन पार्टी असमर्थ भयो।
नेतृत्वको विचारधारात्मक अस्पष्टता वा दिशाहिनताको कारणले नै यस्तो भएको थियो। फलस्वरुप ठूला ठूला वर्गसंघर्षहरु पनि आर्थिक संघर्षकै स्तरमा सीमित भए। सशक्त राजनीतिक आन्दोलनहरु पनि दिशाहीनतामा टुंगिए। त्यसैले, स्वतन्त्र र सशक्त क्रान्तिकारी आन्दोलन नै सृष्टि गर्न सकेन, वास्तविकता यो होइन। सर्वहारा वर्गको अगुवाको हैसियतले ती आन्दोलनको झन्झन् पूर्णताउन्मुख अगुवाइ हुन सकेन। वास्तविकता यो हो क्रान्तिकारी आन्दोलन सृष्टि गर्नु निम्न पूँजीवादी र पूँजीवादीहरुबाट पनि सम्भव छ। तीनको सफलता उन्मुख र पूर्णताउन्मुख अगुवाइ यो सर्वहारावर्गको अगुवाइ दस्ताको विशेषता हो, कमसेकम आजको युगमा।
२) सर्वहारावर्गको वास्तविकता अगुवादस्ता बन्न नसक्नुका मूलभूत कारणहरुः– के कारणले नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट पार्टी क्रान्तिको नेतृत्व गर्न समर्थ सर्वहारावर्गको वास्तविकता अगुवादस्ता हुन सकेन त ? कुनकुन मूलभूत कारणले नेपालमा वास्तविक कम्युनिष्ट पार्टीको निर्माण हुन सकेन त ? कम्युनिष्ट आन्दोलनमा यी नकारात्मक अनुभवका पछाडि मुख्य रुपले तीन वस्तुगत कारणले काम गरेको राजनीतिक प्रतिवेदनको विश्लेषण छ। ती तीन कारणहरुमध्ये प्रत्येकको एकएक गरी अध्ययन गरौं।
क) प्रतिवेदनले पेश गरेको पहिलो कारण :– नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक विकासको अत्यन्त पीछडिएको अवस्था र त्यसबाट उत्पन्न हुने गैरसर्वहारावादी प्रवृत्तिहरुको सामान्यतः कम्युनिष्ट आन्दोलनमा र विशेष रुपले नेतृत्वमा परेको जबर्जस्त प्रभाव। यसको फलस्वरुप आन्दोलनभित्र सामान्यतः सामन्ती मनोवृत्ति, व्यक्तिवाद, ढुलमुलपन, अराजकतावाद, संकीर्णतावाद, उदारवाद जस्ता नितान्त गैरसर्वहारावादी प्रवृत्तिहरु हावी रहने गरेका छन्, कम्युनिष्ट आन्दोलनभित्र सामन्ती र बुर्जुवा चिन्तन पद्धति र कार्यशैलीको प्रभूत्व रहने गरेको छ। नेपालमा ठूलो मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधारका कारणले कम्युनिष्ट आन्दोलनमा कहिले बायाँ अति कहिले दायाँ अति समेत स्वाभाविक रुपमा देखा पर्दै आएको पनि छ।” (हेर्नुहोस्, दस्तावेजको नेपालको कम्युनिष्ट आन्दोलनका आधारभूत समस्याहरु शीर्षकको अंश।)
ख) के आर्थिक अवस्था नै एकमात्र निर्णायक कारण हो भन्ने धारणा मार्क्सवादी धारणा हो ? :– हामी ऐतिहासिक भौतिकवादका पक्षधर हौं। अन्ततः सामाजिक अस्तित्वले नै सामाजिक चेतना पैदा गर्छ। यो सही मान्यता हो। मार्क्सवादीले विचारको सिर्जनाभन्दा पहिले भौतिक परिस्थितिलाई नै प्राथमिक ठान्दछ। यसले आर्थिक अवस्थालाई ठूलो र सबैभन्दा बढी महत्व दिन्छ। तर, यसले त्यो महत्व र जोड सधै दिँदैन र सबै अवस्थामा दिँदैन। यहीनेर त मार्क्सवाद आर्थिक निर्धारणवादभन्दा आधारभूत रुपले फरक छ। आर्थिक अवस्था नै एक मात्र कारण हो, सक्रिय तत्व हो, बाँकी सबै वस्तु त्यसका निस्क्रिय परिणाम मात्रै हुन्, वास्तविक जीवनको वास्तविकता पनि यो होइन र माक्र्सवादको मान्यता पनि यो होइन।
तर राजनीतिक प्रतिवेदनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेष रुपले नेतृत्वमा गैरसर्वहारावादी प्रवृत्ति प्रदा हुनु, बायाँ अति र दायाँ अति पैदा हुनु, वुर्जुवा चिन्तन पद्धत्ति र कार्यशैलीको प्रभुत्व रहनुको मुल कारण नेपालको आर्थिक, राजनीतिक र सांस्कृतिक विकासको अत्यन्त पीछडिएको अवस्थालाई ठूलो मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधारलाई ठह्याएको छ। यदि वास्तविकता यो हो भने त जबसम्म नेपालको अर्थ व्यवस्था, राजनीतिक र सांस्कृतिक यस्तै अत्यन्त पीछडिएको रहन्छ, तबसम्म पार्टी र यसको नेतृत्वमा स्वभावतः गैरसर्वहारा वर्गीय प्रवृत्तिहरुको प्रभुत्व रही नै रहने भयो। विश्व दृष्टिकोण र चिन्तन पद्धत्ति गैरसर्वहारावर्गीय अर्थात् गैरमार्क्सवादी रही नै रहने भयो। पार्टी सञ्चालनको सिद्धान्त गैरसर्वहारावर्गीय तथा जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित नभएको भई नै रहने भयो र स्वभावतः पार्टीमा कहिले दायाँ अति र कहिले बायाँ अति पैदा भई नै रहने भयो। जबसम्म अर्थ व्यवस्था, राजनीतिक र सांस्कृतिक आफसेआफ उन्नत हुँदैन, पार्टीमा र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्गचरित्र खत्तम गर्ने प्रयत्न गर्नु व्यर्थ, अनावश्यक र असम्भव हुने भयो।
यसको मतलव पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्गचरित्र खत्तम गर्न पहिले देशको अर्थ व्यवस्था, राजनीति र संस्कृतिमा नै आमूल परिवर्तन गर्नुपर्ने भयो। अर्थात् पहिले कम्युनिष्ट पार्टी विना नै क्रान्ति गरेर देशको अर्थ व्यवस्था, राजनीति र संस्कृति अत्यन्त उन्नत पार्नुपर्ने भयो, अनि मात्र पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्तिहरु, दृष्टिकोण, चिन्तन पद्धत्ति र वर्गचरित्रको प्रभुत्व हुने मुहान सुक्ने भयो। पार्टी र नेतृत्व बल्ल सर्वहारावर्गीय हुन सक्ने भयो। यसको तात्पर्य, जुन जुन मुलुकमा अर्थ व्यवस्था, राजनीति र संस्कृति अत्यन्त उन्नत अवस्थामा छ, त्यहाँ स्वतः पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति दृष्टिकोण, चिन्तन पद्धति र वर्ग चरित्रको प्रभुत्व नहुने भयो। देशमा पिछडिएको अर्थतन्त्र, राजनीतिक र संस्कृति पार्टी र नेतृत्वमा स्वभावतः गैरसर्वहारावर्गीय प्रवृत्ति। देशमा उन्नत अर्थतन्त्र, राजनीतिक र संस्कृति पार्टी र नेतृत्वमा स्वभावतः सर्वहारावर्गीय प्रवृत्तिको सिर्जना। राजनीतिक प्रतिवेदनले विगतमा र वर्तमानमा पार्टी सर्वहारा वर्गको वास्तविक अगुवादस्ताका रुपमा निर्माण हुन नसक्नुको पछाडिको एउटा मूलभूत वस्तुगत कारणको विश्लेषण यसरी गरेको छ। देशको अर्थ व्यवस्था नै एउटै मात्र कारण हो, सक्रिय तत्व हो, अरु त्यसका निस्क्रिय परिणाम हुन्। प्रतिवेदनको विश्लेषण मूल आधार यही छ। यही सोचलाई मार्क्सवादले आर्थिक निर्धारणवाद भनेको हो।
आर्थिक तत्व नै एक मात्र कारक तत्व हुने भए र त्यसैका कारणले पार्टीमा र नेतृत्वमा गैरसर्वहारावादी प्रवृत्तिले प्रभुत्व जमाउने भए जापान, अमेरिका, बेलायत, जर्मनी अर्थतन्त्र, राजनीति र संस्कृतिमा निकै उन्नत मुलुकहरु थिए। किन त्यहाँ गैरसर्वहारा प्रवृत्तिहरुबाट मुक्त सर्वहारा वर्गको वास्तविक अगुवादस्ता निर्माण गर्न सफलता प्राप्त भएन ? तर त्यतिखेरै तीभन्दा अर्थतन्त्र, राजनीतिक र संस्कृतिमा निकै पीछडिएको मुलुक चीन र सोभियत संघमा माओ र लेनिनको नेतृत्वमा किन सर्वहारा वर्गको वास्तविक अगुवादस्ता निर्माण गर्न सम्भव भयो ? गैरसर्वहारा प्रवृत्तिहरुबाट मुक्त हुन, सही विश्व दृष्टिकोण चिन्तन पद्धति अपनाउन, सही संगठन सञ्चालनको सिद्धान्त अभ्यास गर्न किन सम्भव भयो ? सर्वहारा वर्गको अगुवाइमा क्रान्ति गर्न किन सम्भव भयो ? आर्थिक निर्धारणवादमा चिन्तनलाई आधारित गरेर यी प्रश्नहरुको उत्तर भेटाउन सम्भव छैन।
अर्थतन्त्र, राजनीतिक र संस्कृतिमा अत्यन्त पछौटे हुनुका कारणले नै पार्टीमा र नेतृत्वमा गैरसर्वहारा प्रवृत्ति, वर्गचरित्र, विश्व दृष्टिकोण र प्रवृत्तिको प्रभुत्व हुन जाने भए कुनै पनि त्यस्तो पछौटे मुलुकमा सर्वहारावर्गको वास्तविक अगुवा दल निर्माण गर्नु असम्भव छ। निर्माण गर्न प्रयत्न गर्नु व्यर्थ छ। किनकि निर्माण गरी नै हालियो भने पनि त्यहाँ त्यो निष्कर्ष मताविक, स्वभावतः र अवश्यभावी रुपमा गैर सर्वहारा प्रवृत्तिले प्रभुत्व जमाइहाल्छ। गैरसर्वहारा वर्ग चरित्र, विश्व दृष्टिकोण र पद्धति हावी भइहाल्छ। त्यसैले, त्यस्तो मुलुकको निम्ति एउटै उपाय बाँकी रहन्छ, पहिलो सर्वहारा वर्गको वास्तविक अगुवा दल विना नै क्रान्ति। अनि मात्र उन्नत अर्थतन्त्र, राजनीति र संस्कृति। त्यसपछि मात्र गैरसर्वहारा प्रवृत्तिबाट मुक्त कम्युनिष्ट पार्टी।
कति अनौठो यान्त्रिक र गलत निष्कर्ष निक्लिन्छ, यसबाट १. यो निष्कर्षले कुनै पनि पीछडिएको मुलुकमा सर्वहारावर्गको वास्तविक अगुवादस्ताको अस्तित्वको सम्भावनालाई नै अस्वीकार र निषेध गर्ने सिद्धान्त निक्लिन्छ। यो निष्कर्षले हाम्रोजस्तो पछौटे मुलुकमा कम्युनिष्ट पार्टीमा र यसको नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, विश्व दृष्टिकोण, चिन्तन पद्धत्ति र वर्ग–चरित्रको प्रभुत्व हुनुलाई यस्तो हुनु त स्वभाविकै छ नि। भनेर सहज रुपमा स्वीकार गर्ने विषय वस्तु बनाइदिन्छ। यो निष्कर्षले गैरसर्वहारा प्रवृत्तिहरु खत्तम गर्न सचेत संघर्ष र प्रयत्नले खेल्ने र खेल्न सक्ने प्रभावकारी भूमिकालाई न्यून मूल्याङ्कन गर्छ।
तर ऐतिहासिक भौतिकवादको समस्या विश्लेषण गर्ने पद्धत्ति यो होइन। ऐतिहासिक भौतिकवादले आर्थिक अवस्थालाई नै एकमात्र निर्णयक तत्व ठान्दैन, जस्तो राजनीतिक प्रतिवेदनले ठानेको छ। यस सम्बन्धमा एंगेल्सको निम्न भनाइ मननीय छ, “इतिहासको भौतिकवादी धारणा मुताविक इतिहासको अन्तिम विश्लेषणमा निर्णायक तत्व वास्तविक जीवनको उत्पादन र पुनरोत्पादन हो। योभन्दा बढी न मार्क्सले न मैले नै कहिल्यै भनेको छु। त्यसैले कसैले यसलाई तोडमरोड गरेर आर्थिक तत्व नै एक मात्र निर्णायक तत्व हो भन्छ भने उसले हाम्रो प्रस्थापनालाई निरर्थक, अमुर्त र खोक्रो शब्दावली मात्र बनाउँछ। आर्थिक परिस्थिति जग हो। तर उपरिढाँचाको विविध तत्वले अर्थात् वर्गसंघर्षको राजनीतिक रुपले जित्ने वर्गद्धारा संघर्षमा सफलता प्राप्त गरेपछि स्थापित राज्य प्रणाली र त्यसको परिणाम, कानूनी रुप र यसको साथसाथै यी वास्तविक संघर्षहरुले त्यसमा भाग लिने सहभागीहरुका मस्तिष्कमा पार्ने प्रतिविम्ब, राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्त, धार्मिक मत र जडसुत्रवादी पद्धतिका रुपमा तिनको विकासले ऐतिहासिक संघर्षको क्रममा आफ्नो प्रभाव पार्दछ र थुप्रै ठाउँमा त संघर्षको रुपले निर्धारणमा यसैको बजन बढी हुन्छ। यी सबै तत्वले एक अर्कोलाई प्रभावित पार्ने क्रिया चल्दछ।” (हेर्नुहोस्, मार्क्स–एंगेल्सको साहित्य र कला, हिन्दी, प्रगति प्रकाशन, मस्को, १८८१, पृष्ठ ६७।)
यहाँ एंगेल्स इतिहासको अन्तिम विश्लेषणमा आर्थिक अवस्था नै निर्णायक तत्व हुन्छ भन्ने मार्क्स एंगेल्सको प्रस्थापनालाई तोडमरोड गरेर हरेक परिस्थितिमा आर्थिक अवस्था नै एकमात्र निर्णायक तत्व हुन्छ भनेर अर्थ लगाउनेहरु विरुद्ध बोल्दै हुनुहुन्थ्यो। वहाँ आर्थिक तत्वलाई अन्ततः निर्णायक तत्वका रुपमा सबैभन्दा बढी र प्रमुख जोड दिने पक्षमा हुनुहुन्थ्यो। तर हरेक परिस्थितिमा एकमात्र निर्णायक तत्वका रुपमा होइन। उहाँ सचेतन पक्षले पनि आर्थिक तत्वलाई प्रभावित पार्ने र कतिपय परिस्थितिमा त संघर्षको रुप निर्धारणमा उसको बजन बढी हुने कुरा बताउँदै हुनुहुन्थ्यो।
एंगेल्सले यसै सवालमा अरु प्रष्ट पार्दै भन्नुभएको छ, “राजनीति, न्याय, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमै आधारित हुन्छ। तर, यी सबैले एक अर्कामा आर्थिक आधारलाई पनि प्रभावित पार्दछन्। कुरा यो होइन कि आर्थिक परिस्थिति नै कारण हो, एकमात्र सक्रिय तत्व हो, जवकि बाँकी सबै कुराहरु निस्क्रिय परिणाम मात्रै हुन। बरु कुरा के हो भने आर्थिक अनिवार्यताको आधारमा जुन अन्तिम विश्लेषणमा सधै प्रभावशाली हुन्छ, एकले अर्कोलाई प्रभावित पार्ने अन्योक्रिया चल्दछ।” (मार्क्स–एंगेल्सको उही संकलित रचना संग्रह साहित्य र कला, पृष्ठ ६८।)
एंगेल्सले यस भनाइमा पनि आर्थिक आधारलाई उचित महत्व दिनुभएको छ र त्यसलाई कुनै पनि समाजको जग मान्नुभएको छ। समाजिक चेतनाको कुनै पनि पक्षको विकास, अन्तिम विश्लेषण आर्थिक विकासमै आधारित हुन्छ भन्नुभएको छ। तर आर्थिक परिस्थिति नै सामाजिक चेतनाको विकासको एक मात्र कारण हो, एक मात्र सक्रिय तत्व हो, बाँकी सबै कुराहरु आर्थिक परिस्थितिकै निस्क्रिय परिणामहरु मात्रै हुन् भन्ने चिन्तनको धुवाँधार विरोध गर्नुभएको छ। इतिहासको भौतिकवादी धारणाको उहाँको व्याख्या के हो भने सामाजिक चेतना अन्तिम विश्लेषणमा समाजको आर्थिक अवस्थाबाटै पैदा र निर्धारित हुन्छ। तर, समाजिक चेतना, अर्थात् राजनीति, न्याय, दर्शन, धर्म, साहित्य कला आदि एकचोटी पैदा भएपछि यसको आफ्नै सापेक्षिक स्वतन्त्रता पनि हुन्छ, यसले समाजको जग अर्थात् आर्थिक आधारलाई पनि प्रभावित पार्न सक्छ र यसको आफ्नै विकासक्रम पनि हुन सक्छ।
ग) के पछ्यौटे अर्थतन्त्र भएको मुलुकले उन्नत दर्शन ग्रहण गरेर वास्तविक कम्युनिष्ट पार्टी निर्माण गर्न सक्छ ? :– त्यसैले प्रत्येक युगको दर्शनले पहिलेको दर्शनबाट प्राप्त विचार सामाग्रीलाई खुराकको रुपमा लिएर, पूर्वमान्यताको रुपमा लिएर, त्यसैलाई प्रस्थान विन्दु बनाउँदै, दोष हराउँदै त्यसको थप विकास गर्न सक्दछ। एंगेल्स भन्ने गर्नुहुन्थ्यो, “प्रत्येक युगोदर्शन, किनकि त्यो श्रम विभाजनको निश्चित क्षेत्र हो, त्यसैले पहिलेको दर्शनबाट प्राप्त केही चिन्तन सामाग्रीलाई पूर्व मान्यताको रुपमा ग्रहण गर्छ र त्यही त्यसको प्रस्थान विन्दु हो। यही नै कारण हो, जसले गर्दा आर्थिक दृष्टिले पछ्यौटे देशले पनि दर्शनमा अगुवाइ गर्न सक्छ, जस्तो कि १८ औं शताब्दीमा बेलायतको दर्शनमा नै आफ्नो दर्शन आधारित गर्ने फ्रान्सले बेलायतको मुकाबिलामा अगुवाइ गर्यो र जर्मंनीले यी दुवैको मुकाबिला गर्यो। (हेर्नुहोस्, उही पुस्तक, पृष्ठ ७०।)
यही वास्तविकता हो, जसको कारणले अर्थतन्त्रमा निकै पछ्यौटे चीनले माओको अगुवाइमा मार्क्सवादी दर्शन ग्रहण गर्न सक्यो र त्यसलाई चीनको विशिष्ट परिस्थितिमा लागू गरेर क्रान्ति सम्पन्न गर्न सक्यो। तर, अर्थतन्त्रमा निकै उन्नत जापान, अमेरिका, जर्मनीले त्यही कुरा गर्न सकेन। यही कारण हो, जसको कारणले अर्थतन्त्रमा निकै पछ्यौटे रुसले लेनिनको अगुवाइमा मार्क्सवादी दर्शनको त्यति ठूलो विकास गर्न सक्यो र क्रान्ति सम्पन्न गरेर समाजवाद स्थापित गर्न सक्यो। तर उन्नत जर्मनीले त्यही कुरा गर्न सकेन।
त्यसैले राजनीतिक प्रतिवेदनले गरेको दार्शनिक गल्ती के हो भने त्यसले आर्थिक परिस्थितिले नै सामाजिक चेतना पैदा गर्छ भन्ने ऐतिहासिक भौतिकवादको निष्कर्षलाई यान्त्रिक ढंगले बुझ्यो त्यसले हरेक परिस्थितिमा आर्थिक अवस्थालाई नै एक मात्र निर्णायक, एकमात्र सक्रिय तत्वका रुपमा बुझ्यो र अर्थ्यायो। त्यसैले त्यसले नेपाली कम्युनिष्ट आन्दोलनले मार्क्सवादी दर्शन सही तवरले नपक्रनु, व्यवहारमा लागू गर्न नसक्नुको जरो कारण पनि देशको पछ्यौटे आर्थिक अवस्थामै खोज्यो। त्यसैले चेतना पक्ष, सचेत संघर्ष, प्रयत्नको पक्ष र त्यसले खेल्ने प्रभावकारी भूमिकालाई बिल्कुलै उपेक्षा वा न्यून मूल्याङ्कन गर्यो।
कम्युनिष्ट पार्टी निर्माण गर्नु भनेको सर्वहारा वर्गको सबैभन्दा अग्रगामी दल निर्माण गर्नु हो। त्यो ज्ञान र चेतनामा पनि अग्रगामी हो, नैतिकता र संस्कृतिमा पनि अग्रगामी हो, संगठन क्षमता र कार्यशैलीमा पनि अग्रगामी हो। त्यस्तो अग्रगामी दल गठन गर्नको लागि हामीले पूर्ववर्ती दर्शन, ज्ञान र अनुभवबाट, नीतिशास्त्र र संस्कृतिबाट के र कति चिन्तन सामग्री ग्रहण गर्याैं, द्वन्दात्मक तवरले त्यो ग्रहण गर्नकोलागि कति र कसरी सचेत संघर्ष प्रयत्न गर्यौं र कुन प्रक्रियाबाट त्यस्तो सबैभन्दा अग्रगामी दल निर्माण गर्यौं। यिनै सवालहरुमा त्यो वास्तविक अग्रगामी दल हुन्छ कि हुँदैन मुल रुपमा निर्भर गर्छ। देश पछ्यौटे अर्थतन्त्र भएको हुनुले यहाँको आम सामाजिक चेतनाको स्तरलाई पनि निधार्रण त गर्छ नै र आम सामाजिक चेतना पछ्यौटे हुन्छ नै। तर कम्युनिष्ट पार्टीको निर्माण सामाजका तिनै औसत पछ्यौटे चेतना भएका मानिसले गर्ने होइन। तिनीहरुमध्ये पनि सर्वहारावर्गको वर्ग संघर्षप्रति सबैभन्दा संवेदनशील र त्यसैबाट आएका सामाजका सबैभन्दा लडाकु, सचेत र प्रतिभाशाली मानिसहरुले नै यसको निर्माणका निम्ति पहल गर्ने हो।
देशको अर्थतन्त्र पछ्यौटे हुँदाहुँदै पनि संसारको सबैभन्दा उन्नत दर्शन, उन्नत नैतिकता र संस्कृति, उन्नत अनुभव र कार्यशैली द्वन्दात्मक तवरले ग्रहण वा बोध गर्नका लागि सही प्रक्रियाबाट सतत र सचेत संघर्ष र प्रयत्न गछौँ भने हाम्रो जस्तो पछौँटे मुलुकमा पनि सर्वहारावर्गको वास्तविक अग्रगामी दल निर्माण गर्न सम्भव छ, मार्क्सवादी दर्शनको विकास गर्न सम्भव छ। हो, अर्थतन्त्र, राजनीति र संस्कृति उन्नत भएको मुलुकमा जस्तो रुस र चीनमा भयो। यो प्रक्रिया यहाँभन्दा सरल कम कठिनाइपूर्ण हुन सक्दछ। यहाँ बढी कठिनाइपूर्ण र कष्टप्रद हुन सक्दछ। तर, असम्भव होइन। पूर्ववर्ती सबैभन्दा उन्नत दर्शन, नैतिकता, संस्कृति कार्यशैलीलाई ग्रहन गर्न सही प्रक्रियाबाट सतर्क र सचेत संघर्ष र प्रयत्न भएन भने अर्थतन्त्रमा निकै उन्नत मुलुकमा पनि सर्वहारा वर्गको वास्तविक अग्रगामी दल निर्माण नहुन सक्दछ। जस्तो जर्मनी, अमेरिका, बेलायतमा भएन।
तर, राजनीतिक प्रतिवेदनले यो सवाललाई यसरी बुझेन। त्यसले सर्वहारा वर्गको अग्रगामी दलको निर्माणमा सही प्रक्रिया, सचेत संघर्ष र प्रयत्नको महत्वपूर्ण र प्रभावकारी भूमिकालाई पूरै नजरअन्दाज गर्यो। त्यसैले यसले पार्टी र नेतृत्वमा गैरसर्वहारावर्गीय प्रवृत्ति, दृष्टिकोण, पद्धत्ति र वर्ग चरित्रको प्रभुत्व रहनुको मुल कारण पार्टी निर्माणको विद्यमान गलत प्रक्रिया, गलत गैरसर्वहारावर्गीय दृष्टिकोण, पद्धत्ति, वर्ग चरित्र विरुद्ध सही र सतत विचारधारात्मक संघर्षको अभाव हो भनेर बुझेन। यसले जरो कारण पनि राजनीतिक प्रतिवेदनले देशको पिछडिएको अर्थतन्त्रमा नै खोज्यो किनकि अर्थतन्त्रले नै हरेक परिस्थितिमा हरेक कुराको निर्धारण गर्दछ भन्ने त्यसको दार्शनिक ठम्याइ थियो। यही चिन्तनलाई एंगेल्सले धुवाँधार विरोध गर्नुभएको थियो र मार्क्सवादमा आर्थिक निर्धारणवादको संज्ञा दिइएको थियो।
घ) गैरसर्वहारा प्रवृत्ति उन्नत पुँजीवादी र समाजवादी मुलुकको पार्टीमा प्रभुत्वशाली हुन सक्दैन ? :– राजनीतिक प्रतिवेदनले अर्थतन्त्र, राजनीति र संस्कृतिको अत्यन्त पिछडिएको अवस्थाबाट गैरसर्वहारावादी प्रवृत्ति उन्नत हुने र कम्युनिष्ट आन्दोलन र नेतृत्वमा हावी हुने प्रस्तावना अघि सारेको छ। यो प्रस्थापना सही छैन। यदि त्यस्तो हुने भए अर्थतन्त्र, राजनीति र संस्कृतिका क्षेत्रमा समाजवादी आन्दोलन चलाइसकिएको चीन र सोभियत संघ जस्तो मुलुकको पार्टी र त्यसको नेतृत्वमा त गैरसर्वहारावादी प्रवृत्ति उत्पन्न नै हुन सम्भव थिएन। तर, त्यो त्यहाँ पनि किन हावी भयो र किन वर्गहरु नै उन्मुलन गरिएको समाजवादी अर्थ व्यवस्था, राजनीति र संस्कृति भएको पार्टीमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमायो ?
पार्टीमा र नेतृत्वमा गैरसर्वहारा प्रवृत्तिहरुले प्रभुत्व जमाउनुको कारणलाई मार्क्सवादीहरु यसरी यान्त्रिक ढंगबाट आर्थिक निर्धारणवादको आधारमा विश्लेषण गर्दैनन्। अर्थतन्त्र उन्नत हुँदैमा विचारधारा आफसेआफ उन्नत हुन्छ, गैरसर्वहारा प्रवृत्ति आफसेआफ हट्छ। मार्क्सवादीहरुको विश्लेषण यस्तो यान्त्रिक हुने गर्दैन। यदि अर्थव्यवस्थाको विकासको गतिको सापेक्षतामा उन्नत विचारधारात्मक स्तर हासिल गर्न पार्टीमा विचारधारात्मक संघर्ष चलाइएन, गैरसर्वहारा प्रवृत्तिका नयाँ–नयाँ रुपहरु विरुद्ध सतत र सचेत संघर्ष चलाइएन भने अत्यन्त उन्नत समाजवादी मुलुकको कम्युनिष्ट पार्टीमा पनि गैरसर्वहारा प्रवृत्तिले प्रभुतव जमाउन सक्छ। पूँजीवादी मुलुकको त कुरै छोडिदिउँ। चीन र सोभियत संघको पार्टी र नेतृत्वमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमाउनु यसको सबैभन्दा ज्वलन्त उदाहरण हो।
एकदमै उन्नत अर्थ व्यवस्था भएको बेलायतमा मजदुर नै मजदुरहरु भरिएको पार्टीका रुपमा लेबर पार्टी किन गैरसर्वहारा प्रवृत्तिको ज्वलन्त नमूना बन्यो र विश्वसामु उदाहरणका रुपमा खडा छ। त्यसैले कम्युनिष्ट पार्टीमा गैरसर्वहारा प्रवृत्तिले प्रभुत्व जमाउनुको मुल कारण पछिडिएको अर्थ व्यवस्था होइन। उन्नत समाजवादी मुलुक भए पनि यो घटना घट्न सक्छ। मुलकारण त पार्टी निर्माण र सञ्चालनको सही प्रक्रिया, सतत विचारधारात्मक संघर्ष र प्रयत्नको अभाव हो, जसको विस्तृत चर्चा हामी तल उपयुक्त ठाउँमा गर्ने छौँ।
यही कुरा दायाँ अति र बायाँ अतिका सम्बन्धमा पनि लागू हुन्छ। राजनीतिक प्रतिवेदनले भने दायाँ अति र बायाँ अति पार्टीमा देखा पर्नुको मुल कुरालाई ठूला मात्रामा फैलिएको निम्न पूँजीवादी आर्थिक आधार हो भनेर यसरी पेश गरेको छ, मानौँ यहाँ विकसित पूँजीवादी वा समाजवादी आर्थिक आधार भएको भए यो समस्या पार्टीमा देखा नै पर्दैन्थ्यो।
यसरी राजनीतिक प्रतिवेदनले पेश गरेको पहिलो कारण दार्शनिक रुपमा नै गलत छ। यो ऐतिहासिक भौतिकवादको यान्त्रिक समझदारीका कारणले पैदा भएको गल्ती हो।
विश्लेषणको यो पद्धतिले पछौटे मुलुकमा सर्वहारावर्गीय पार्टीका नाममा गैरसर्वहारावर्गीय पार्टी बन्नुलाई सहज स्वीकार्य मात्र बनाउँदैन, गैरसर्वहारा प्रवृत्तिसित विजय प्राप्त गर्दै सर्वहारा वर्गको वास्तविक अगुवा दस्ता नै निर्माण हुनु असम्भव छ, त्यसका लागि प्रयत्न गर्नु नै बेकार छ भन्ने सैद्धान्तिक निष्कर्षमा पुर्याउँछ। यस्तो निष्कर्षमा पुर्याउने दस्तावेजको नियत नहुन सक्छ। तर, यस्तो डरलाग्दो सैद्धान्तिक भड्कावतर्फ यो विश्लेषणले डोर्याउँछ नै। पार्टीमा गलत विश्व दृष्टिकोण, गलत चिन्तन पद्धति, गलत कार्यशैली, गलत प्रवृत्ति, गैरसर्वहारा वर्गचरित्र, दायाँ अति, बायाँ अति साराको मुल जरो र मुल कारण देशको पछौटे अर्थ व्यवस्था हो भनेर ठोकुवा गरेपछि त्यो जरो यथावत हुञ्जेल त्यसमा तिनै फल त फली नै रहने भए। जरो विषालु भएपछि रुख र फल विषालु हुनु कसरी अस्वभाविक र बेठीक भयो र ?
ङ) राजनीतिक प्रतिवेदनले पेश गरेको दोश्रो कारण :– नेपालमा कम्युनिष्ट पार्टीहरु सर्वहारा वर्गको वास्तविक अगुवादल किन बन्न सकेनन् ? बारे राजनीतिक प्रतिवेदनले पेश गरेका दोश्रो मूलभूत वस्तुगत कारणका रुपमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा खास गरी सोभियत संघ र चीनको नेतृत्वमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको नेपालमा असरलाई ठहर्याएको छ। राजनीतिक प्रतिवेदनको यस सम्बन्धी विश्लेषण यसप्रकार छ, “केही दशक यता अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको असरले पनि नेपाली कम्युनिष्ट आन्दोलन काफी प्रभावित भएको छ। स्तालिनको निधनपछि प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा पार्टीको नेतृत्व हत्याएर संशोधनवादी गद्दार खुश्चोभद्वारा सोभियत संघमा पूँजीवादको पुनस्र्थापना गरेपछि त्यसको असर संसारभर कम्युनिष्ट पार्टीहरुमा पर्न गयो। त्यसैको प्रभावस्वरुप नेपाली कम्युनिष्ट आन्दोलनमा खुश्चोभी संशोधनवादी बाटो र माओवादी क्रान्तिकारी बाटोको बीचमा संघर्ष सुरु भयो। प्रत्यक्ष वा परोक्ष रुपले त्यो संघर्षबाट पार्टीमा फुट र विभाजनको प्रक्रिया पनि सुरु भयो।
सन् १९७६ मा क. माओको निधन भयो। प्रतिक्रान्तिकारी षड्यन्त्रद्वारा चीनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व समेत संशोधनवादी गद्दार तेङ मण्डलीले हत्याउन सफल भयो। यसरी चीनमा समेत पूँजीवादको पुनस्र्थापना हुन पुग्यो। यस घटनापछि संसारमा एउटा पनि सर्वहारावर्गको सत्ता बाँकी रहन गएन। अहिलेको सबै समाजवादी मूलुकहरुले रंग बदले, साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादीहरुले मार्क्सवाद र साम्यवादको हार र पतनको ढोल पिट्न थाले। यसबाट नेपालमा पनि कतिपय निम्न पूँजीवादी र शक्ति पूजावादी तत्वहरु काफी प्रभावित भएर एक अर्को गर्दै संशोधनवादमा पतन भई साम्राज्यवादका अगाडि आत्मसर्मपण गर्न पुगे र कतिपय इमान्दार तत्वहरु समेतको होसहसास खल्बलिएर एक वा अर्को प्रकारको पलायन, निराशा र अज्ञेयवादका शिकार हुन पुगे। यसरी संशोधनवादको असरले पनि आन्दोलनले प्रशस्त क्षति व्यहोर्नुपरेको छ। (हेर्नुहोस्, दस्तावेजको नेपाली कम्युनिष्ट आन्दोलनमा आधारभूत समस्याहरु शीर्षकको अंश।)
च) वस्तुको परिवर्तनको आधारभूत कारण वाह्य कि आन्तरिक ? :– विश्वमा हुने कुनै पनि घटनाले अन्य मूलुकलाई प्रभावित पार्नु स्वभाविक छ किनकि संसार अन्तसम्बन्धित छ र संसारमा एउटा वस्तुमा हुने परिवर्तनले अरु वस्तुमा पनि केही न केही परिवर्तन ल्याउँछ नै। द्वन्द्धात्मक वस्तुका अनुसार संसारमा गति भनेकै यही परिवर्तन हो। तर, बाह्य प्रेरक तत्वका कारणले वस्तुमा के परिवर्तन आउछ भन्ने कुरा चाहिँ उही हुँदैन। त्यो बाह्य कारणमा होइनन्, मुलतः वस्तुको अन्तरवस्तुमा, वस्तुभित्रको अन्तरविरोधमा निर्भर गर्दछ। गति वा परिवर्तनको आधारभूत कारण आन्तरिक हुन्छ। अरु वस्तुसितको अन्तरसम्बन्ध र अन्तरक्रिया सहायक कारण मात्र हुन सक्छ।
१०० डिग्री तापक्रममा पुगेपछि पानी वाफ हुन्छ। त्यो पानीभित्रको अन्तरवस्तु र अन्तरविरोधको कारणले नै वाफ बनेको हुन्छ, १०० डिग्रीको तापक्रम त्यसको सम्बन्ध हो, सहायक कारण हो बाह्य प्रेरक तत्व हो। तर, के १०० डिग्रीको तापक्रम दिँदैमा ढुङ्गा वाफ बन्छ र, चामल वाफ बन्छ र ? त्यसैले वाफ बन्छ कि बन्दैन, त्यसको मूलभूत कारण १०० डिग्री तापक्रम होइन। वस्तुभित्रको अन्तरवस्तु हो, अन्तरविरोध हो। द्वन्दमत्मक वस्तुवादको परिवर्तनको यो नियम संसारमा सबै वस्तु र घटनामा लागू हुन्छ। संशोधनवादले पार्ने असरका सम्बन्धमा पनि लागू हुन्छ।
तर राजनीतिक प्रतिवेदनको माथि दिइएको नेपालमा संशोधनवादको असर सम्बन्धी विश्लेषणले द्वन्द्धात्मक वस्तुवादको यो नियम स्वीकारेको पाइन्न। त्यो विश्लेषणले बाह्य कारणलाई नै वस्तुको परिवर्तनको आधारभूत कारण मानेको छ। यस्तो विश्लेषण पद्धति र खाली अधिभूतवादको मात्र हुने गर्दछ। द्वन्द्धात्मक वस्ुतवादको विश्लेषण पद्धति यो होइन।
सोभियत संघ र चीनको पार्टी नेतृत्वमा संशोधनवाद हावी भयो। त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनमा पनि प्रभावित पर्यो। यहाँसम्म कुरा ठीकै छ र यस्तो हुनु स्वाभाविकै छ। तर, त्यहाँ पार्टी र त्यसको नेतृत्वमा संशोधनवाद हावी हुनुको कारणले नेपालको कम्यनिष्ट आन्दोलनमा पनि संशोधनवाद हावी भयो र नेपालमा सर्वहारावर्गको वास्तविक अगुवादस्ता निर्माण हुन सकेन भन्नु आखिर परिवर्तन वा गतिका निम्ति बाह्य कारणलाई नै प्रमुख ठान्नु नै भयो नि प्रश्न के उठ्छ भने यदि नेपालको कम्युनिष्ट पार्टीमा र आन्दोलनमा संशोधनवादका निम्ति अनुकूल अन्तरवस्तु र अन्तरविरोध नै थिएन भने अरु मूलुकमा संशोधनवाद पार्टी नेतृत्व हुँदैमा यहाँ पनि किन पार्टी नेतृत्वमा पनि पार्टीमा संशोधनवाद हामी हुन्छौ ? यहाँका कम्युनिष्ट पार्टीहरुमा संशोधनवाद हावी हुनका लागि र फष्टाउनका लागि अनुकुल परिस्थिति थिएन, तिनीहरुमा सर्वहारा वर्गको अगुवा दलका निम्ति आवश्यक अन्तरवस्तु वा खाली अनुकुल परिस्थिति थियो भने किन यहाँका पार्टीहरुलाई संशोधनवादले ग्रस्त गर्न सक्छ ?
यदि नेपालको कम्युनिष्ट पार्टीमा संशोधनवाद हावी हुन नहुनुको नेपालको पार्टी सर्वहारा वर्गको वास्तविक अगुवादल हुन सक्नु नसक्नुको मूल कारण आन्तरिक नएर प्रतिवेदनले बताए जस्तो बाह्य हुने भए त्यो त हाम्रो नियन्त्रण भन्दा बाहिरको कारण भयो। अरु बाह्य मूलुकमा संशोधनवाद हावी भइरहेसम्म नेपालमा कहिल्यै संशोधनवादबाट मुक्त पार्टी बन्ने सम्भावना भएन। नेपालमा कहिल्यै सर्वहारा वर्गको वास्तविक अगुवा दल बन्ने सम्भावना भएन। नेपाल र यो जस्तो मूलुकमा सर्वहारावर्गको वास्तविक अगुवा दल निर्माण हुनुका निम्ति सर्वप्रथम अरु मुलुकमा, ठूला मूलुकमा संशोधनवादबाट मुक्त पार्टी हुनुपर्ने भयो।
त्यसैले नेपालमा सर्वहारा वर्गको वास्तविक अगुवा दस्ता निर्माण हुन नसक्नुको मुलभूत वस्तुगत कारणका रुपमा राजनीतिक प्रतिवेदनले अघि सारेको दोश्रो कारण पनि दार्शनिक रुपमा नै गलत छ। यो अधिभूतवादी छ। यसले नेपालका कम्युनिष्ट पार्टीहरुमा मार्क्सवादको सट्टामा संशोधनवाद हावी हुनु निराशा, आत्मसमर्पण वा पलायनका प्रवृत्तिहरु देखा पर्नु इमान्दार तत्वको पनि होसहवास गुम हुनुको मूल कारणका रुपमा रुस र चीनको नेतृत्वमा संशोधनवादी रुपान्तर हुनुलाई बतायो। तर, नेपालको कम्युनिष्ट आन्दोलनमै त्यस्तो के अन्तरवस्तु र अन्तरविरोध थियो, अनुकुल परिस्थिति थियो, जसको कारणले त्यो बाह्य घटनाले यहाँ गम्भीर रुपले असर गर्यो। त्यो मूल कारण चाहिँ उल्लेख गरेन।
छ) नेपालमा संशोधनवादी हावी हुन सक्नुको मूल कारण के थियो ? :– प्रतिवेदनले एक ठाउँमा अर्कै सन्दर्भमा संशोधनवाद विरुद्ध संघर्ष गर्ने नेपालको कम्युनिष्ट पार्टीभित्रको क्रान्तिकारी प्रवृत्तिको उल्लेख गर्दै भनेको छ, “त्यस प्रकारको क्रान्तिकारी प्रवृत्ति पनि मार्क्सवाद–लेनिनवाद–माओवाद विचारधाराको वैज्ञानिक र सिद्धान्तको सही समझदारीमा भन्दा एक वा अर्को प्रकारको निम्न पूँजीवादी मानसिकता र यान्त्रिक अन्धानुकरणमा नै बढी आधारित रहन गयो।” (हेर्नुहोस्, दस्तावेजको माथि उल्लेखित अंश।)
हुन त यो भनाइ नेपालको कम्युनिष्ट पार्टीभित्र विद्यमान संशोधनवाद विरुद्ध लड्ने क्रान्तिकारी प्रवृत्तिको सन्दर्भमा भनिएको छ। तर, यो भनाइभित्र पार्टीमा विद्यमान त्यो अन्तरवस्तु वा अन्तरविरोधको संकेत छ। जसको कारणले यहाँ पनि संशोधनवाद फस्टाउन सक्यो। त्यो संकेत के हो त ? राजनीतिक प्रतिवेदनले तिनमा माओले चलाउनुभएको महान सर्वहारा साँस्कृतिक क्रान्ति र संशोधनवाद विरोधी संघर्षको असर नेपालमा पनि पर्यो र यहाँ पनि एक दशकसम्म संशोधनवाद विरोधी संघर्ष चल्यो र यहाँको आन्दोलनमा क्रान्तिकारी प्रवृत्ति हावी भयो भनेर उल्लेख गरेको छ। तर, प्रतिवेदनका अनुसार यो क्रान्तिकारी प्रवृत्ति पनि मार्क्सवाद–लेनिनवादको सही समझदारीका कारणले हावी भएको होइन। चीनको त्यतिखेरको यान्त्रिक अन्धानुकरणका कारणले हावी भएको हो। प्रतिवेदनमा लुकेको संकेत यही नै हो।
यो संकेतले के देखाएको छ भने नेपालको त्यतिखेरको कम्युनिष्ट पार्टीहरुमा विद्यमान क्रान्तिकारी प्रवृत्तिमा मार्क्सवाद लेनिनवादको सही समझदारी थिएन। स्वतन्त्र चिन्तन थिएन, अरु देशको यान्त्रिक रुपले नक्कल गर्ने प्रवृत्ति थियो। भनाइको मतलव यहाँको पार्टीको अरु मुलुका पार्टीसितको सम्बन्ध द्वन्द्धात्मक थिएन। यो धार्मिक गुरु र चेलाको जस्तो अन्धतापूर्ण र यान्त्रिक थियो। यो क्रान्तिकारी प्रवृत्तिले माओको अगुवाइ भेटायो। यसले माओको अगुवाइ नभेटाएको भए यो पनि दिशाहिन हुन्थ्यो। त्यसैले मार्क्सवाद बुझेका कारणले होइन, माओको अगुवाइको अन्धानुकरण गरेर नेपालमा संशोधनवाद विरोधी संघर्ष चल्यो। प्रतिवेदनको यही विश्लेषणले नेपालमा कम्युनिष्ट पार्टीहरुमा विद्यमान त्यो अन्तरवस्तु र भित्री अन्तरविरोधी छर्लंग भएको छ। त्यो अन्तरवस्तु हो, पार्टीमा यान्त्रिक अनधानुकरणको प्रवृत्ति, द्वन्द्धात्मक चिन्तनको अभाव। त्यो अन्तरविरोध हो, पार्टी मार्क्सवादी–लेनिनवादी सिद्धान्तमा आधारित तर त्यो सिद्धान्तकै सही समझदारीको अभाव, क्रान्तिकारी चरित्र तर क्रान्तिकारी सिद्धान्तको सही समझदारीको खडेरी।
यो अन्तरवस्तुले खुश्चोभी सम्बन्ध भेट्यो, केही त्यसबाट पनि प्रभावित भए, केहीले माओको भेटायो, त्यसबाट पनि प्रभावित भयो। यदि यहाँको पार्टीको मार्क्सवादको सही समझदारी र अभ्यास भएको भए द्वन्द्धात्मक र आलोचनात्मक चिन्तन गर्ने प्रवृत्ति भएको भए, सम्बन्ध यान्त्रिक नभएर द्वन्द्धवादमा आधारित भएको भए, रुस र चीनमा संशोधनवादी नेतृत्व हावी भएर पनि नेपालको कम्युनिष्ट आन्दोदलनमा त्यसको प्रतिकूल प्रभाव पर्दैन्थ्यो, प्रभाव त पथ्र्यो त्यो नकारात्मक हुन्थ्यो, निषेधात्मक हुन्थ्यो। त्यसबाट नकारात्मक शिक्षा लिइन्थ्यो, जस्तो तात्कालिन माओको चीनले लिएको थियो, अनवर होक्जाको अल्वानियाले लिएको थियो।
त्यसैले नेपालमा सर्वहारा वर्गको अगुवा जस्ता निर्माण हुन नसक्नुको मुलभूत वस्तुगत कारण फेरि पनि त रुस र चीनमा प्रभुत्व जमाउन सफल भएको संशोधनवादको असर ठहरिएन जस्तो प्रतिवेदनले बताएको छ। बरु नेपालकै कम्युनिष्ट पार्टीभित्रको त्यो अन्तरवस्तु र अन्तरविरोध चाहिँ संशोधनवाद हावी हुन सक्नुको मूल कारण हुन सक्छ। जसको उल्लेख हामीले लगत्तै माथि गरी सक्यौं, यसको सबिस्तार चर्चा हामीले तल उपयुक्त ठाउँमा गर्ने छौं।
ज) प्रतिवेदनले पेश गरेको तेश्रो कारण :– राजनीतिक प्रतिवेदनले नेपालको कम्युनिष्ट आन्दोलनले सर्वहारा वर्गको वास्तविक अगुवा दस्ताको रुपमा आन्दोलनको नेतृत्व गर्न असक्षम हुनुको तेश्रो मुलभूत वस्तुगत कारणका रुपमा साम्राज्यवादको भ्रम र दमन चक्रलाई ठहराएको छ। साम्राज्यवादको भ्रम र दमनबाट भयभित र आतंक भएर निम्न पूँजीवादी तत्वहरुले कम्युनिष्ट आन्दोलनमा पलायन र गद्दारीको प्रवृत्ति हुलिरहेको भन्ने प्रतिवेदनको विश्लेषण छ।
झ) के साम्राज्यवादको दमन र भ्रमले सर्वहारावर्गको दस्ता निर्माण हुन नसकेको हो ? : – पहिलो कुरा त नेपालमा साम्राज्यवादको दमन र भ्रमले भए आतंक र दिशाभ्रम खडा गरिरहेको भन्ने निष्कर्ष नै सही होइन। दमन र भ्रमले त नेपालमा कम्युनिष्टको बिस्तार र प्रभाव घट्नुपर्ने हो, सदस्य संख्या खुम्चिनुपर्ने हो र मानिसहरु कम्यनिष्टसित बसउठ गर्न डराउनुपर्ने हो। तर, वास्तविकता के हो भने नेपालमा त्यसको उल्टो भइरहेछ। तर, वास्तविकता के हो भने नेपालमा त्यसको उल्टो भइरहेको छ। नेपाल संसारमै एउटा यस्तो देश हो, जहाँ कम्युनिष्टको परिचयमा वामपन्थीहरु बढिरहेछन्। जनतामा उनीहरुको प्रभाव बढ्दो छ, कम्युनिष्ट र क्रान्तिप्रति जनतामा आकर्षण व्यापक रुपले बढिरहेछ भनेर प्रतिवेदनले आफैले स्वीकार गरेको हामीले माथि उल्लेख गरिसकेका छौं। दमन, आतंक, भय र भ्रम हुँदो हो त यो कसरी बढ्न सम्भव भयो ? यसरी प्रतिवेदनका आफ्नै भनाइहरु एक आपसमा नराम्ररी बाझेका छन्।