मानव जातिले भोगका १० ठूला महामारी

globe-3411506_1280
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विश्व कोरोना भाइरसको चपेटमा छ। संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन्। ९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन्। चीनबाट फैलिएको यो महामारी यूरोप हुँदै एसिया र अफ्रिकी मुलूकसम्म पुगेको छ।

चीनबाट शुरु भएको यो भाइरसले विश्वव्यापी आकार ग्रहण गरिसकेको छ। प्रसिद्ध वैज्ञानिकहरु भाइरसको खोप पत्ता लगाउन अनुसन्धानमा जुटेका छन्। यही बेला चिनियाँदेखि पूर्वी एसियाली अनुहारका मानिसमाथि नश्लीय विभेद र आक्रमणका खबरहरु पनि आइरहेका छन्। यस्ता भाइरल बन्ने रोग चीनबाट फैलिएको भन्दै चीनसँग सम्बन्ध नै नभएका मानिसहरुमाथि समेत दुर्व्यवहार बढेको छ।

तर, यस्ता भाइरस भाइरल बन्न अनुहार विशेषको कुनै दोष हुन्न भन्ने मानव जगतले हृदयदेखि नै स्वीकार्नु जरुरी छ। यसैपनि प्राकृतिको चेपमा फसेका दुःखी मानिसहरुबीचमा एकापसमा द्रोह र द्वैष निम्त्याउने क्रियाकलाप रोकिनु पर्दछ।

संसारमा यस्ता महामारी पहिलो पटक भएको होइन। कोरानाभन्दा ठूला र संसारमा महामारीको रुप लिएका रोगसँग विश्वले अनेकौं पटक जुधेको छ। र करोडौंको संख्यामा मानवीय क्षति व्यहोर्दै फेरि यस्ता रोग नियन्त्रण गर्न विजय प्राप्त गरेको छ। आशा गरौं कोरोनामाथि पनि मानिसले चाँडै विजय पाउने छ। कुनै समय हैजा, बुबोनिक प्लेग, बिफर, र इन्फ्लूएन्जा मानव इतिहासको सबैभन्दा क्रूर हत्याराका रुपमा चित्रित थिए। यी रोगलाई मानिसले बनाएका सीमाले रोक्न सकेन। १२ हजार वर्ष अस्तित्वमा रहेको बिफर रोगले त तीस करोडदेखि ५० करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ।

नयाँ प्रकोपका रुपमा फैलिएको इबोला भाइरसले हजारौं व्यक्तिको ज्यान लिएको भर्खरका वर्षमात्र हो। जसले सबैभन्दा बढी पश्चिमी अफ्रिकामा असर पुर्‍यायो र करिब १२ हजार मानिस मृत्युको मुखमा पुगे। यसको संक्रमण युरोप र अमेरिकासम्म फैलियो। २००९ मा विश्वभर महामारीको रुपमा फैलिएको फ्लू पाण्डेमिकले विश्वभर करिब २ लाख मानिसको मृत्यु भयो। २००९ को मार्चमा मेक्सिकोमा दुई अमेरिकी बच्चामा देखिएको स्वाइन फ्लू भनेर चिनिने इन्फ्लुएन्जा एच वान एन वानले अमेरिकामा एक लाख १५ हजार बढी संक्रमित भएका थिए। २०१५ मा भारतमा फैलिएको स्वाइन फ्लूमा दुई हजार बढीको मृत्यु भएको थियो।

विश्वका ठूला महामारी 

(१) एचआइभी र एड्स महामारी : यो महामारी विश्वमा सन् २००५ देखि २०१५ सम्म चरण रुपमा रह्यो। एड्सबाट विश्वमा ३ करोड ६० लाखभन्दा बढी मानिसको मृत्यु भयो। सन् १९७६ मा पहिलो पटक कंगो प्रजातान्त्रिक गणतन्त्रमा पहिचान गरिएको एचआईभी र एड्सले सन् १९८१ यता ३ करोड ६० लाखभन्दा बढी मानिसको प्राण लिएको तथ्यांक छ।

वर्तमानमा तीनदेखि साँढे तीन करोड मानिस एचआइभीका साथ बाँचिरहेको अनुमान छ। जसमा धेरैजसो अफ्रिका उपसहारा महाद्वीपका रहेका छन्। जहाँ २ करोड मानिस यस समस्यासँग जुधिरहेको बताइएको छ। तर जनचेतना, संयमित र अनुशासित जीवनशैली, औषधि र खोपको विकाससँगै अब यो रोग मानिसको नियन्त्रणमा आउँदैछ। २००२ देखि २०१२ मा वार्षिक २ दशमलव २ मिलियन मृत्युदर रहेको यो रोग अब १ दशमलव १ मिलियनमा झरेको छ।

(२) फ्लू महामारी : इन्फ्लुएन्जाका कारण सन् १९६८ मा विश्वभरि फैलिएको यो महामारीले १० लाख मानिसको ज्यान लियो। हङकङ फ्लूसमेतको नामले चिनिने यो फ्लू एच थ्री वान टू अनुवंश अन्तर्गतको भाइरस हो। १३ जुलाई १९६८ मा पहिलो पटक चीनको हङकङमा पहिचान भएको यस भाइरसले १७ दिनमै सिंगापुर र भियतनामलाई चपेटमा पार्‍यो। तीन महिनामा त फिलिपिन्स, भारत, अष्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो। महामारीको हिसाबमा यसको मृत्यु दर भने कम मानिएको थियो। दशमलव ५ प्रतिशत मृत्युदर रहेको यस महामारीमा दश लाखभन्दा बढी मानिस मारिएका थिए। पाँच लाख मानिस त हङकङमा मात्र मरेका थिए।

(३) एशियन फ्लू : १९५६ देखि १९५८ सम्म विश्वमा फैलिएको यो महामारीले झण्डै २० लाख मानिसको ज्यान लियो। यो पनि इन्फ्लुएन्जाका कारण नै फैलिएको थियो। एसियन फ्लू एच टू एन टू प्रकारको इन्फ्लुएन्जाको महामारी हो। सन् १९५६ मा चीनमा फेला परेको यो भाइरस १९५८ दुई वर्षसम्म रह्यो। दुई वर्षको अवधिमा चिनियाँ प्रान्त गुइझाउबाट सिंगापुर, हङकङ र अमेरिकासम्म पुगेको थिो। विश्व स्वास्थ्य संगठनले करिब २० लाख मानिसको मृत्यु भएको त्यसमा करिब ७० हजार अमेरिकाका बासिन्दा रहेको जनाएको थियो।

(४) फ्लू महामारी : सन् १९१८ देखि १९२० को दुई वर्षे अवधिमा विश्वव्यापी भएको यस महामारीले २ देखि ५ करोड मानिस मारेको अनुमान छ। स्पेनिश फ्लू भनिने यो इन्फ्लूएन्जा डरलाग्दो घातक प्रकोपका रुपमा संसारमा फैलिएको थियो। जसले विश्वको जनसंख्याको एक तिहाइभन्दा बढी मानिसलाई संक्रमित गरेको मानिन्छ। ५० करोड मानिस प्रभावित भएकामा मृत्युदर नै १० देखि २० प्रतिशत रहेको मानिन्छ। पहिलो २५ हप्तामै २ करोड ५० लाख मानिसले ज्यान गुमाएका थिए।

(५) छैटौं हैजा महामारी : सन् १९१० देखि १९११ सम्म हैजाका कारण विश्वमा ८ लाखभन्दा बढी मानिसको मृत्यु भयो। अघिल्ला पाँच प्रकरणझै छैठौं हैजा पनि भारतमै शुरु भएको थियो। यसले मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी यूरोप र रसियामा फैलनुअघि नै ८ लाखको ज्यान लिएको थियो। छैठौं हैजा महामारीको स्रोत पनि अघिल्ला झै अमेरिकी हैजाकै थियो। यद्यपि अनुभवका कारण अमेरिकाले सतर्कता अपनाएकाले त्यहाँ ११ जनाको मात्र मृत्यु भएको थियो।

(६) फ्लू महामारी : सन् १८८९ देखि १८९० इन्फ्लुएन्जाको कारण फैलिएको महामारीले विश्वभर १० लाख मानिसको ज्यान लियो। शुरुमा एशियन फ्लू वा रूसी फ्लू मानिएको थियो। पहिलो घटना मे १८८९ मा मध्य एशियाको तुर्कस्तानको बुखारा, उत्तरपश्चिम क्यानाडाको अथाबास्का र ग्रीनल्याण्डमा फेला परेको थियो। तीब्र  जनसंख्या वृद्धि भइरहेको १९ औं शताब्दीमा यसको बढी असर शहरी क्षेत्रहरूमा पर्‍यो र चाँडै नै संसारभर फैलिँदा महामारीमा दस लाखभन्दा बढी व्यक्तिको ज्यान गएको थियो।

(७) तेस्रो हैजा महामारी : सन् १८५२ देखि १८६० सम्म करीब आठ वर्ष फैलिएको यो महामारीले विश्वभरि १० लाख मानिसको ज्यान लियो। हैजाका कारण यो महामारी फैलिएको थियो। १९ औं शताब्दीमा फैलिएको घातक महामारी १८५२ देखि आठ वर्ष रह्यो। १८६० मा नियन्त्रणमा आउनुअघि पहिलो र दोस्रो हैजा महामारीझै यो भारतको गंगा किनारबाट संसारभर फैलिएको थियो। गंगा नदी डेल्टाबाट फैलिएको यो महामारीले एशिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकाका दश लाखभन्दा बढी व्यक्तिको जीवन अन्त्य गरेको थियो। बृटिश चिकित्सक जोन स्नोले दूषित पानी रोग सार्ने माध्यम भन्ने पुष्टि गरे। त्यसैवर्ष अर्थात् १८५४ मा भने बृटेनमा सबैभन्दा बढी २३ हजार मानिस यसको शिकार बनेका थिए।

(८) दि ब्ल्याक डेथ : सन् १३४६ देखि १३५३ फैलिएको यस महामारीले ७ करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान लियो। यसको मुख्य कारण बुबोनिक प्लेग थियो। सन् १३४६ देखि १३५३ सम्म सात वर्ष यस महामारीको प्रकोपमा युरोप, अफ्रिका र एशियाली देशहरु परे। विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने यस महामारीले साँढे सात करोडदेखि २० करोड मानिसको ज्यान लिएको अनुमान छ। एशियामा उत्पत्ति भएको ठानिएको महामारी सार्ने कारकका रुपमा मुसालाई ठानिन्छ। व्यापारीका जहाजहरूमार्फत् संक्रमित मुसा शहरी क्षेत्रमा प्रवेश गर्दा विकराल बनेको यस महामारीले तीन महादेशमा विनाशकारी स्वरुप लिएको थियो।

(८) जस्टिनियनको प्लेग : सन् ५४१ देखि ५४२ सम्म बुबोनिक प्लेगका कारण फैलिएको यो महामारीले २ करोड ५० लाखदेखि ५ करोडको ज्यान लियो। जस्टिनियन महामारी तात्कालीन युरोपको आधा जनसंख्या मार्ने रोगका रुपमा चिनिन्छ। यो बुबोनिक महामारीकै प्रकोप थियो। जसले बाइजान्टिन साम्राज्य र भूमध्यसागरीय बन्दरगाह शहरहरू चपेटमा आएका थिए। वर्ष दिन लामो आतंकमै यसले डेढ करोड मानिसलाई मृत्युको मुखमा पुर्‍याएको थियो। कतिले त यो संख्या ५ करोड रहेको पनि बताएका छन्। बुबोनिक प्लेग मानिएको जस्टिनीको महामारीले पूर्वी भूमध्यसागरको एक चौथाई जनसंख्या प्रभावित बनाइदियो। प्रतिदिन पाँच हजार मानिस यस रोगबाट भएको मानिन्छ।

(९) एन्टोनिन प्लेग : (१६५–१८० एडीमा फैलिएको यस रोगका कारण विश्वमा पचास लाख मानिसको मृत्यु भयो। गलेनको प्लेग भनेर चिनिएको एन्टोनिन प्लेगलाई पुरानो महामारी मानिन्छ। जसले एशिया माइनर, इजिप्ट, ग्रीस र इटालीमा धेरै असर पारेको थियो। वास्तविक कारण थाहा नभएको योरोगलाई बिफर या हैजाकै रुप हुनसक्ने अनुमान भने गरिन्छ। यो रोग भने मेसोपोटामियाबाट फर्किएका सैनिकबाट रोम साम्राज्यमा फैलियो र रोमन सैनिकको मृत्युको कारण बनेको ठानिन्छ। जुन महामारीमा ५० लाख मानिस मारिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्