सरकारले ल्याएन राहत प्याकेज, पर्यटन व्यवसायी आन्दोलित

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मौद्रिक नीतिमा उल्लेख गरिए अनुसार राहत प्याकेज कार्यन्वयनमा नआएको भन्दै पर्यटन व्यवसायीले आन्दोलनको घोषणा गरेका छन्। महामारी पीडीत पेसा व्यवसायी संघर्ष समितिको आह्वानमा मंगलबार र बुधबार बालुवाटार क्षेत्रमा धर्ना दिन लागिएको हो।

व्यवसायीले राष्ट्र बैंक, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय लगायत निकायलाई समस्या समाधानका लागि पटक पटक आग्रह गर्दै आए पनि मतलब नगरेको कारण धर्ना दिन लागिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताए।

अब पनि माग पूरा नभए समग्र पर्यटन व्यवसायीको समन्वयमा शनिबारदेखि आन्दोलनमा जाने तयारी रहेको बताउँदै उनले भने,’ठूला उद्योगलाई मात्र राहत प्याकेज दिइएको छ। साना तथा मझौला उद्योगलाई सरकारले मतलबै गरेन। हामीले गत नोभेम्बरमै आन्दोलनमा आउने योजना बनाएका थियौं। तर राजनीतिक दल बीचकै मनमुटावले यो सम्भव थिएन। अब पर्यटन पीडित क्षेत्रसँग सम्बद्ध सबै व्यवसायी सडकमा आउने छौं।’

मंगलबार हुने धर्ना बालुवाटार मोड- सभामुख निवास-गैरीधारा रुटको सडकको दुवै पेटीमा बसिने बताइएको छ। विरोध कार्यक्रममा व्यवसायीले पम्प्लेट बोकेर उभिने तयारी गरिएको उनले जानकारी दिए।

‘हाम्रो माग भनेकै घोषणा गरेको राहत प्याकेज वितरण तत्काल कार्यन्वयनमा ल्याइदिनु पर्‍यो भन्ने हो। प्रत्यक्ष रूपमा जोडिएका बैंकले अलमल्याइरहेको छ,’ उनले भने।

उनका अनुसार विरोध प्रदर्शनमा पर्यटन क्षेत्र सँग सम्बद्ध विभिन्न संघसंस्थाका पाँच सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ। आइतबार र सोमबार समितीले काठमाडौं, ललितपुर र भक्तपुर लगायत प्रत्येक क्षेत्रमा १० वटा गाडीमा माइकिङ गरेका थिए। माइकिङमार्फत गरिएको विरोध प्रदर्शनमार्फत सरकारी पक्षबाट कुनै पनि प्रतिकृया नआएपछि समितीले मंगलबार धर्ना दिएर विरोध दिन लागेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्