अमेजनबाट बाहिरिए जेफ बेजोस, को हुन् नयाँ सीईओ एन्डी जेसी ?

लोकपाटी न्यूज

काठमाडाैँ: संसारकै ठूलो इ-कमर्स कम्पनी अमेजनबाट संस्थापक जेफ बेजोसले पदबाट बाहिरिएको घोषणा गरेका छन्। कम्पनीको प्रतिवेदन सार्वजनिक गर्ने समारोहसँगै आश्चर्यजनक रूपमा उनले सीइओको पदबाट बाहिरिएको घोषणा गरेका हुन्। कोरोना भाइरसको महामारीका कारण अनलाइन रिटेलतर्फ उपभोक्ताहरु सिफ्ट भएपछि सन् २०२० अमेजनका लागि ब्लकबस्टर वर्ष साबित भएको थियो। यसबाट अमेजनको सेयर मूल्यमा ६७ प्रतिशतले वृद्धि भएको थियो।

मंगलबार कर्मचारीलाई सम्बोधन गर्दै लेखिएको चिठीमार्फत बेजोसले आफ्नो आगामी समय द डे वान फण्ड, द बेजोस अर्थ फन्ड, ब्लु ओरिजिन, द वासिङटन पोष्ट र अन्य कैयन् आफ्ना रुचिका क्षेत्रमा लक्षित हुने योजना बनाएको पनि जानकारी दिए। बेजोसले आफ्नो भूमिकामा एन्डी ज्यासीलाई उत्तराधिकारी बनाइसकेका पनि कम्पनीले जनाएको छ। ज्यासी हाल उनी अमेजनको वेब सर्भिस चिफ छन्।

बेजोसको यो घोषणा अघि अमेजनको सन् २०२० को चौथो त्रैमासमा १२५.५ अर्ब डलरको रेकर्ड बिक्री भएको प्रतिवेदन सार्वजनिक भएलगत्तै यो घोषणा भएको हो।कम्पनीले पहिलोपटक एकै त्रैमासमा १ सय अर्बमाथिको रेभेन्यू संकलन गरेको यो पहिलो पटक हो। यसबाट कम्पनीको नाफा ७.२ अर्ब रही गत वर्षभन्दा दोब्बर वृद्धि भएको छ।

अमेनजमा बेजोसको ११.१ प्रतिशत सेयर छ। यसबाट उनको सम्पत्ति १९६.४ अर्ब रहेको थियो। मंगलबार भने उनको सम्पत्ति बढेर १.६ ट्रिलियन भएको फोर्ब्सले जनाएको छ। जेफ बेजोसले किताब बेच्ने सानो अनलाइनका रूपमा सन् १९९४ मा सियाटलको आफ्नै ग्यारेजमा खोलेका अमेजनले अनलाइन बजारमा क्रान्ति नै लयाएको थियो।

स्थापनाको ३० वर्षमा अमेजनको व्यापार निकै बिस्तार भइसकेको छ। हाल अमेजनको क्लाउड स्टोरेज, भिडियो स्ट्रिमिङ, ग्रोसरी लगायत निकै क्षेत्रमा कारोबार फैलिएको छ। बेजोसको वासिङटन पोष्ट तथा स्पेस रकेट डेभलपर कम्पनी ब्लु ओरिजिनमा समेत स्वामित्व रहेको छ।

कर्मचारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा बेजोसले भनेका छन्य-‘दि तिमीले कुनै पनि नयाँ आविष्कारलाई सही ढंगले अघि बढाउँछौ भने अभूतपूर्व आविष्कारको केही वर्षमा नै त्यो नौलो कुरा बिस्तारै सामान्य बन्दै जान्छ। मानिसहरुले त्यसलाई रुचिपूर्वक हेर्नु भन्दा पनि हेरेर हाइ काढ्न थाल्नेछन्। त्यो नै कुनै पनि अन्वेषकका लागि सबैभन्दा ठूलो कम्प्लिमेन्ट हो। जब तिमी आफ्नो वित्तीय नतिजा हेर्नेछौ, दीर्घकालमा उक्त आविष्कारले दिने एकमुष्ट परिणाम देखिरहेका हुन्छौ। यतिबेला म अमेजनलाई सबैभन्दा फक्रिएको अवस्थामा देखिरहेको छु।’

विश्वविख्यात कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले सीईओ पद छाडेसँगै उनको स्थानमा एन्डी जेसी आउँने भएका छन्।  जेसी अहिले अमेजन वेब सर्भिसेजका प्रमुख हुन् । ५३ वर्षीय जेसीले सन् १९९७ मा अमेजन प्रवेश गरेका थिए। उनले हार्वर्ड बिजनेस स्कूलबाट एमबीए गरेका छन् ।

उनकी पत्नीको नाम रोसेल काप्लान हो र उनीहरूका दुई सन्तान छन्। खेलकुद र संगीतमा उनको रुचि छ । सन् २००६ मा जेसीले अमेजनको क्लाउड सर्भिस प्लेटफर्म अमेजन वेब सर्भिसेज स्थापना गरेका थिए।  जेसीले काला जातिका मानिस तथा समलिंगीहरूको अधिकारका विषयमा आफ्ना धारणा प्रकट गर्ने गरेका छन्। विगत २६ वर्षदेखि सीईओ रहेका बेजोस अब कम्पनीका कार्यकारी अध्यक्षका रूपमा काम गर्नेछन् । बेजोसले अन्लाइन बूक स्टोरका रूपमा कम्पनी स्थापना गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्