कमरेड ! पार्टी फेराैं, झ्याप्पै बढुवा खाउँ !

Manahari Timilsina
  • 2.6K
    Shares
मनहरि तिमिल्सिना

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक बिभाजनपछि नेता–कार्यकर्ताले आ–आफ्नो ‘कित्ता क्लियर’ गर्न थालेका छन्। तर, पनि अझै दर्जनौं नेता–कार्यकर्ता दोधारमा देखिन्छन्। त्यसमध्ये एक हुन् नेकपाका उपाध्यक्ष वामदेव गौतम। यद्यपि, गौतम पार्टी फेरिरहने नेता भने होइनन्। नेकपा एकता अभियान सञ्चालन गरिरहेका गौतम अहिले पनि अनिर्णयको बन्दी बनिरहेका छन्।

पुस ९ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनौठो दृश्य देखियो। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नेकपा औपचारिक रुपमा बिभाजित भएको थियो। बिभाजनपछि नेकपाका धेरै नेताहरु प्रतिनिधि सभाको विघटनको विपक्षमा उभिए। तर, केही नेताहरु अलमलमा थिए। तिनै अलमलमध्येका एक गृहमन्त्री रामबहादुर थापा पनि थिए। पुस ७ गते प्रचण्ड र ओली पक्षले अलग–अलग रुपमा गरेको बैठकमा उनी सहभागी भएनन्। तर, पुस ९ गते थापा एकाएक बालुवाटार भेलामा देखिए।

बालुवाटार बैठकमा सहभागी थापाको अभिव्यक्ति सुनेपछि सिंगो देश चकित पर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई ‘राजनीतिक बाध्यताको उपज’ भनेर बचाउ गरेका थिए। उनले आफ्ना कार्यकर्तालाई आत्मालोचित हुँदै जनतामाँझ जान निर्देशन दिँदै थिए। तर, जब थापाको पालो आयो, उनी गर्जिए, ‘‘संसद विघटन महान् क्रान्तिकारी कदम हो। यो युगको ऐतिहासिक आवश्यकता हो। अब संसद पुनर्स्थापना हुनै सक्दैन। यदि पुनर्स्थापना भएमा त्यो प्रतिक्रान्ति हुनेछ।’’

स्वयं विघटनकर्ता ओलीले ‘बाध्यताको उपज’ भनिरहेका बेला थापा भने संसद विघटनजस्तो कलंकको टीकालाई महान् क्रान्तिका रुपमा व्याख्या गर्दै थिए। थापालाई व्यंग गर्दै प्रचण्डले भनेका थिए, ‘‘उहाँले हाम्रोतिर बोल्न ठिक्क पारेको भाषण बालुवाटार पुगेर पढ्नुभएछ।’’ थापाका लागि योभन्दा कठोर व्यंग अरु हुन सक्दैनथ्यो। तर, थापाले ओलीको कदमलाई निर्भिकतापूर्वक ‘महान् क्रान्ति’ भन्न छोडेका छैनन्।

थापा तिनै नेता हुन्, जसले प्रचण्ड–बाबुरामले क्रान्तिप्रति गद्दारी गरेको भन्दै २०६९ असारमा एकीकृत माओवादी छोडेर वैद्य माओवादीमा गए। पार्टी अन्तरसंघर्षको अन्तिमसम्म मौन रहेका थापा एकाएक धोवीघाट गठबन्धनमा सहभागी भएपछि उनलाई दुवैतिरका नेता–कार्यकर्ताले ‘अवसरवादी नेता’को अभियोगसमेत लगाए। वैद्य माओवादीमा पनि थापा अडिएनन्, नेत्रविक्रम चन्दसँगको व्यक्तित्वको टकरावका कारण वैद्य माओवादी पनि फुट्यो। फुटेको क्रान्तिकारी–माओवादीमा पनि थापा सन्तुष्ट भएनन्। उनले पार्टी फुटाएर २०७३ मा प्रचण्डसँग पार्टी एकता गरे। महान् क्रान्तिको कुरा गर्ने तिनै थापा अहिले ओलीको संसद विघटनलाई काँध थाप्दै ‘महान् क्रान्ति’ भनिरहेका छन्।

कुनै बेला एमाले नेता रहेका मधेशका रामचन्द्र झापा शान्तिप्रक्रियापछि माओवादीमा प्रवेश गरे। तर, उनी त्यहाँ पनि अडिन सकेनन्। फेरि एमालेमा फर्किएका झा पछिल्लोसमय डा. बाबुराम भट्टराईनिकट नयाँ शक्ति नेपाल पार्टीतिर लागे। त्यसको केही समयपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहेका उनी अहिले नेकपाको केन्द्रीय समितिमा छन्।

उद्योगपति विनोद चौधरी २०६४ सालमा एमालेको समानुपातिक सभासद थिए। तर, जब उनको कार्यकाल सकियो। फेरि अर्को संसदमा २०७४ मा उनी कांग्रेसको कोटाबाट समानुपातिक सांसद भए। अघिल्लो कार्यकालमा एमालेबाट सभासद भएको व्यक्ति पछिल्लो कार्यकालमा कांग्रेसको कोटाबाट सांसद हुनुलाई सामाजिक रुपमा खासै अनौठो घटनाको रुपमा लिइएको देखिँदैन, जबकि उनी राजनीतिक पृष्ठभूमिका दृष्टिले ‘राजावादी व्यापारी’ मानिन्छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा कुनै बेला मोहनविक्रम सिंहको मसालनजिक थिए। मसालबाट शक्ति केन्द्रमा पुग्न नसकिने विश्लेषणपछि उनी एमाले प्रवेश गरेको उनलाई चिन्नेहरुको दाबी छ। तर, २०५४ मा आएको माले–एमाले बिभाजनपछि उनी वामदेव गौतमको कार्यकर्ताका रुपमा मालेतिर लागे। २०५६ को निर्वाचनमा माले देशभरि पराजित भएपछि उनको विश्लेषण फेरियो। त्यसपछि माधव नेपालनिकट रहेका उनी २०६५ को बुटवल महाधिवेशनमा झलनाथ खनालतिर उभिँदै प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारसमेत भए। २०७१ को महाधिवेशनमा ओली शक्तिमा देखिएपछि उनी ईश्वर पोखरेलको बाटो हुँदै अहिले ओलीको सल्लाहकार छन्। प्रतिनिधि सभा विघटनको निर्णय अदालतले उल्टाइदियो भने थापा फेरि खुमलटार प्रवेश गर्नसमेत लाज मान्दैनन् भन्दै उनीमाथि व्यंग हुने गरेको छ, जुन कुराको संकेत गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले यसअघि नै गरिसकेका छन्।

२०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी प्रवेशको लहर नै चल्यो। हजारौं नेता–कार्यकर्ता औपचारिक रुपमै पार्टी प्रवेश गरे। तर, २०६९ को संविधानसभा निर्वाचनपछि माओवादी छोड्नेको लहर पनि चल्यो। नेताहरु जताबाट आएका हुन्, त्यतैतिर फर्किन थाले। राजनीतिक भाषामा उनीहरुलाई ‘‘चैते’को नामले सम्वोधन गर्ने संस्कार नै स्थापित भयो। ‘‘शक्तिका आधारमा पार्टी छान्नेहरु लामो समय त्यहाँ रहँदैनन्’’ नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल भन्छन्, ‘‘तिनीहरु पण्डितले दान ल्याएका गाईजस्ता हुन्, मौका मिल्यो कि आफ्नै गोठमा फर्किन्छन्।’’

कुनै बेला मसालको राजनीति गरेर माओवादीविरुद्ध प्रतिकार समितिको नेतृत्व गरेका बागलुङे नेता लिला थापा शान्ति प्रक्रियापछि माओवादीमा आए। संविधान निर्माणपछि नयाँ शक्तितिर लागेका थापा केही समयमै माओवादीमै फर्किए। तर, नेकपा औपचारिक रुपमा फुटेपछि उनी ओली समूहमा लागेका छन्। उनी मात्र होइन, माओवादीभित्र अन्तिमसम्म बाबुराम भट्टराईको पक्षमा उभिएका र फुटपछि प्रचण्डतिर लागेका प्रभु साह, बाबुरामलाई उचालेर अन्तिममा धोका दिएका टोपबहादुर रायमाझीदेखि जनयुद्धकालमा राजनीतिबाट पलायन भएका मणि थापासमेत क्रान्तिको चर्को कुरा गर्दै अहिले ओली कित्तामा उभिएका छन्।

जतिबेला माओवादीमा बिभाजन आयो, त्यतिबेला केही नेता–कार्यकर्ताको अन्तरमनमा प्रचण्डले धोका निष्कर्ष थियो। उनीहरु फुटेर गए पनि सिद्धान्तको बाटो भुलेको देखिँदैन। त्यसमध्ये कतिपय नेता अहिले प्रचण्ड–नेपालसँग छन् त कतिपय वैद्य र विप्लवसँग। उनीहरु क्रान्तिकै निष्ठासहित पार्टीबाट अलग्गिएका थिए। तर, जो विचारका आधारमा अलग्गिएका थिएनन्, उनीहरु अहिले कोही ओलीतिर, कोही कांग्रेसतिर त कोही राप्रपातिरसमेत लागेका छन्।

२०७३ सालको स्थानीय निर्वाचनमा मधेशका एक जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे। माओवादीमा उनको यो तेस्रो प्रवेश थियो। जीवनकालमा ११ वटा पार्टी फेरेका उनलाई प्रचण्डले पार्टी प्रवेश गराएका थिए। जतिबेला उनी माओवादीमा आए, त्यसअघि उनी विजय गच्छदारका कार्यकर्ता थिए।

२०५४ अघि एमाले रहेका उनी त्यसपछि सीपी मैनालीको मालेतिर लागेका थिए। माले कमजोर हुँदै गएपछि दोस्रो जनआन्दोलनको वरिपरि उनी माओवादीमा प्रवेश गरे। गौरमा भएको नरसंहारपछि उनी उपेन्द्र यादवको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। तर, फोरममा पनि चित्त नबुझेपछि उनी २०६६ को आमहड्तालताका पुन माओवादीमै फर्किए। २०७० को निर्वाचनपछि राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका उनी फेरि नयाँ शक्तितिर लागे। मधेशमा बाबुरामको केही नचल्ने देखेपछि फेरि गच्छदारतिर लागेका उनी गच्छदारको कांग्रेससँग एकीकरणपछि २०७३ मा तेस्रोपटक माओवादीमा प्रवेश गरेका थिए। तर, एमाले–माओवादीको एकतापछि बनेको नेकपाले उचित जिम्मेवारी नदिएको भन्दै हाल उनी हिन्दू जागरण अभियानतिर लागेका छन्।

२०६४ को संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि महासचिव माधव नेपालले नैतिकताका आधारमा राजीनामा दिए र झलनाथ खनाल महासचिव भए। बुटवल महाधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गर्दै देशको प्रधानमन्त्री हुने ढोका खुला गर्‍यो। जतिबेला उनी प्रधानमन्त्री थिए, खनालका अघिपछि ठूलै भीड हुन्थ्यो। तर, एमालेको वरिष्ठ नेतामा झरेपछि डल्लु निवासको भीड घट्दै गयो। अहिले खनाल निवास सुनसान हुने गरेको छ। त्यति मात्र होइन, माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनीसँग रहेका शक्तिमुखी ढुलमुले कार्यकर्ता अहिले ओलीतिर उभिएर नेपालको सत्तोसराप गरिरहेका छन्।

२०६७ सालमा तत्कालीन माओवादीको पालुङटार बिस्तारित बैठक भयो। बैठकमा सहभागी प्रतिनिधिलाई विभिन्न समूहमा बाँडेर छलफल गरिएको थियो। छलफलमा सहभागी एक नेताले भनेका थिए, ‘‘माओवादीमा आएको पनि छ महिना भइसक्यो, अझै केन्द्रीय सदस्य बनाएको छैन, यस्तो पार्टीमा कसरी बस्ने ?’’ बैठकमा सहभागी धेरै कार्यकर्ताले उनको अभिव्यक्तिलाई अस्वाभाविक माने। तर, उनको अभिव्यक्ति नेपालमा ‘पार्टी चहारिरहने रोग’को प्रतिनिधिमूलक अभिव्यक्ति थियो।

नेकपा फुटेपछि कार्यकर्तामा अवसर र बार्गेनिङको खोजी पनि बढ्न थालेको छ। हिजो सत्ता प्रचण्डको हातमा थियो, त्यतिबेला तिनीहरु लाजिम्पाट, बालुवाटार र खुमलटार धाउँथे। प्रचण्डलाई महान राजनेता भन्दै दिनहूँ फेसबुकमा फोटो पोस्टाउँथे। अहिले सत्ता ओलीको बालुवाटारतिर सरेको छ। अनि हिजो प्रचण्डलाई महान् नेता ठान्नेहरुलाई अहिले ओलीसँँग खिचेका फोटो पोस्टाउन भ्याइनभ्याइ छ। उनीहरु यसरी प्रस्तुत हुँदैछन् कि ओली नभए हावाको गति रोकिन्छ, धर्ती भासिन्छ, सूर्यको प्रकाश पनि फर्किएर अन्तरीक्षतिरै बिलाउँछ।

राजनीति निश्चित विश्व दृष्टिकोण र आदर्शमा अडिएको हुन्छ। निश्चित विचारधाराको समर्थनले नै मानिसलाई कुनै दलको समीपमा पुर्‍याउँछ। तर, हामीकहाँ त्यस्तो देखिएको छैन। आफूलाई भविष्यका कर्णधार ठान्ने युवा पुस्ता यस्तो भएको छ, जसले निकृष्ट स्वार्थका आधारमा धारणा बनाउँछ, अनि एउटा नेताको देवत्वकरण गरेर अर्कोको राक्षसीकरण गर्छ। जब त्यहाँ आफ्नो स्वार्थ पूरा हुँदैन, अनि फनक्क १८० डिग्रीको फन्को हानेर आफ्नो बोली फेर्छ। बिना कुनै आत्मालोचना, बिना कुनै लाज फेरि त्यही मान्छे अब्बल क्रान्तिकारी बनेर मैदानमा खडा हुन्छ।

आखिर यस्तो किन हुन्छ त ? यो व्यक्तिको दोष हो कि हाम्रो उत्पादन प्रणालीको प्रभाव ? त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागमा प्राध्यापनरत राजु राई भन्छन्, ‘‘यसलाई विभिन्न कोणबाट विश्लेषण गर्नुपर्ने हुन्छ। कतिपय नेता–कार्यकर्तामा वैचारिक विश्लेषणको अभावमा पनि अस्थीरता देखापर्छ। तर, हामीकहाँ अधिकांश कार्यकर्तामा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर दल छान्ने प्रचलन पनि छ। पार्टी फेरिरहने रोग मूलतः त्यसकै उपज हो।’’

एउटै व्यक्ति वर्षमा ३/४ वटा दलमा पुग्नुमा हाम्रो उत्पादन पद्धतिले पनि काम गरिरहेको छ। २०६३ को जनआन्दोलनपूर्व राजनीतिक दल अदलीबदलीमा त्यति ठूलो विकृति देखिँदैन। किनकि, समाज सामन्ती उत्पादन पद्धतिमा आधारित थियो। २०६२/०६३ को आन्दोलनले राजनीतिक परिवर्तनसँगै सामाजिक उत्पादन पद्धति र मानिसको सोच्ने तरीकामा पनि परिवर्तन ल्याइदियो। तर, सामन्ती उत्पादन पद्धतिको स्थान औद्योगिक पूँजीवादले लिन सकेन। २०४६ को परिवर्तनपछि नै दलाल पूँजीवादको अभ्यास गर्न थालिएका कारण सामन्तवादको स्थान दलाल नोकरशाही पूँजीवादले लियो। यसको प्रवृत्तिगत विशेषता नै यस्तो हुन्छ कि त्यसले आफ्नो नाफाका निम्ति जोसुकैको जस्तोसुकै चाकरी गर्न तयार हुन्छ। अहिले देखिएको दल फेरिरहने रोग पनि त्यसको एउटा कारण हो भन्न सकिन्छ।

नेपालको कम्युनिस्ट आन्दोलनभित्र पार्टी फेरेर छिटो पार्टीका माथिल्ला पदहरुमा पुग्ने मनोविज्ञान पनि उत्तिकै जब्बर छ। पार्टी ठूलो बनाउन कार्यकर्ता चाहिने बुझेका अवसरवादीहरुले पार्टी छोडेर जाने, अनि बार्गेनिङ गरेर माथिल्लो पद पाएपछि फेरि फर्किने रोग पनि चर्कोसित बढेको छ। कतिपय नेता यस्ता छन्, जसको कुनै जनाधार छैन। तर, पार्टी फेरेकै कारण छोटो समयमै कम्युनिस्ट पार्टीको माथिल्लो जिम्मेवारीमा पुगेका छन्, जसको पद उच्च र कद फुच्चे देखिन्छ। ओलीले पार्टी सदस्य नभएकै मान्छेलाई केन्द्रीय सदस्य बनाएपछि पछिल्लोसमय पार्टी फेर्ने रोगले अझै विकृत रुप लिँदै गएको छ।

हाम्रोजस्तो तेस्रो मुलूकमा असीमित आकांक्षा र सीमित साधन स्रोतको अन्तरविरोध रहन्छ। सीमित साधनस्रोतद्वारा असीमित आवश्यकता पूर्तिका लागि अस्वस्थ र अराजनीतिक प्रतिस्पर्धा जरुरी हुन्छ, त्यसका लागि शक्ति चाहिन्छ, त्यस्तो शक्ति सत्तासँग हुन्छ, जो सरकार र अन्य राजकीय जिम्मेवारीमा रहन्छन्। अनि, त्यस्तो शक्तिलाई आफ्ना आसेपासेको भरणपोषणमा दुरुपयोग गर्नुपर्ने हुन्छ, जुन कुरा ओली सरकारले रफ्तारका साथ गरिरहेको छ। तसर्थ, दल फेरिरहने रोग सीमित साधनस्रोत हत्याएर रातारात धनी बन्ने मनोविज्ञानमा पनि आधारित देखिन्छ।

एउटै मान्छे जीवनभरि एउटै दलमा रहनुपर्छ भन्ने मान्यता सही होइन। समाजको गतिशीलता व्यक्तिको राजनीतिक चेतमा पनि अभिव्यक्त हुन्छ र हुनुपर्छ। तर, त्यो नेता–कार्यकर्ता मात्र विचारका आधारमा दल फेरेको ठहर्छ, जो साविकको दलभन्दा तुलनात्मक रुपमा क्रान्तिकारी र परिवर्तनको पक्षधर शक्तिमा जान्छ। कुनै व्यक्ति वैद्य माओवादीबाट विप्लव माओवादीतिर जाँदा त्यसलाई ‘क्रान्तिको हुटहुटी’को उपज भन्न सकिन्छ। तर, विप्लव माओवादीबाट ओली समूह वा राप्रपातिर गएमा त्यसलाई क्रान्तिकारी चेत भन्न सकिँदैन। किनकि क्रान्तिको कुरा गर्ने व्यक्ति प्रतिगामी शक्तिमा जानुमा विशुद्ध व्यक्तिगत स्वार्थ र शक्ति हत्याउने नियतले काम गरेको हुन्छ। आजको सन्दर्भमा प्रचण्ड–नेपाल नेकपाले क्रान्ति र ओली समूहले प्रतिक्रान्तिको नेतृत्व गरेकाले यही कुरा नेकपाको हकमा पनि लागू हुन्छ।

‘‘कतिपय अवस्थामा पार्टी र नेताहरुले एजेण्डामा ब्ल्याकमेलिङ गर्दा पनि दल छनोटमा विवेक नपुग्ने राई बताउँछन्। उनी भन्छन्, ‘‘व्यक्तिको विश्लेषणको क्षमता, सामाजिक परिवेश, सामाजिक मूल्य–मान्यताको बन्धन, समाज र स्वयं व्यक्तिको आवश्यकताले पनि दल छनोटमा विभिन्नता ल्याउँछ।’’

अहिले नेकपामा देखिएको समूह अदलीबदली पनि वैचारिकभन्दा स्वार्थप्रेरित नै देखिन्छ। नेकपा एकीकरणको एक वर्षपछि नेता थापाले भनेका थिए, ‘‘लगातार एउटै पार्टी बस्दा पनि बोर हुँदो रहेछ।’’ दल चहारिरहने बानी परेका ती नेता अहिले ओली समूहतिर छन्। उनकै समकक्षी नेकपाका एक केन्द्रीय सदस्यको दाबी छ, ‘‘हेर्नुहोला, उहाँ त्यहाँ बस्ने पनि बढीमा एक वर्ष हो। त्यसपछि कहाँ पुग्नुहुन्छ, ठम्याउन मुस्किल छ।’’

(२२ माघ २०७७, काठमाडौं)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्