भागीरथीहरु कहिलेसम्म बलात्कृत भइरहन्छन् ?

bhagrathi-bhatta-death pic
  • 91
    Shares
लाेकपाटी न्यूज

– बाबुराम गौतम

काजी भीमदक्त मल्लको श्रीमतीलाई तेरो श्रीमानलाई नाङ्गै शहर घुमाइदै छ भन्ने खबर सुन्नसाथ, सतिको श्राप परोस् भनेर दिएको श्राप वर्तमानसम्म आइपुग्दा पनि देशमुक्त हुन सकेको छैन। गणेशमान सिहंले नेपाली जनता भेडा हुन त्यसै कहाँ भनेका हुन र ? जब काठमाडौंको चुनावमा २०३६ सालमा स्वतन्त्र उमेद्वार नानी मैया श्रेष्ठले चुनाव जितिन् त्यतिनै बेला उनले भनेका थिए नेपाली जनता भेडा हुन्।

हुन पनि हो हामी नेपाली अहिले साच्चीकै भेडा भएका छौं। न विचार, न सिद्धान्त केही पनि नचाहिँने ? व्यक्तिगत इच्छा वा भनौं झुण्डको पछाडि अन्धाधुन्दा लागि रहेको देख्दा लाग्छ, अझै ५० औं वर्ष नेपाल र नेपाली जनता आफ्नो चेतनाको प्रयोग गर्न अयोग्य छन्। बहसको परिपाटी बस्न सकेको छैन, आफ्नो कमिकमजोरी जो कोही पनि स्वीकार्न सक्दैन, सबै आफूलाई पूर्ण देखिनु पर्ने, सबैले राम्रो भनिदिनु पर्ने, विचार र सिद्धान्तको आधारमा हैन समूह र झुण्डको आधारमा कित्ता कित्तामा विभक्त छ। लाग्दछ हामी जीवित प्राणी होइनौं वा भौतिक वस्तु हौं।

सरकार, सम्वन्धीत निकाय सबै शुसुप्त अवस्थामा छन्। घुसखोर, लुटपाट, चोरी, डकैती, वैमानी यत्रतत्र छ, शक्ति र पहुँचका आधारमा कालोलाई सेतो र सेतोलाई कालो बनाइएको छ। भ्रष्टाचार, बलात्कार अनैतिकता जस्ता कुराले देश जगडिएको छ। कही कसैलाई कसैका बारेमा बोल्ने समय छैन, चेतना छैन वा भनौं केही लेनदेन नभएसम्म कसैलाई वास्तै छैन। सरकारी कामका जिम्मेवारी कसले वहन गर्ने ? जवाफ देहिता कसले वहन गर्नै ? अभिभावकविहिन समाजमा हामी अभिभावकत्व गुमाएको देशको नागरिक भएका छौं। सोझासाझा सधै अन्यायमा परेका छन् दुखी गरिब सधैँ पिसिएको मात्र छन् हुने खाने सधै मोजमस्ती र सहुलियमा, नहुने जति सबै उत्पीडनमा ? कहिलेसम्म ? छोरीचेली न घरमा सुरक्षित छन्, न बजार न समाज वा कहि कतै ? विद्यालयबाट घर फर्कर्दै गर्दा हजारौं भागीरथिहरु महिनौंदेखि बलात्कृत भइ भइरहेका छन्, देहहरण गरिएका छन्। के भनौ‌‍‍‌ यो देशमा राज्य छैन, सरकार छैन, जो जहाँ छन् सबै दलाल, घुसखोरी, चोरी र डकैती मात्र हुने ? वा भनौं हामी कसैले मार्न नचाहेर मात्र आजसम्म बाचिरहेका छौं। भोली हामीलाई संरक्षण गर्ने, हाम्रो हक अधिकारको लागि लड्ने कोही पनि छैन।

देशको सीमा लुटिएको छ, दैनिक हजारौं युवा वाकसम्म बन्द भएर विदेशी भूमिबाट फकिदैछन्, छोरी चेली अस्मिता लुटिएर मारिदै छन्, अदालतमा न्याय लिलाम हुँदैछ, प्रहरी प्रशासन अन्यायको साँची बस्दै छ अनि हाम्रो नेतृत्व एवं नेतागण भन्दै छन्, हामी यहाँ छौँ ? कहाँ छन् उनीहरु ? बलात्कर हुने ठाउँमा छैनन्, भ्रष्टाचार हुने ठाउँमा छैनन्, दलाली हुने ठाउँमा छैनन्, सीमा मिचिएको ठाउँमा छैनन् कहाँ छन् त उनीहरु ? छ्या लाज लाग्छ सरकार उसैको, प्रतिपक्ष उहि, आन्दोलन उसैको नेपाल बन्द अनि उही काम गर्न दिएनन् अनि यसो गरे ? धिक्कार छ, नालायकहरु तिमीहरुलाई साच्चिकैं श्राप लागेको छ।

अचम्म पनि कतिसम्म डाडु पन्यू हातमा छन् खाना दिएनन्, काम गर्न दिएनन्, सवैधानिक निकाय, पुलिस प्रशासन, संघसंस्था, अदालत सम्पूर्ण आफ्नो तरिकामा सेटिङ्ग छ अनि काम गर्न दिएनन् ? कसले हात समातेर बसेको छ ? सम्पूर्ण संघ संस्था भातृ संगठन झुण्ड झुण्डमा बाँडिएको छ। आफनो स्वार्थको लागि कुनै पनि कार्यक्रमको लागि बजेट निस्कन्छ, कामदार वा कार्यकर्ता निस्कन्छन्, न्याय निस्कन्छ तर सर्वसाधारण अन्याय र अत्याचारमा परेको समूह सधै अन्यायमा ? अति भो महासय अति भो, यो त अति नै भयो। सोच्नुहोस् अब यहाँ तपाईहरुलाई सतिको श्राप परेको छ। आन्दोलन पनि पद र पैसाको लागि ? न्याय पनि समूहको लागि, मुद्दा वा विषय हेरेर कहिल्यै वहस हुँदैन, न्याय निरुपण हुँदैन सधैभरी व्यक्ति वा समूह हेरेर हुने ? कालो वा सेतो गुण वा दोषको आधारमा हुनुपर्दछ महासय, तेरो वा मेरो आधारमा होइन।

लाचार राज्यका लाचार भेडा हामी कति सम्म भने जसले जता गर भन्छ, त्यतै भ्या भ्या गरिदिने। यूवाहरु दिनदिनै लास बनि रहेका छन्। हामीलाई हेर्ने र सुन्ने फर्सद छैन, नारीहरुको अस्मिता लुटिएका छन हाम्रा आँखाले देख्दैन, सोझासाझा घरबारविहिन भएर भोकभोकै सडकमा रात बिताउन बाध्य छन् हामीलाई देख्ने र सुन्ने फूर्सद छैन, ,न्यायका लागि लड्दै गर्दा गंगामायाहरु मृत्यु कुरीरहेका छन् तर हामिलाई फूर्सद छैन, चेली बलात्कृत हँुदा अस्मिता जोगाउने फूर्सद हुँदैन, आँखामा पट्टि बानेर बसेका छौं किनकी हामीलाई हामै्र आफ्नो नियतिले कान नसुन्ने बनाएको छ, दृष्ट्रिविहीन बनाएको छ अनि लाटो बनाएको छ। धिक्कार छ हामी भेडाहरुलाई किनकी हामीलाई सतीको श्राप परेको छ।

अन्याय, अत्याचार र सहनशिलताले सीमा नाघिसक्यो, हामीलाई देशको सीमाको बारेमा बोल्न फूर्सद छैन, अन्याय र अत्याचारको विरुद्ध बोल्न फूर्सद छैन सधैभरी भ्रष्टाचार, लुटपाट, दलाली, मारपीट छ्या आखीर के को लागि ? अनि कहिलेसम्म ? हामी विवेकशिल प्राणी त हौं नि ? के चेतनाको स्तर हाम्रो यति मात्रै हो ? हामी यो भन्दा माथि परिकल्पना गर्न सक्दैनौं ? दिनहुँ छोरी चेली कलिलो बालापनमा निमोठिएका छन्। तिनीहरुले वास्तविक यौवन र यौन चाहना के हो भन्ने पनि राम्रोसँग नबुझ्दै घरबाट थुतेर बलात्कार गरिन्छ, विद्यालभित्र बलात्कार गरिन्छ, विद्यालयबाट घर फर्किदा बलात्कार गरिन्छ हामी अमुक छौं, एक शब्द बोल्ने हामीसँग समय छैन, सहि र गलत छुट्याउने हिम्मत छैन अनि भन्दै छौं समृद्ध देशका समृद्ध जनता ? आखीर कहिलेसम्म ? कहिले खुल्छ हाम्रो चेतनाको स्तर ? धिक्कार छ हामीलाई हामी साँच्चीकै भेडा भयौं निर्मला बलात्कृत भइन् आज गर्भमै छ, अब भागीरथीहरुले पनि यहि नियति भोग्न नपरोस्। गोहीका आँसु झारैर केहि हुनेवाला छैन। सम्वन्धीत ठाउँ, निकाय र व्यक्तिले पहलकदमी चाल्नुपर्दछ। धिक्कार छ भेडा हो। भोली छोरी चेली बलात्कृत हन्छिन् की भनेर भ्रुण नै हत्या गर्ने दिन देख्न नपरोस्। धिक्कार छ हामीलाई आफ्नै छोरी चेलीको अस्मिता अनि जिवन रक्षा गर्न नसकेकोमा धिक्कार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्