मन्त्रीको आदेश नटेर्दा हाजिर भएको १५ दिनमै सरुवा

padma aryal
लाेकपाटी न्यूज
0 Shares

स्याङ्जा। सहायक प्रमुख जिल्ला अधिकारीको पदमा सरुवा भई आएका शशी लम्सालको हाजिर भएको १५ दिनमै सरुवा भएको छ। १५ दिनभित्र उनको दुईदुईपटक सरुवा भएको हो। पहिलोपटक सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पर्वत सरुवा भएका लम्सालको दोस्रोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सरुवा भएको छ।

लम्साल शुक्रबार विदाई भइ नयाँ जिम्मेवारी समाल्न काठमाडौं गए। उनी सरुवा हुनुको प्रमुख कारण जिल्ला उद्योग वाणिज्य संघको चुनाव स्थगित गर्न नसक्नु हो। जिल्ला उद्योग वाणिज्य संघको तत्कालीन अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले अनियमितता गरेको आरोपमा तत्कालिन द्धितिय उपाध्यक्ष महादेव श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा छानविन गर्न पुष २७ मा निवेदन दिएका थिए। पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनाव गर्न दवाब दिइरहँदा कृषि मन्त्री पदमाकुमारी अर्यालले चुनाव रोक्न निर्देशन दिएकी थिइन्। प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत विदामा रहेकाले निमित्त प्रजिअको जिम्मेवारी समालेका लम्साललाई कोरोनाको वाहाना देखाउदै जिल्ला प्रशासनमा चुनाव रोक्न चारजनाले लिखित निवेदनसमेत दिएका थिए।

लम्सालले राजनीतिक कार्यक्रममा ३/४ सय जनाको भेला गरी गर्न हुने तर, १९/२० जनाको चुनावमा कोरोना कारण बनाउन नहुने बताउदै चुनाव गराए। यसो त चुनाव नै रोक्नुपर्ने कुनै कारण नभएको भन्दै चुनाव गराएका थिए। माघ २ गते साधारण सभा र ३ गते चुनाव भएको भोलीपल्ट (माघ ४ गते) लम्सालको सरुवा भएको हो। पुष १९ मा नियमित प्रक्रियाबाट सरुवा भइ आएका लम्सालले भने, ‘सवैको चित्त बुझाएर काम गर्न सकिन। नेताको कुरा नसुनि जनताको काम गर्दा कर्मचारी लामोसमयसम्म कहि रहन पाइदैन।’ उनले उद्योग वाणिज्य संघको चुनाव स्थगित नगरेकै कारण आफू सरुवा हुनुपरेको बताए। लम्साल स्याङ्जाबासी नै हुन्। आफ्नो गृहजिल्लामा पहिलोपटक सेवा गर्ने अवसर पाएका उनी मन्त्रीको आदेश नमान्दा छोटो समयमै जिल्ला छाड्न बाध्य भए।

यसैगरी वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको पनि ५ महिनामै शुक्रबार सरुवा भएको छ। उनीसँगै भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलको पनि १० महिनामै सरुवा भयो। असारसम्म बस्छु भनेर समय माग गरिरहँदा पनि पौडेलको सरुवा भएको नगरपालिकाले जनाएको छ। उनीहरुको सरुवा मात्र पहिलो होइन। मन्त्री अर्यालको आदेश नमान्दा नेपालकै नम्बर एकको सिडियोको उपाधी पाएका रामबहादुर कुरुम्वाङ पनि ६ महिनाभन्दा बढी बस्न पाएनन्।

कामु प्रमुख जिल्ला अधिकारी भएर आएका कुरुम्वाङसँग स्याङ्जाको विकासमा ठूलो आशा लिइएको थियो। उनको कार्यकालपछि कामु प्रजिअ बनेर आएका गंगाबहादुर क्षेत्रीको पनि ६ महिनामै सरुवा भएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कंडेल पनि मन्त्री अर्यालको निर्देशन अनुसार काम नभएको भन्दै समयअवधि नपुग्दै सरुवा हुनुपरेको थियो। सरुवा हुन एक महिना बाँकी रहदा वडा प्रहरी कार्यालय वालिङका इन्सपेक्टर निरन्जन घिमिरे पनि प्रदेश कार्यालय तानिएका थिए। कर्मचारीले आफ्नो क्षमता अनुसार जनताको सेवा गर्नभन्दा पनि राजनीतिक नेतृत्वको दवावमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्