कविता : भ्यालेन्टाइन डे

  • 191
    Shares
लोकपाटी न्यूज
लेखक:  अच्युत दाहाल

अघिल्लो पुस्तासम्म आफ्नै बुढाको नाम
बुढिले काट्दा आयु घट्ने डर हुन्थ्यो
बा लाई केही पल आँखा अघि नदेख्दा
घरीघरी बाहिर भित्र गर्दै छट्पटीनु
खाना खान अघि, चिया पिउन अघि पर्खनु पर्खिरहनु
अनि आफ्नु बुढाको जुठो थाल तान्दै
आफना लागि खाना पस्कनु र खानु
जीवनका कठिन परिस्थितिहरूमा
सुकसुकाउँदै दङ्गाउनु र आफैं सङ्ग रमाउनु,
झमक्क साँझपर्दासम्म बा घर नआउँदा
आँगनको एक कुनामा बसि बाटो हेरिरहनु
हरेक साँझ बिहान उहाँकै छत्रछायामा रमाउन जानेकी मेरी आमालाई
भ्यालेन्टाइन डे के हो रु कहिल्लै थाहा भएन
वर-पिपल जस्तै शीतल छहारीमा वाहा हरूले
घरको भविष्यहरू हुर्काइरहनु भयो।

प्रत्येक साल कटिङ गर्दै सारी मलजल गरि फुलाएका गुलाबहरूलाई
कहिले चुँडाइनन् आमाले
न त कसैलाई चुँडाउन नै दिइन्
सायद त्यसमा आफ्नै प्रतिबिम्ब देख्थिन
बरु बाँसको टेवा दिएर ढकमक्क फुल्न दिइन्।

घरको थुप्रै आवश्कता बोकेर
थकानले कट्कट दुःखेको जिउ
थोत्रे चप्पलले घिसार्दै घारी गाउँ त
घारी बेसी गर्दैअमिलो साँझमा
घर ल्याइपुर्याउने बाउलाई के थाहा
छोरा-छोरी ठुस्किनुको कारण
भोको पेटमा ढिडो र रोटी होइन
आज चकलेट डे हो भनेर।

के प्रेम देखाएर देखिन्छ ?
प्रेम गर्ने हो कि हुने हो ?
प्रेम साट्न मिल्छ र सामान सङ्ग ?
के प्रेम गर्न पनि कुनै तिथि र मिति
तोकिएको हुनु पर्छ ?
यो दिन प्रेम गर्नै पर्ने हो ?
कि यही दिन मात्र प्रेम गर्नुपर्ने हो ?
पक्कै नबुझेर होला
त्यो ठूलो भिड्भिड भित्र
अन्योलतामा अल्झेका अनुहारहरूको
होडबाजी चलिरहेछ
गुलाब,टेडि र चकलेटहरू किन्न
उपहार किन्न ,फोटो खिच्न
अझै अरु के के खोजिहिँड्न
छ्यापाछ्यापती छन्
गल्ली-गल्ली
कुना-काप्चा
चेप-चापतिर
ठूलठूला होटल अनि बारतिर।

साँच्चै
हिजोआज प्रेम साह्रै व्यस्त छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्