वालिङ्मा पहिलोपटक साहित्य चित्रकला प्रर्दशनी

pic 5
  • 35
    Shares
लोकपाटी न्यूज

स्याङ्जा। नेपालको मौलिक कलाको रुपमा परिचित थाङ्का/पौभा कलाको प्रदर्शनी पहिलोपटक वालिङमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको शिल्पकला विभागको आयोजनामा दुईदिने प्रदर्शनी राखिएको थियो। प्रदर्शनीमा नेपालको मौलिक पहिचान झल्कने गरी आयोजना गरिएको थियो।

प्रदर्शनीमा नेपालका प्रसिद्ध दिवंगत तथा वर्तमानका चर्चित तीन दर्जन कलाकारका कलाकृति राखिएको अग्रज साहित्यकार देवीप्रसाद वनवासीले बताए। उनले कला र संस्कृतिले समाजलाई सभ्य र समृद्ध बनाउने बताए। उनले भने, ‘कलाले मानिसलाई सुखी र आनन्दित बनाउन उत्प्रेरित बनाउने भएकाले यसको महत्व विशिष्ट छ। यसर्थ क्षेत्रलाई राज्यले सदैवमा सहयोग गर्नुपर्दछ।’ प्रर्दशनीले कलाकारको सम्मान बढाउने र स्थानीय सरकारको पनि भूमिका बढाउने सहभागीको धारणा थियो।

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले कलाप्रतिको सामाजिक दृष्टिकोणलाई सकारात्मक रुपमा अगाडि बढाउनुपर्ने बताउदै नेपालको हिमाली, पहाडी भेग तथा काठमाडौं उपत्यकाभित्र सिर्जना भएको कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वको बारेमा चर्चा परिचर्चा गर्ने हेतुले वालिङमा पहिलोपटक प्रर्दशनी गरिएको बताए।

उनले भने, ‘कलाको विकासविना समाज र राज्यको विकास नहुने महशुस गरी हामीले स्थानीय संघसंस्थाको संयोजनमा मोफसलमा पनि कलाको विकास हुनुपर्ने महशुस गरी प्रदर्शनीको आयोजना गरेका हौं।’ उनले सातवटै प्रदेशमा परम्परागत चित्रकलाको प्रदर्शनी गरिने बताए।

साहित्यकार शम्भु अर्यालले चित्रहरु हेर्दै कलाकारसँगको प्रत्यक्ष कुराकानीले कला बुझ्न निकै सघाउ पुगेको बताए। उनले एउटा कलाकृति सिर्जना गर्न महिना तथा वर्ष विताउनुपर्ने भएपनि आफ्नो ठाउँमै बहुमुल्य कलाकृति हेर्न पाउनु महत्वपूर्ण रहेको बताए।

यस्ता कलालाई आमविद्यार्थी, शिक्षक तथा पारखीमाझ लैजानुपर्नेमा प्रदर्शनीमा सहभागीले जोड दिएका थिए। ‘यहाँका बौद्धिक वर्ग तथा विद्यार्थी कला सिर्जनामा इच्छुक रहेपनि कलाको संस्कार र शिक्षा दिन पाएका छैनौं’ अर्यालले भने। प्रदर्शनीले विद्यार्थीको हृदयमा कलाको वृद्धिविकास गर्न सहयोग पु¥याए पनि प्रतिष्ठानले हप्ता दश दिनको प्रशिक्षणात्मक कार्यशाला तथा अन्तरक्रिया गर्नुपर्ने उनको भनाइ थियो। प्रदर्शनीमा कलाकार, समाजसेवी, साहित्यकार, विद्यार्थी लगायतको उपस्थिति थियो।

प्राज्ञ मानबहादुर दोङले नेपालको हिमाली तथा पहाडी भागमा बसोबास गर्ने बौद्ध धर्मालम्बी र काठमाडौं उपत्यकामा बसोबास गर्ने हिन्दु एवं बौद्ध मान्ने नेवार समुदायले परम्परागत चित्रकला शताब्दीऔंदेखि बताउँदै आएको बताए। दोङले भने, ‘वागमती प्रदशेमा मात्रै सीमित रहेको यो कलालाई सातै प्रदेशमा पु¥याउने लक्ष्य राखेर गण्डकी प्रदेशको वालिङमा पहिलो प्रदर्शनी गरेका हौं।’ परम्परागत कलाले नेपालीलाई विश्वसामु चिनाउने उनले बताए। कला/संस्कृतिको प्रदर्शन राजधानीबाहेक अन्यत्र हुने नसकेको उनको भनाइ थियो। साहित्यकार लक्ष्मी रेग्मीले कला र साहित्यको महत्वका विषयमा चर्चा गर्दै समाज रुपान्तरणमा यसको महत्व विशेष रहेको बताए।

उनले प्रदर्शनी अवलोकनपछि कलाप्रतिको आम बुझाइमा परिवर्तन आउने धारणा व्यक्त गरे। उनले भने, ‘कलापारखी, विद्यार्थी, आमदर्शकले कलाको गहिराइ, त्यसको आयाम, मौलिकता र शैलीका बारेमा बुझ्न सजिलो भयो।’ वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाका संयोजक तथा साहित्यकार मिलन समीरले कला र साहित्यलाई संगसंगै लैजाने अभिप्रायका साथ प्रदर्शनीको आयोजना गरिएको बताए।

उनले वालिङमा भएको यो प्रदर्शनीले नेपाली कलाप्रतिको दृष्टिकोणलाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। समीरले भने, ‘स्याङ्जाको लोक साहित्य, कला, संस्कृति र परम्परामा जागरण ल्याउन यी र यस्ता अर्थपूर्ण कार्यक्रम नियमित रुपमा गरिनुपर्दछ। त्यसका लागि स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्दछ।’ वालिङ नगर उपप्रमुख कल्पना तिवारीले आफ्नै घरदैलोमा मूल्यवान् कला सिर्जनाहरु हेर्न पाएकोमा खुशी व्यक्त गर्दै नगरपालिकाले पनि कला र संस्कृतिलाई प्राथमिकतामा राखि काम गरेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्