निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दल निर्वाचन आयोगमा

nirbachan-aayog
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे अहिले दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन्। यस्तै निर्वाचन आयोगका आयुक्तहरु, सचिवहरुसँगै कानुनविदहरु पनि छलफलमा सहभागी छन्।

नेकपा आन्दोलनरत समूहले छलफलको सुरुवातमै पार्टीको विवाद निरुपण किन भएन भनेर प्रश्न गरेको छ। यो समूहको तर्फबाट नेता लीलामणि पोखरेल लगायत छलफलमा सामेल छन्। ओली समूहका तर्फबाट कानुनविद बाबुराम दाहाल लगायत सामेल छन्।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गर्दै आएपनि निर्वाचन आयोगले भने आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ। तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड-माधव खेमा संसद पुनर्स्थापनाका लागि संघर्षमा छ। यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि असंवैधानिक नै हुने बताइरहेको छ।

प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ। आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्