राष्ट्र बैङ्कको डेपुटी गभर्नरको लागी दौडधुप सुरु

nepal-rastra-bank
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आउँदो फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नर पद रिक्त हुँदैछ। चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ पाँच वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। रिक्त हुने पदका लागि अहिलेबाटै दौडधुप सुरु भइसकेको छ। प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक संकटले उम्मेदवारहरु अलमलमा देखिएका छन्।

केपी ओली नेतृत्वको सरकारकार रहनेरनरहने निश्चित छैन। प्रतिनिधिसभा पुनर्स्थापना भएमा अर्कैको नेतृत्वमा सरकार बन्न सक्छ। त्यसैले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु दौडधुपमा लागेपनि उनीहरु अलमलमा देखिन्छन्। डेपुटी गभर्नरका लागि सबै १७ जना कार्यकारी निर्देशकहरुको दाबी पुग्छ। सामान्यतया वरिष्ठबाट छान्नुपर्ने हुन्छ। तर यसमा गभर्नर र अर्थमन्त्री (प्रधानमन्त्री पनि) को रोजाइ हावी हुने भएकाले कनिष्ठ कार्यकारी निर्देशकलाई पनि डेपुटी गभर्नर बन्न सक्छन्।

केपी ओलीकै सरकार रहेको अवस्थामा एउटा कोटा कांग्रेसले पाउने सम्भावना पनि छ। सरकार ढलेमा अहिलेको समीकरण नै फेरिने अवस्था पनि छ। ‘अलमल अलमल देख्छु। तर यत्ति हो- विघटनअघि कांग्रेसको कोटा हुन्न थियो होला तर अब कांग्रेसले पनि कोटा पाउने छ,’ एक जना कांग्रेस निकट कार्यकारी निर्देशकले भने।

राष्ट्र बैंकका अधिकारीहरु र सरकारका कतिपय ब्यक्तिहरु एक जना डेपुटी गभर्नरका लागि मात्र अब प्रतिस्पर्धा हुने बताउँछन्। डा.प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेललाई सघाउन अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भइसकेका छन्। अहिलेको सरकारले निरन्तरता पाएमा श्रेष्ठ आगामी डेपुटी गभर्नर हुने निश्चितजस्तो देखिन्छ। उनी राष्ट्र बैंकको निर्देशक मात्र हुँदा लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्ष भएका थिए। त्यहाँका मुख्यमन्त्री शंकर पोखरेल हुन्। पोखरेल र पौडेल दुवै प्रधानमन्त्री केपी ओलीका निकट भएकाले श्रेष्ठ नै डेपुटी गभर्नर हुने निश्चितजस्तो देखिएको हो।

अर्को डेपुटी गभर्नरमा भने प्रतिस्पर्धा हुने छ। स्रोतहरुका अनुसार, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी निलम ढुंगाना तिमिल्सिना, अनुसन्धान विभागका डा। गुणाकर भट्ट मुख्य प्रतिस्पर्धीका रूपमा देखिन्छन्। यसबाहेक अन्य कार्यकारी निर्देशकहरु पनि निक्कै काबिल छन्। गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंककै क्याडर हुन्। उनले लामो समय नियमन र सुपरिवेक्षणमा काम गरेका छन्। त्यसैले उनले अर्थशास्त्रीबाट छान्ने संभावना उच्च छ।

अन्य कार्यकारी मुकुन्दकुमार क्षेत्री, ऋषिकेश भट्ट, बमबहादुर मिश्र, सुमनकुमार अधिकारीलगायतको पनि संभावना उच्च छ। राजनीतिक संकट देखिएका कारण अहिले केही कांग्रेसी उम्मेदवार पनि प्रतिस्पर्धामा लागेका छन्। यसअघि कांग्रेसले संवैधानिक निकायहरुमा भाग पाएको थियो। अघिल्लो पटक डेपुटी गभर्नर नियुक्त गर्ने बेलामा अर्थमन्त्रीमा विष्णु पौडेल नै थिए। उनले तत्कालिन एमाले कोटाबाट शिवाकोटी र कांग्रेसी कोटाबाट श्रेष्ठलाई नियुक्त गरेका थिए। त्यो बेला नारायण पौडेल र शिवनाथ पाण्डे पनि सिफारिसमा परेका थिए।

तत्कालिन गभर्नर चिरञ्जीवी नेपाल पनि पाण्डेलाई डेपुटी गभर्नर बनाउन चाहन्थे। नेपालले नै श्रेष्ठ पनि सिफारिस भएको सूचना चुहाए। त्यसपछि व्यापक पारिवारिक अस्त्र प्रयोग गरेर श्रेष्ठले पाण्डेलाई उछिनेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्