प्रचण्ड-नेपाल पक्षले भन्यो : नेकपाको विवाद हल नगरी चुनावमा जान मिल्दैन

Lilamani_Pokhrel
  • 2.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ। निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नेकपाका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताए।

नेकपाको प्रचण्ड-माधव नेपाल पक्षका नेता पोखरेलले विवाद सुल्झाएर मात्रै निर्वाचनमा जानुपर्ने बताए। उनले आयोग सरकारको लाचार छाया बन्न नहुने पनि बताए। ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ ? नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ छलफलमा बोलेर बाहिरिएका नेता पोखरेलले भने।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए। तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय गर्‍यो। त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको नेता पोखरेलले बताए। उक्त विवादको टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ भनेर उनले निर्वाचन आयोगलाई सोधेका छन्।

पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा रहेको र निर्णय आइनसकेका कारण निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताए। आफूहरुले निर्वाचनसँग सम्बन्धित कुनै काम अघि नबढाउन आयुक्तहरूलाई भनेको उनले सुनाए। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ।

आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको थियो। १४ दल छलफलमा सहभागी रहेका छन्। आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड-नेपालबाट पोखरेल सहभागी छन् भने कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन्। पोखरेलका अनुसार निर्वाचन आचारसंहिताबारे आयोगले मस्यौदा प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्