काठमाडौं। सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको प्रमाण बुझ्न आदेश दिएको छ।आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले नेपाल र भट्टराई विरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो।
रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न आदेश दिएको जानकारी दिए। ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए। अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ।
मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ। वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ। नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए।
अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो। अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सरकारी जग्गा व्यक्तिका नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीदेखि पूर्व प्रशासकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ।