जग्गा विवादमा सभामुखको ध्यानाकर्षण, वास्तविकताको बारे प्रस्तुत गरे यी चार तथ्य

Agni sapkota
  • 37
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा वन तथा भूसंरक्षणमन्त्री हुँदा सर्दु जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सार्वजनिक भएका विवादित समाचारको उनको सचिवालयले खण्डन गरेको छ। उक्त जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिमको विषय भएकाले सापकोटालाई जोडेर सार्वजनिक भएका समाचारको सचिवालयले खण्डन गरेको हो।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले विज्ञप्ति सार्वजनिक गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको बताएका हुन्। उनले उक्त विषयका सम्बन्धमा चारवटा तथ्यसमेत दिएका छन्। न्यौपानेले सार्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यतालाई नबुझी भ्रमपूर्ण समाचार प्रकाशित गरिएको बताएका छन्।

‘सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था (संविधानको धारा १२६) र तत्कालीन वन तथा भूसंरक्षण सचिवले उठाएको उल्लेखित टिप्पणी अनुसार अगाडि बढाइएको स्पष्ट छ’, न्यौपानेले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘संविधानको धारा १२८ को उपधारा ४ मा ‘सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्नसक्ने छ’ भन्ने व्यवस्थालाई ध्यानमा राखिएको थियो।’

सर्वोच्च र अन्य मातहतका अदालतको फैसला कार्यान्वयन गर्दा सभामुखको नाम जोडेर गरिएको प्रचारलाई प्रेस विज्ञ न्यौपानेले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन्। उनले यो विषयलाई तोडमोड गरेर प्रचार गरिएका विषयको भ्रममा नपर्नसमेत अनुरोध गरेका छन्।

‘सम्मानित सर्वोच्च अदालतको परमादेश, सो परमादेश उपर निस्सा दिन नमिल्ने सम्मानित सर्वोच्च अदालतकै निर्णय, महान्यायाधीवक्ता कार्यालयको राय, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट परमादेश कार्यान्वयनका लागि पटकपटक भएको ताकेता र संविधानको धारा १२६ र १२८ का आधारमा अगाडि बढाइएको विषय स्पष्ट र तथ्य जगजाहेर हुँदाहुँदै देशको पछिल्लो विकसित राजनीतिक घटानाक्रममा संविधान, लोकतन्त्र र जनाधिकारको रक्षार्थ उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ’, न्यौपानेले सार्वजनिक गरेको प्रेस नोटको अन्तिममा भनिएको छ, ‘विषयलाई तोडमोड गरी प्रचार गरिएकोमा त्यस्ता प्रचारको भ्रममा नपर्न सबैमा अनुरोध छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्