पार्टीभित्रबाट असहयोग भएपछि प्रतिनिधिसभा बिघटन गरें : प्रधानमन्त्री ओली

KP sharma Oli
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे उपलब्धिबारे चर्चा गरेका छन्। संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफलनै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको ओलीले दाबी गरे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न भएको सिंहदरवारको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुख्य उपलब्धिबारे चर्चा गर्नुअघि प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे बोलेका थिए। उनले पार्टीभित्रबाट आफूलाई असहयोग भएपछि प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे।

उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखेपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए।

ओलीले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दावी गरे । केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले बताए।

उनले एक वर्षदेखि संवैधानिक निकायहरु पदाधिकारीविहीन रहेको, संसदमा पेश भएका कयौं विधेयक छलफलमा नलगिएको गुनासोसमेत गरे। आफ्नै दलका साथीहरुले समेत कचिङ्गल मच्चाएर सरकारका कामहरुमा अवरोध खडा गर्ने काम भएकाले नै आफूले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिएको ओली बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्