‘म वामदेव गौतमतिर नरहेको जानकारी गराउँछु’

Bamdev_Gautam
  • 329
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पार्टी फुटेपछि नेकपामा अहिले पद फ्यालाफ्याल छ। जता गए पनि पदै पद। पार्टी विभाजनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले १५ सयको जम्बो केन्द्रीय कमिटी बनाएर धेरैलाई केन्द्रीय सदस्य बाँडे। पूर्वमाओवादीका बादलदेखि मणि थापासम्मलाई आफूतिर तान्न मन्त्री दिए। ओली समूहमा लागे केन्द्रीय सदस्य पाइने प्रचार गरियो। धेरैले केन्द्रीय सदस्य अस्वीकार पनि गरे। त्यसैले केन्द्रीय सदस्य छाड्ने र थपिने क्रम अझैसम्म चलिरहेको छ।

नेकपाको विभाजनपछि उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान घोषणा गरे। धेरै पहिला नै अभियान घोषणा गरेका उनले आइतबार ६६७ सदस्यीय केन्द्रीय समन्वय समिति सार्वजनिक गरे। ओली र प्रचण्ड-नेपाल समूहमा कार्यकर्ता तानातान र उस्तै परे हानाहानको अवस्था रहेका बेला गौतमले पनि धेरैलाई समेट्ने गरी ठूलो समिति घोषणा गरे।

ओलीको १५ सयको जम्बो केन्द्रीय समिति छाड्नेको लहर चलेजस्तै वामदेवलाई पनि पहिलो गाँसमै ढुंगा लागेको छ। उनले घोषणा गरेका केन्द्रीय समन्वय कमिटीका एक सदस्यले आफूलाई सोध्दै नसोधी राखिएको भन्दै अस्वीकार गरेका छन्। इलामकी मुना शर्माले सोमबार विज्ञप्ति जारी गर्दै आफू गौतमले घोषणा गरेको कमिटीमा नरहने प्रष्ट पारेकी हुन्।

शर्माले भनेकी छन्, ‘नेकपाभित्र जारी अन्तरसंघर्षदेखि पछिल्लो समय आ-आफ्नो गुट निर्माण गर्ने क्रममा २०७७/११/३ गतेका दिन एउटा राष्ट्रिय पत्रिकामा कमरेड वामदेव नेतृत्वको एकता राष्ट्रिय अभियानको समन्वय समिति र केन्द्रीय कार्य-सम्पादन समितिअन्तर्गत केन्द्रीय सदस्य पदमा मेरो पनि नाम आएको भनी समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

शर्माले प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा आवद्ध रहेको प्रष्ट पार्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध अन्तिमसम्म उभिने प्रतिवद्धता पनि जनाएकी छिन्।

‘मलाई थाहा नै नदिई उक्त समूहको केन्द्रीय सदस्यमा राखेकोमा मेरो पूर्ण असहमति रहेको कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछु’,उनले भनेकी छिन्, ‘म असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदमको उदाहरणस्वरूप गरिएको प्रतिनिधिसभा भंगको विरुद्ध उभिने प्रतिवद्धतासहित पार्टीका बहुमत सदस्यहरुले प्रतिनिधित्व गरेको अर्थात् प्रचण्ड,माधव कुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको पार्टीमै आवद्ध भएको जानकारी गराउँछु।’ जनआस्थाबाट

muna-sharma

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्