नेपालमा भाजपा सरकारको चर्चा ओलीको गोप्य मन्त्रणाको परिणाम हो : भीम रावल

Bhim_Rawal
  • 780
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले भारतका एक मुख्यमन्त्रीले नेपालबारे दिएको अभिव्यक्तिको निन्दा गरेका छन्। रावलले भारतीय गृहमन्त्रीलाई उद्धृत गर्दै भारतका एक मुख्यमन्त्रीले नेपालको स्वाधिनता र स्वाभिमानकाविरुद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन्।

भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापना गर्ने योजना बनाएको त्रिपूराका मुख्यमन्त्री विप्लव देवले बताएका थिए। त्रिपूराका मुख्यमन्त्री देवले गृहमन्त्री शाहलाई उद्धृत गरेर दिएको उक्त अभिव्यक्तिको नेता रावलले निन्दा गरेका हुन्।

उनले यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय गुप्तचरसँगको गोप्य भेटको परिणाम भएको पनि आरोप लगाएका छन्। मुख्यमन्त्रीले दिएको नेपाल विरोधी अभिव्यक्ति कुनैपनि देशभक्त नेपालीलाई सैह्य नहुने पनि रावलले आज गरेको ट्विटमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो। नेपाल विरोधी कुनै पनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन।’

इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएको भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ। शनिबार त्रिपूरा भ्रमणमा गएका गृहमन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएको खबरमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्