उद्योगीले घटाए निर्माण सामग्रीको मूल्य

  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। निर्माण सामग्री डण्डी र स्टिलको अत्यधिक मूल्यवृद्धि गरेका उद्योगीहरूले थोरै मूल्य भएपनि घटाउन थालेका छन्। पछिल्लो समय उद्योगीले बिनाकारण मूल्य बढाएको भन्दै यससँग सम्बन्धित विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए। त्यसँगै उद्योगीहरूले केही मात्रामा भएपनि मूल्य घटाएको हो।

उद्योग मन्त्रालयको मातहतमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार डण्डी उद्योगीहरूले मूल्य घटाएको जनाएको छ। देशभर दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योगी छन्। त्यसमध्ये केही उद्योगले मूल्य घटाएको विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए।

बजारमा अत्यधिक मूल्य बढेको भन्दै विभागले विशेष अनुगमन गरेको थियो। सोही अनुसार कृत्रिम हो वा अन्य कुनै कारण हो भन्ने विषयमा अध्ययन गरी मूल्य घटाउन सफल भएको विभागको दावी छ।

विभाग अनुसार देशभर रहेका सबै उद्योगले मूल्य नघटाए केही उद्योगीहरूले ४ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य घटाएको छ। जसमा पहिलो पटकमा लक्ष्मी स्टिल र श्री स्टिलले विगतको दिनमा प्रतिकेजी ८१ रुपैयाँमा बिक्री गरिरहेको स्टिलको मू्ल्य ४ रुपैयाँ घटाएर ७७ रुपैयाँमा कायम भएको विभागले जनाएको छ।

त्यसैगरी, मोरङको हुलास वायर इ. लिमिटेडले दशैंपश्चात प्रति केजी ८० रुपैयाँमा डन्डी बिक्री गरिरहेका थिए। तर, अहिले ८ रुपैयाँ मूल्य घटाएर नयाँ मूल्य कायम गरेको विभागले जनाएको छ।

त्यस्तै, मोरङ जिल्लामै रहेको कमला रोलिङ मिल्स प्रालिले एक महिनाको समय अवधिमा फलामे छडको मूल्यमा मोटाइ अनुसार प्रतिकेजी ११ रुपैयाँदेखि १३ रुपैयाँसम्म मूल्य बढाएको जनाएको छ। विभागले मोटाइ अनुसार हालको प्रतिकेजी मूल्य ७२ र ६९ रुपैयाँ मूल्य तोकेको जनाएको छ।

तर, अझै केही उद्योगीहरूले मूल्य नघटाएकाले त्यस विषयमा अनुगमन तथा अध्ययन तीब्र रुपमा भइरहेको प्रवक्ता सेढाईको भनाइ छ।

‘बिस्तारै उद्योगीहरूले डन्डी तथा स्टिलको मूल्य घटाउन थालेको छ,’ उनले भने, ‘अझै केही उद्योगीहरूले घटाएका छैनन्। अन्य उद्योगहरूले घटाएपछि अन्यले पनि घटाउँदै जानेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्