कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा छ : डा. कोइराला

shashank koirala congress
  • 466
    Shares
लोकपाटी न्यूज

दाङ। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसद विघटनको विरोधमा हुने आन्दोलनमा कांग्रेसले कसैसँग पनि सहकार्य नगर्ने बताएका छन्। सडकमा रहेका वा सत्तामा रहेका कुनै पनि पक्षसँग कांग्रेसले सहकार्य नगर्ने कोइरालाले बताए। घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस एकल आन्दोलनमा रहेको बताए।

‘संसद विघटनको विरोधमा हुने आन्दोलनमा कांग्रेसको कोही कसैसँग सहकार्य हुँदैन,’ उनले भने ‘त्यसमाथि अझ कम्युनिस्ट सँग झनै सम्भव छैन।’ ‘कांग्रेस बिचार, सिद्धान्तमा सबै भन्दा शक्तिशाली पार्टी रहेकाले आन्दोलनका लागि कसैसँग सहकार्य गर्न जरुरी नभएको उनले बताए।

संसद पुनर्स्थापनाको सवालमा कांग्रेस एक्लै आन्दोलनमा रहने उनको भनाई छ। ‘कांग्रेस विचार र सिद्धान्तमा सबै भन्दा बढी शक्तिशाली पार्टी हो,’ उनले भने ‘यसर्थ संविधानलाई ट्रयाकमा ल्याउनका लागि कांग्रेस एक्लै आन्दोलनमा जान्छ।’ पार्टीभित्र संसद पुनर्स्थापना वा चुनाव ? भन्ने विषयमा कांग्रेस भित्र मतभेद नरहेको उनले बताए।

‘कांग्रेसको केन्द्रीय समितिले आन्दोलनमा जाने निर्णय गरेको हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा छैन।’ यसै गरी वैशाखमा चुनाव हुनै नसक्ने दाबी गरेका उनले कांग्रेस चुनावका पछाडि नलाग्ने बताए। पार्टीको महाधिवेशन अहिले कांग्रेसको प्रमुख कार्यभार रहेको भन्दै कोइरालाले पहिला महाधिवेशनबाट आफूलाई परिमार्जित गरेर बल्ल निर्वाचनमा बलियो शक्ति बनेर प्रस्तुत हुने उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्