एमिकस क्युरीको बहस : ‘बहस संविधानको धारामा केन्द्रित हुनुपर्छ’

amikas
  • 172
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न सुरु गरेको छ। सोमबार रिट निवेदकको जवाफ सकिएपछि मंगलबारबाट अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय राख्न सुरु गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले एमीकस क्युरी गठन गर्ने फैसला गरेको थियो। जसमा नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीमा चयन भएका थिए।

नेपाल बार एसोसियसनको तर्फबाट एमीकस क्युरीमा रहेका कानुन व्यवसायी बद्रीबहादुर कार्कीले राय दिइरहेका छन्। उनले संविधानमा के लेखेको छ, बहस त्यसमा केन्द्रित हुनुपर्ने बताएका छन्। कार्कीले भने, ‘संविधानमै नभएको विषय अन्त हेर्ने होइन, संविधानमा के लेखेको छ, त्यसमा केन्द्रित हुनुपर्छ।’

उनले नेपालको संविधान लिखित भएको र संविधानमा एउटा धारामात्र नभई अरु धाराको पनि अध्ययन गर्न इजलासका न्यायाधीशलाई आग्रह गरे। कार्कीले भने, ‘हामीसित लिखित संविधान छ। संविधानमा एउटा धारा मात्रै होइन, अरु धारा पनि छन्। ती सबै अध्ययन गरेर श्रीमानहरूले भन्ने कुरा हो। सबै पाटोमा हेरेर व्याख्या गर्ने हो। संविधानमा ग्याप कता छ भनेर हेर्नुपर्छ। एउटै मात्र होइन, अरु धाराबीचको ग्याप हेरेर व्याख्या गर्नुपर्छ।’

संविधान निर्माणमा सहभागीहरू नै संविधान संकटमा परेको भनी आन्दोलनमा रहेका बेला इजलासका न्यायाधीशहरूमाथि ठूलो जिम्मेवारी आइपरेको उनको भनाइ छ। ‘जसले संविधान बनायो, जसले लागू गर्नुपर्ने थियो, ती सबै संविधान संकटमा परेको भनेर आन्दोलनमा छन्’, कार्कीले भने, ‘अर्थात्, तिनले संविधान दुर्घटनामा परेको महसुस गरेका छन्। त्यसैले तपाईंहरू पाँच जना श्रीमानलाई गम्भीर र ठूलो जिम्मेवारी आइपरेको छ।’

उनले संविधानमा स्पष्टरूपमा संसदीय व्यवस्था भनिएकाले यहाँ कोही अलमलिनु नपर्ने बताए। कार्कीले भने, ‘हाम्रो संविधानमा अन्तिममा पार्लियामेन्ट सिस्टम लेखियो। संविधानको धारा ७४ मा बहुलवादमा आधारित संसदीय व्यावस्था लेखियो। हाम्रा अरु विशेषता पनि संसदीय नै छन्। यसमा अलमलिनु पर्ने कुनै कारण छैन।’