प्रत्येक प्रदेशमा कम्तीमा ५ स्टक ब्रोकरलाइ लाइसेन्स दिने धितोपत्र बोर्डको तयारी

  • 24
    Shares
लोकपाटी न्यूज

काठमाण्डौँ। नेपाल धितोपत्र बोर्डले अब हरेक प्रदेशमा कम्तीमा ५ प्रादेशिक स्तरको धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर) दिने भएको छ।

बोर्डले अबको १ महिनाभित्रै ७ वटै प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको हो। संघीय संरचनामा मुलुक गइसकेपछि नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकर लाइसेन्सको अवधारणालाई अघि सारेकोमा अब १ महिनाभित्रै प्रादेशिक ब्रोकर लाइसेन्स दिने विषयमा अन्तिम प्रारुप तयार गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले जानकारी दिएका छन्।

अब हरेक प्रदेशमा कम्तीमा ५ वटा नयाँ धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)को लाइसेन्स दिन तयारी भइरहेको जिकिर गरेको बोर्ड अध्यक्ष ढुंगानाले प्रादेशिक ब्रोकर प्रदेशकै व्यक्तिले सञ्चालन गर्नुपर्ने शर्त राखिएको बताए।

काठमाण्डौंकै व्यक्तिले भने प्रादेशिक ब्रोकर लाइसेन्स नपाउने उनको दाबीसमेत छ। ती प्रादेशिक ब्रोकरले आफ्नो क्षेत्रभित्र आधिकारिक प्रतिनिधिमार्फत ग्राहक विस्तार गर्नुपर्ने, सेवा विस्तार गर्नुपर्ने प्रावधान समावेश हुने उनको भनाइ छ।

प्रादेशिक ब्रोकरको लाइसेन्स लिएका सम्बन्धित ब्रोकरले सम्बन्धित प्रदेशभित्र सेवासुविधा र सेयर शिक्षा पनि अनिवार्य रुपमा दिनुपर्ने शर्त राखिने बोर्ड अध्यक्ष ढुंगानाले बताएका छन्।

पछिल्लो समयमा धितोपत्र बजारका विषयमा देशभरका नागरिकहरुले निकै चासो दिइरहेका छन्। धितोपत्र बजारका बारेमा देशभर चेतना फैलिएसँगै प्रदेशहरुमा समेत नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने बोर्डको तयारीले बजारको थप विकास र विस्तारमा सघाउ पुग्ने ठानिएको छ।

हाल काठमाण्डौ केन्द्रीय कार्यालय रहेका ५० ब्रोकर कम्पनीले देशका विभिन्न ठाउँमा शाखा संचालन गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्