अयोधी भन्छन् : ‘निर्वाचन आयोगले सूर्य चिन्ह र नेकपा फ्रिज गर्न पाउँदैन’

ayodhi prasad Yadav
  • 7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन्। आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ।

हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्तामा डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण अब वैशाखमा चुनाव हुन नसक्ने बताए। आयोगले नेकपाको विवाद समाधानमा चासो नै नदेखाएको र नेकपाको विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने उनको भनाइ थियो।

मुलुकको आवश्यकताका लागि फास्ट ट्रयाकबाट राजनीतिक दल सम्बन्धी ऐन, नियम र यसअघिका नजिरका आधारमा निर्णय गर्न आयोगलाई कुनै कठिनाइ नभए पनि आयोग अग्रसर नहुँदा आयोगमाथि अनेक टिप्पणी भइरहेको यादवको भनाइ छ। आयोगमा उपलब्ध नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमतका आधारमा आयोगले विवाद निरुपण गर्न कुनै समस्या नहुने यादवले बताए।

विवाद गरिरहेका दलहरुले दाबी गर्दासम्म चुनाव चिन्ह, दलको नाम, झण्डा फ्रिज गर्न नपाउने र आयोगलाई त्यो अधिकार नै नभएको यादवको भनाइ छ। अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाप्रति इंगित गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले अहिलेको राजनीतिक संस्कारअनुसार जसको आडभरोसामा संस्थाको प्रमुख भए पनि त्यो व्यक्ति संस्थाप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने अन्यथा त्यसको भागिदार स्वयं हुनुपर्ने उनको भनाइ छ।

आयोग र त्यसको नेतृत्वकर्ता थपलियालाई कुनै दल वा व्यक्तिको प्रभावमा नपर्न पनि यादवले आग्रह गरेका छन्। पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भेटेरै आयोगलाई जिम्मेवार भएर निर्णय गर्न आग्रह गरे पनि त्यो हुन नसकेको उनको भनाइ छ। नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने र भइहालेमा पनि त्यसले समस्या समाधान नगर्ने र मुलुकलाई थप अध्यारोतर्फ लैजाने यादवको तर्क छ।

अहिलेको विवाद सर्वोच्चमा रहेको र अदालतले संसद पुनर्स्थापना गरे पनि नेकपा विभाजनको अवस्थामा रहेकाले आयोगले निर्णय गर्नैपर्ने उनले बताए। पुनर्स्थापनापछि संसदमा प्रतिपक्षी र सत्तापक्ष कता बस्ने भन्नका लागि पनि आयोगले निर्णय गर्नैपर्ने डा. यादवको भनाइ छ। यादवसँग २०६४ र ७० को संविधानसभा चुनाव गराएको अनुभव छ भने ०७४ सालको चुनाव उनकै नेतृत्वमा भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्