ओली प्रधानमन्त्री बनेपछिका तीन वर्ष खेर गए : मिलन पाण्डे

Milan_Pandye
  • 187
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सरकार गठन भएको तीन वर्षमा प्रधानमन्त्री केपी शर्मा ओली राज्य सञ्चालन र नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्न पूर्णतः असफल भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध रत्नपार्क शान्ति बाटिकामा विवेकशील साझाले सुरु गरेको १० दिने प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले उक्त टिप्पणी गरेका हुन्।

सरकार गठन गरेको तीन वर्षमा ओलीले पटक-पटक चिट चोर्दा, सेन्टर कब्जा गर्दा र आफैँ कापी जाँच्दासमेत पूर्णतः असफल भएको उनले जिकिर गरे। पाण्डेले प्रधानमन्त्री ओलीलाई स्ट्यान्डप कमेडियन हुनु र प्रधानमन्त्री बन्नुमा फरक रहेको भन्दै व्यंग्य गरे। हजुरबुबाले ल्याएको प्रजातन्त्र, बाले ल्याएको लोकतन्त्र अनि काकाले ल्याएको गणतन्त्र जोगाउन आफ्नो पुस्ता र आफ्नो पार्टी सक्षम रहेको उनको दाबी छ।

विरोध सभामा बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पुरातनवादी राजनीतिक संस्कार सुधार गर्न विवेकशील साझा पार्टी प्रतिबद्ध भएर लागेको बताए। पार्टीको अभियान विभागले प्रतिगमनविरुद्ध प्रतिरोध अभियान आयोजना गरेको हो। अभियान दश दिनसम्म दैनिक साँझ ४ बजे रत्नपार्कको शान्ति बाटिकामा आयोजना हुने पार्टीका अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्