पौडेल पक्षले डाकेको जिल्ला सभापतिको भेला रोकियो

Ramchandra-Poudel
  • 25
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डाकेको जिल्ला सभापतिको भेला स्थगित भएको छ। पौडेल पक्षले फागुन ५ गते (बुधवार)का लागि जिल्ला सभापतिको भेला डाकेको थियो।

सभापति देउवाले महाधिवेशन गर्न ध्यान नदिएको तथा राष्ट्रिय परिस्थितिमा पनि निर्णायक भूमिका खेल्न नसक्दा जनतामा कांग्रेसको छवि बिग्रिँदै गएको भन्दै पौडेलले जिल्ला सभापतिको भेला डाकेको थियो। फागुन ७ गतेको लागि तोकिएको पार्टीको १४ औँ महाधिवेशन नहुने निश्चित भइसके पनि सभापति देउवाले पार्टीभित्र छलफल नगरेको भन्दै सो समूह रुष्ट छ।

समसामयिक विषयमा निर्णयका लागि सभापति देउवाले ५ गते नै केन्द्रीय समिति बैठक डाकेपछि पौडेल पक्षको जिल्ला सभापतिको भेला स्थगित भएको हो।‘सभापतिले केन्द्रीय कार्यसमितिको बैठक डाक्नुभएपछि सभापति भेला स्थगित गरिएको छ,’ पौडेल पक्षका नेता तथा सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले भने।

जिल्ला सभापति भेलाबाट आएको निष्कर्ष सभापतिलाई दिने र त्यसकै जगमा दबाब सिर्जना गर्ने रणनीति पौडेल पक्षको थियो। केन्द्रीय समितिबाट पनि केही अन्योल भएमा भने तत्काल जिल्ला सभापतिको भेला हुने र त्यसबाट एउटा निष्कर्षमा पुग्ने पौडेल समूहको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्