एमिकस क्युरी विघटनको विपक्षमा : कार्कीकाे बहस, ‘प्रधानमन्त्रीको मनसाय दुषित छ’

Suprime Justice
  • 4.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन्।

उनले संसद र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले गरेको विघटन मालाफाइड इन्टेन्सन (दुषित मनसाय) का साथ गरिएको बताए।

उनले निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने बताए। ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनको भनाइ छ। तर, प्रधानमन्त्रीले पार्टीको झगडा ल्याएर संसद विघटन गरेको देखिने उनले जिकिर गरे। उनले पार्टीको विवादका कारण संसद विघटन गरिएको र यसैकारण प्रधानमन्त्रीले गैरसंवैधानिक कार्य गरेको देखिएको पनि बताए।

‘संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ। तर ओलीको इन्टेन्सन गलत छ। गैरसंवैधानिक उद्देश्य राखेर विघटन गरिएको छ’, उनको रायको निष्कर्ष छ।

इजलासले कार्कीलाई दुई दिनभित्र आज गरेको बहसको नोट बुझाउन पनि भनेको छ।

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन थालेको हो। जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता कार्कीले राय दिएका हुन्। बुधबारदेखि बाँकी ४ जनाले क्रमशः राय दिनेछन्।

बहस गर्दै कार्कीले ०४७ सालको संविधानको धारा ५३ (४) मा रहेको प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने व्यवस्था अहिलेको संविधानमा पनि ‘साइलेन्स’ रहेको बताए। धारा ७६ (१) को प्रधानमन्त्रीले विघटन गर्न पाउने व्यवस्था संविधानमा नरहेको रिट निवेदकले जिकिर गरेकामा उनले भने हरेक कुरा संविधानमा लेख्न सम्भव नरहेको बताए। प्रधानमन्त्री र सरकारका तर्फबाट बहस गरेका कानुन व्यवसायीले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको तर्क गरेका थिए।

कार्कीलाई न्यायाधीश अनिल सिन्हाले संविधानमा साइलेन्ट रहेको अधिकार छभन्दा विघटनलाई प्राथमिकता दिन खोजेको लाग्दैन ? भन्दै प्रश्न गरेका थिए। जवाफमा उनले त्यस्तो यस्तो अर्थ नलाग्ने बताए।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष–विपक्षको बहस सकिएपछि आजबाट एमिकस क्युरीले राय राखिरहेको हो। नेपाल बार एसोसिएसनबाट तीन र सर्वाेच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ।

पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्युरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन्। एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ।