ओलीको अराजनीतिक अभीष्ट पूरा हुन दिँदैनौं : देवेन्द्र पौडेल

Debendra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको उनले टिप्पणी गरे। ‘आँफैले प्राप्त गरेको दुई तिहाईको मतको व्यवस्थापन गर्न नसक्ने, अनि आफू अध्यक्ष भएर पनि आफ्नो दलपनि व्यवस्थापन गर्न नसक्ने प्रधानमन्त्री, हुँदाहुँदा अब उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो। र, हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ। हामी सबैले बुझेकै हौं। यो घोर निन्दनीय छ। यो अलोकतान्त्रिक कदम हो। असंवैधानिक कदम हो। यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ। प्रधानमन्त्रीलाई कतैपनि संविधानमा त्यो अधिकार दिएको छैन। पूर्व प्रधानन्यायाधीशहरुले समेत प्रधानमन्त्रीले बलजफ्ती अधिकार प्रयोग गरेको भनेर विरोध गर्नुभएको छ। पूर्व सभामुखहरुले पनि विरोध गरेका छन्। कानूनका विज्ञहरुले विरोध गरेका छन्। नागरिक समाजलगायत सबैले विरोध गरेका छन्।’

साक्षात्कारमा बोल्दै उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको बताए। ‘यो विषयमा बहस चलिरहेको छ। निर्वाचन आयोगलाई जबरजस्ती चुनावमा जानको लागि सरकारले ताकेता गरेको सुनेका छौं।’–उनले भने,‘यो कदम असंवैधानिक छ। निर्वाचन आयोगले आँफैले कुन कुन दलले भाग लिने भनेर टुँगो लगाएको छैन। निर्वाचन हुनसक्ने सम्भावना छैन। निर्वाचन हुँदैन।’

नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे। उनले भने, ‘निर्वाचन गर्नको लागि यो स्टेप चालिएको होइन। मिति नतोकिकन प्रतिनिधिसभा भंग गर्न पाईँदैन। उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागू गर्नको लागि यो कदम चाल्नुभएको हो।’

उनले चुनाव भयो भने कसले जित्छ वा कसले हार्छ रु भनेर अहिले हिसाबकिताब गर्न नहुने पनि बताए। उनले भने, ‘कुन पार्टी वैधानिक हो रु कुन होइन रु त्यसको निक्र्यौल निर्वाचन आयोगले पछि गर्ला। तर, अहिले ओलीको कदमको विरुद्धमा संयुक्त आन्दोलनमा जाऔं। संसद विघटन गर्ने ओलीको यो कदम वैधानिक छैन। हामीले दशकौं लामो समयदेखि लडेर ल्याएको र प्राप्त गरेको उपलब्धि, संविधान र प्रणालीलाई हाम्रो तर्फबाट संयुक्त आन्दोलनको लागि पहल गरौं। यसको लागि वार्ता गरौं । यो कदमले संकटकालतर्फ लैजान्छ। अब देशलाई संयुक्त आन्दोलनले निकास दिन्छ। अहिले चुनाव भयो भने जितिन्छ कि भन्ने बेला होइन। यो कदमको विरोध गर्ने पक्षहरु एक ठाउँमा सडकमा आएर प्रतिवाद गरौं।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको बताए। यद्धपी प्रधानमन्त्री ओलीले धेरै राम्रा काम भएको भनेर फेहरिस्त सुनाउने गरेको उनको आरोप छ। उनले भने, ‘तर, अहिले प्रधानमन्त्री एक्लैले सरकारले धेरै काम गरेको छ भनेर प्रशंसा गर्दै हुनुहुन्छ। आँफैले प्राप्त गरेको दुई तिहाईलाई किन विघटन गर्नुभयो रु हो, ८३ जनाले सांसदले विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिसमक्ष समावेदन गर्न गएको कुरा साँचो थियो । तर, कहीँ कतै अविश्वासको प्रस्ताव थिएन। ओलीको कदम बेठिक थियो। नियमित कामहरु भएका छन्। कतिपय काम हामीले सरकारलाई घेराबदी गरेर गरायौं। छाती ठोकेर यो सरकारले यो राम्रो काम गर्यो भनेर भन्न सक्ने स्थिति छैन।’

उनले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरेको पनि बताए। उनले भने, ‘हामीले निरन्तर सहयोग गरेका थियौं। तर, सरकार आँफैले एक्लै प्रशंसा गर्दै हिँडेको छ। अनुकुल स्थितिमा पनि प्रधानमन्त्रीले प्राप्त अवसर गुमाए। सरकारको काम कुनै प्रभावकारी छैन। भ्रष्टाचार बढेको छ। तथ्य, तथ्यांक हेर्दा भ्रष्टाचार निकै मौलाएर गएको छ। अनियमितता मौलाएको छ। युवती बलात्कारपछि हत्या भएको छ, तर अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्