बैतडी। नेपाली काँग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा मुकेश पालको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो।
उक्त समूहले गरेको ढुङ्गामुढा गर्दा नेता साउदको पेटमा ढुङ्गा लागेको नेपाल प्रेस युनियनका महाकाली संयोजक हरिश भट्टले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरूको ढुङ्गा मुढापछि काँग्रेसको आमसभा बिथोलिएको थियो। उनीहरूको ढुङ्गा लागेर काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित अन्य एक जना पनि घाइते भएका छन्।
उनीहरूको टाउकोमा चोट लागेको भट्टले जानकारी दिए। नेता भट्टका अनुसार काँग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ। जोशीसहित एक सय जना सोमबार काँग्रेस प्रवेश गरेका थिए।
मङ्गलबारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरूले आक्रमण गरेका हुन्। जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित सङ्घर्ष समितिका संयोजकसमेत हुन्। कार्यक्रम स्थल पंसेरा गाउँ जिल्ला अध्यक्ष पालको गाउँ हो।
यसअघिको आम निर्वाचनमा काँग्रेसले आयोजना गरेको कार्यक्रमहरूमा पनि नेकपाले पटकपटक आक्रमण गरेको थियो। अहिले उक्त क्षेत्र तनावग्रस्त छ।