भागरथीको हत्यारालाई कारवाहीको दायरामा ल्याउन नेता महरको माग

  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले भागरथी भट्टको हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको माघ २१ गते बलात्कारपछि हत्या भएको थियो।

प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन। नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता महरले मंगलबार घटनाबारे प्रहरीले गरेको अनुसन्धानका विषयमा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने क्रममा पीडितलाई न्याय दिन ढिलाई गर्न नहुने बताएका हुन्।

घटनास्थलमा नै पुगेर अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग नेता महरले छलफल गरेका थिए। छलफलपछि नेता महरले भने, ‘डिआइजी सुवेदीले आफूहरु अपराधीको नजिक पुगिसकेको दाबी गर्नुभएको छ र हप्तादिन भन्दा पहिले नै घटनामा संलग्नलाई सार्वजनिक गर्ने बताउनु भएको छ ।’

यसअघि उनले घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट र स्थानीय जनप्रतिनिधिसँग छलफल पनि गरेका थिए। यस्तै घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली काँग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा नेता रमेश लेखकलाई पनि बैतडी पठाएको थियो।

उक्त घटनाबारे अनुसन्धानलाई तीव्र बनाउन विभिन्न राजनीतिक दल र संघ संस्थाले दबाब दिइरेहका छन् । यस्तै घटना भएको यतिका दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ ।