काठमाडौं। संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव नेपाल पक्षले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको छ। संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको छ।
गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो। प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाल लगायत सदस्य छन्।
‘कार्यदल बनेको छ, अब यसले प्रतिबद्धतापत्र तयार पार्ने गरी छलफल अगाडि बढाउँदैछ,’ वेदुराम भुसालले भने। नागरिक अगुवाहरुले आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिको लागि मात्रै होइन भन्ने स्वेतपत्र जारी गर्न सुझाव दिँदै आएका छन्। त्यसकै आधारमा नेकपाले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ।