महिला लघुवित्तको आईपिओमा आवेदन दिने आज फागुन ५ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो।
कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
माघ ३० गते सार्वजनिक बिदा परे पनि आईपिओ बिक्रि खुला भएको हो। सार्वजनिक विदाको दिन पनि आईपिओको बिक्रि खुला भएको यो नै पहिलो पटक हो। कम्पनीको आईपिओ बिक्रि खुला रहने अवधिमा २ दिन सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहेको हो।
कम्पनीको आईपिओमा मंगलबारसम्ममा झन्डै ६० गुणा बढीको आवेदन परेको छ। कम्पनीको आइपीओमा मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख ४४ हजार ५ सय ८८ जना आवेदकबाट २ करोड २४ लाख ८२ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको छ। यो रकमको हिसाबले माग गरिए भन्दा ५९.९५ गुणा बढी हो।
कम्पनीको आईपिओमा आज पनि आवेदन दिन सकिने भएकोले यो आईपिओले निफ्राको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ। निफ्राको आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाको आवेदन परेको थियो। महिला लघुवित्तको आईपिओले आवेदकको संख्याको हिसाबमा निफ्राको रेकर्ड तोड्न सक्ने देखिन्छ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ। तर आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने र १० कित्ता भन्दा बढी शेयर पर्ने सम्भावना नरहेकोले १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उपयुक्त नहुन सक्छ। कम्पनीको आईपिओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ। कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ। यस ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।